कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अदुवाले बढ्यो आम्दानी

ढारखानी गाउँका एक सय ५० परिवारले तीन सय रोपनीमा अदुवा लगाएका छन् । त्यसबाट यो वर्ष एक करोड रुपैयाँ आम्दानी भएको छ ।
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका १५, माल्नेटा, ढारखानीका ज्ञानदेव घर्तीले गत वर्ष ३२ क्विन्टल अदुवा बिक्री गरेर एक लाख ५० हजार रुपैयाँ आम्दानी गरे ।

यस वर्ष ३४ क्विन्टल अदुवा उत्पादन गरेर तीन लाख रुपैयाँ कमाएका छन् । उनकै छिमेकी शेरबहादुर गिरीले पनि पाँच रोपनी जग्गामा अदुवा खेती गरेका छन् । यो वर्ष अदुवाबाटै उनलाई दुई लाख रुपैयाँ आम्दानी भएको छ ।


उनीहरू मात्र होइन, शारदा नगरपालिका ५, माल्नेटा, ढारखानीका किसान लामो समयदेखि अदुवा उत्पादनबाट आत्मनिर्भर बनेका छन् । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार ढारखानी गाउँबाट मात्र यो वर्ष एक करोड रुपैयाँको अदुवा उत्पादन भएको छ ।


ढारखानीका एक सय ५० परिवारले तीन सय रोपनीमा अदुवा लगाउँदै आएका छन् । अदुवालाई नै मुख्य बालीका रूपमा खेती गरिरहेका किसानलाई यसबाट जीविकोपार्जनमा सहजता आएको छ ।


गत वर्ष भाउ नपाउँदा निराश भएर किसानले सुठो बनाएका थिए । तर यस वर्ष अदुवाले राम्रो मूल्य पाएको छ । यस वर्ष बीउमात्र राखेर सबै अदुवा बिक्री गरेको किसानको भनाइ छ । गत वर्ष १६ रुपैयाँ प्रतिकिलो बिक्री भएको अदुवा यो वर्ष ३० देखि ३६ रुपैयाँमा बिकेको छ ।


माल्नेटा अदुवा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । यो वर्ष गाउँबाट मात्र एक करोडको अदुवा बिक्री भएपछि किसान उत्साहित बनेका छन् । ‘गत वर्ष बाहिरबाट खरिदकर्ता नआएका कारण धेरै घाटा भएको थियो,’ घर्तीले भने, ‘यसपालि समयमै खरिदकर्ता आएपछि अदुवाले राम्रो भाउ पाएको छ ।’


ढारखानीमा मात्र यस वर्ष तीन सय रोपनी जग्गामा एक सय ५० मेट्रिक टन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ताजा अदुवा ७२ टन, बुर्नो ४० टन र बीउ अदुवा २५ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष भन्दा दोव्बर भाउ पाएपछि किसानलाई राम्रै आम्दानी भएको छ ।


जसबाट किसानले राम्रो कमाइ गरेका छन् । यस वर्ष अदुवाले भाउ पाएपछि स्थानीयबासी उत्साही भएका छन् । गाउँलेले उत्पादन गरेको अदुवा घर्ती र अन्य दुई व्यापारीले खरिद गर्ने गरेका छन् ।चार रोपनी जग्गामा ६ क्विन्टल बीउ अदुवा लगाउँदै आएका गमबहादुर गिरीले यो वर्ष सोचेभन्दा राम्रो आम्दानी भएको बताए ।


उनले अदुवा बिक्री गरेको रकमले सजिलै पाँच जनाको परिवार पालिरहेको जनाए । ‘मरिमेटी दु:ख गर्दा गत वर्ष बीउ छुट्याएर १६ हजार आम्दानी भएको थियो, अरू अदुवा बिक्री नभएर सुठो बनाउन बाध्य भएको थिए,’ उनले भने, ‘यसपालि बीउमात्र छुट्याएर सबै विक्री गर्दा एक लाख रुपैयाँ खुद आम्दानी भएको छ ।’


जिल्लामा राष्ट्रिय अदुवा बाली अनुसन्धान कार्यालय भए पनि अहिलेसम्म परम्परागत तरिकाबाट अदुवा खेती गर्दै आएको उनले जानकारी गराए । आधुनिक तरिकाबाट अदुवा खेती गरे यहाँका किसानको आम्दानीमा दोब्बर वृद्धि हुने उनको भनाइ छ ।


शारदा नगरपालिका–१५ माल्नेटाका सबै गाउँमा राम्रो अदुवा उत्पादन हुन्छ । माल्नेटाका पाँच सय परिवारले झन्डै एक हजार हेक्टर जग्गामा अदुवा लगाउँदै आएको वडाध्यक्ष कृष्णबहादुर गिरीले बताए । उनी आफैं पनि अदुवा उत्पादक किसान हुन् ।


बजार व्यवस्थापनको अभावमा स्थानीयले उत्पादन गरेको अदुवाले सोचेअनुसार भाउ पाउन नसकेको उनको भनाइ छ । उनका अनुसार माल्नेटा सुख्खा क्षेत्रमा पर्ने भए पनि यसपालि समयमै भएको वर्षाका कारण किसानले लगाएको अदुवा उत्पादनमा वृद्धि भएको हो ।


कृषि ज्ञान केन्द्र, सल्यानले माल्नेटामात्रै नभएर जिल्लाभरिका अदुवा उत्पादक किसान यसपालि गत वर्षभन्दा दोब्बर आम्दानी गर्न सफल भएको जनाएको छ ।


वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले भारतमा धेरै अदुवा उत्पादन गरेपछि गत वर्ष खरिदकर्ता नआएको बताए । उनले यो वर्ष समयमै व्यापारी आएकाले अदुवाले राम्रो भाउ पाएको जनाए । उनका अनुसार जिल्लामा दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा अदुवा खेती भइरहेको छ ।


प्रत्येक वर्ष अदुवा बिक्री गरेर जिल्लाभरका किसानले १५ करोड बढी रकम आम्दानी गर्ने गरेको उनको भनाइ छ । माल्नेटालगायत जिल्लाका अधिकांश गाउँमा उत्पादित अदुवा काठमाडौं, बुटवल, नारायणघाटलगायत भारतका विभिन्न ठाउँमा जाने गरेको छ ।

प्रकाशित : मंसिर २८, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?