कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

साना सवारी साधन ठप्प

रुकुम पश्चिम — जिल्लामा पाँच दिनयता साना सवारी साधन चलेका छैनन् । जिल्लाभित्र तथा रुकुमपूर्वका विभिन्न ठाउँमा चल्ने जिप सेवा सञ्चालन नहुँदा यात्रुलाई सास्ती भएको छ ।

गत आइतबारदेखि जिल्ला र जिल्ला बाहिर जिप नचल्दा स्थानीयले दु:ख पाइरहेका हुन् । सिट क्षमताभन्दा बढी यात्रु बोकेको भन्दै प्रहरीले गाडी सञ्चालनमा रोक लगाउन थालेपछि व्यवसायीले जिप सञ्चालन ठप्प पारेका छन् ।


पाँच जना बोक्ने सिट क्षमता भएको जिपले १५ जनासम्म यात्रु बोक्न थालेपछि त्यस्ता गाडी सञ्चालनमा कडाई गरिएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) सुमित खड्काले बताए । यातायात व्यवस्था कार्यालयबाट पाँच सिटको गाडी पास गरेर ल्याएका व्यवसायीले थप १० सिट थपेर सञ्चालन गर्न थालेपछि त्यसमाथि निगरानी गरिएको डीएसपी खड्काले जनाए ।


नियमविपरीत गर्दा दुर्घटनाको जोखिम बढ्ने, दुर्घटना भैहाले बीमाको र उपचारमा समेत बेवास्ता हुने हुँदा नियम विपरीत चल्ने गाडी रोक्नु परेको भनाइ डिएसपी खडाको छ ।


जिप नचल्दा सदरमुकामदेखि विभिन्न ठाउँमा जाने तथा आउने सर्वसाधारण समस्यामा परेका छन् । जिल्ला सदरमुकाम खलंगाबाट जिल्लाका आठबीसकोट, चौरजहारी, बाँफिकोट, नुवाकोट, खोलागाउँ, सिम्लीसहित रुकुम पूर्वका विभिन्न ठाउँसम्म जिप चल्ने गर्दछन् ।


‘प्रशासन तथा प्रहरीले कुनै पनि समय नदिएर एक्कासी कडाइ गरेपछि हामी समस्यामा परेका छौं,’ एक व्यवसायीले भने, ‘हाम्रो बैसाखी भाँचिएजस्तै भएको छ, हामी काम गर्न नसक्ने भएपछि गाडी थन्क्याएर बसेका छौं ।’ उनले गाडी बनाउनका लागि केही समय नदिएरै एक्कासि गाडी रोक्दा समस्या भएको जनाए । एक महिनाको समय दिएको भए पनि व्यवसायीले गाडी सरकारले भने अनुकूलको बनाउनसक्ने अवस्था हुने उनको भनाइ छ ।


केही समयका लागि सरकारले सूचना निकालेको भए पनि आफूहरूले गाडीलाई पाँच सिट क्षमता अनुसारको वा गाडीको थप सिट पास गर्नसक्ने अर्का व्यवसायी राजन देवकोटाले बताए । कुनै पनि सूचना नै नगरी एक्कासी गाडीमा चढाएका यात्रु निकाल्न थालिएपछि व्यवसायीको व्यवसाय चौपट भएको उनको भनाइ छ । उनले व्यवसायीको साथै दैनिक सयौं यात्रुले दु:ख पाइरहेको जनाए ।

प्रकाशित : मंसिर २८, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?