कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सडकले सास्ती

विप्लव महर्जन

सल्यान — कुपिण्डे नगरपालिकाको मुख्य व्यापारिक केन्द्र सल्लीबजारदेखि रुकुम, चौरजहारी जोड्ने सडकको स्तरोन्नतिको काम अलपत्र परेको छ ।

सडकले सास्ती

सडक खण्डको पाँच किलोमिटर स्तरोन्नतिको काम अलपत्र परेपछि यात्रुलाई सास्ती भएको छ ।


योजनाको काम सुरु भएको १७ महिना बित्दासमेत सडक चौडा बनाउने काम सम्पन्न हुन सकेको छैन । ठेकेदारको लारबाहीका कारण सडक निर्माण अलपत्र परेको सडक डिभिजन कार्यालयले जनाएको छ । काम समयमै नहुँदा सडक हिलाम्मे र धुलाम्मे हुने गरेको यात्रुको गुनासो छ ।


पेटी ठेकेदारले काम बीचैमा छाडेपछि योजना अलपत्र परेको हो । काम सुरु गरेदेखि ठेकेदार निर्माणस्थलमा नआउँदा काम अलपत्र परेको स्थानीय देवीलाल विष्टले बताए ।


सडक डिभिजन कार्यालय,दाङसँग ठेक्का सम्झौता गरेका ठेकेदार नरहरि थपलिया र पेटी ठेकेदार रामबहादुर विष्ट लामो समयदेखि सम्पर्कविहीन रहेको उनले जनाए । दुई महिनादेखि ज्याला नपाएको भन्दै मजदुरले काम गर्न छोडिसकेका छन् ।


ठेकेदारले विभिन्न बहाना बनाउँदै कामप्रति कम चासो देखाएको स्थानीय हीराबहादुर बीएमले बताए । चौरजहारी सडकखण्डमा विभिन्न काम गर्ने निर्माण व्यवसायी आधा काम गर्दै भाग्ने गरेको उनको भनाइ छ । सडक खण्डमा पाँच वर्षअघि सुरु भएका कामसमेत अलपत्र अवस्थामा रहेको उनले जनाए ।


‘डिभिजन कार्यालयले सडकमा कामको जिम्मा दिने तर पूरा काम नगर्ने कम्पनीलाई कारबाहीको सट्टा उल्टै पुन: कामको जिम्मेवारी दिने गरेको छ,’ उनले भने, ‘त्यसैले यो खण्डका सबै काम ठेकेदारका कारण अलपत्र परेका छन् ।’ उनले ठेकेदारले काम अलपत्र पार्दा सरकारको करोडौं लगानी खेर गइरहेको जनाए ।


ठेकेदार सम्पर्कविहीन भएका कारण सडक स्तरोन्नतिको काममात्र नभई निर्माण सामग्रीसमेत लथालिंग भएका छन् । ग्राभेलको काम अझैसम्म सुरु नहुँदा सडक धुलाम्मे भएको स्थानीय दुर्गा बुढाथोकीले बताए । सुरुवातमै काममा ढिलासुस्ती गरेका कारण २० प्रतिशत काम पनि पूरा नभएको उनको भनाइ छ ।


‘स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका नेताले सडक स्तरवृद्धिको काममा चासो नदेखाउँदा ठेकेदारको लापरबाही बढिरहेको छ,’ उनले भने, ‘लामो समयदेखि मजदुरलाई ज्यालासमेत दिइएको छैन ।’ सडकमा काम गरेका दिनेश नेपालीले दुई महिना काम गरे पनि ज्याला पाउन नसकेपछि जीविकोपार्जनमा कठिनाइ भएको बताए । ज्याला नपाएकै कारण आफूले काम छाडेको उनको भनाइ छ ।


सल्लीबजारदेखि बन्गाड कुपिण्डे ५ स्थित त्रिवेणी बजारसम्मका लागि सिग्मा गाल्वा कन्ट्रक्सनले कामको जिम्मा लिएको थियो । सडक डिभिजन कार्यालयले सडक स्तरवृद्धिका लागि ११ करोड विनियोजन गरेको छ । ३३ महिनामा सम्पन्न गर्ने भन्दै २०७४ साउनमा कन्ट्रक्सनका ठेकेदार नरहरि थपलियाले सडक डिभिजन कार्यालयमा सम्झौता गरेका थिए ।


तर सिग्मा गाल्वा कन्ट्रक्सनका थपलियाले ४९ लाख रुपैयाँ पेस्की बुझेर कामको जिम्मा दोस्रो ठेकेदार रामबहादुर विष्टलाई दिएका छन् । थपलियाले जिम्मा दिएपछि विष्टले लापरबाही गर्दै आइरहेको स्थानीयको भनाइ छ । स्थानीय रामसिंह खड्काले ठेकेदार र कार्यालयका कर्मचारीको मिलेमतोले काममा समस्या भएको जनाए ।


बन्गाड–कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले सल्लीबजार–चौरजहारी सडकमा गाडी चल्न थालेको १० वर्ष बढी भए पनि स्तरवृद्धिको काममा समस्या भएको बताए । उनका अनुसार ठेकेदारले लापरबाही गर्दा सडक वर्षातको समयमा हिलाम्मे र सुक्खा समयमा धुलाम्मे हुने गरेको जनाए ।


उनले सडक स्तरवृद्धिका लागि पटक पटक ठेकेदार र डिभिजन कार्यालयलाई ताकेता गरेको जानकारी गराए । उनले पेटी ठेकेदार नभई मुख्य ठेकेदारलाई बोलाएर काम गर्न लगाउन डिभिजन कार्यालयलाई आग्रह गरिएको जनाए ।


सडकको डेढ किमि ग्राभेल, रक कटिङ, कल्भर्ट र केही भागमा नाली तथा जाली लगाउने काम गरेका मल्ल कन्ट्रक्सनका ठेकेदार डिल्ली रावतले आफूले पाउनुपर्ने ५० लाख रुपैयाँ भुक्तानी नपाएको जनाए । सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले पछिल्लो समय प्रदेश फरक भएकाले सल्यानमा बजेट विनियोजन गर्न समस्या भएको जनाए ।


दाङ प्रदेश ५ र सल्यान कर्णाली प्रदेशमा परेकाले काम हेर्न समस्या भएको उनको भनाइ छ । उनले सल्यानका योजनाको विवरण कर्णाली प्रदेश सरकारमा पठाइसकेको जनाए । उक्त योजनाको रकम अर्थ मन्त्रालयले प्रदेश सरकारलाई पठाउने उनको भनाइ छ ।

प्रकाशित : मंसिर २९, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?