कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

आत्महत्याको तथ्यांकले झस्किन्छ प्रहरी

‘शुक्रबार आत्महत्या गर्नेको संख्या धेरै छ । चैत, बैशाखमा तथा शुक्रबार मानिसहरू फुर्सदमा हुने भएकाले पनि यो समयमा आत्महत्याका घटना बढेको हुनसक्छ’
करिश्मा चौधरी

वीरेन्द्रनगर — आत्महत्या त्यस्तो अपराध जसमा पीडित आफैं अभियुक्त हुन्छ । पीडित नै नभएको अपराधमा अनुसन्धान गर्न पनि गाह्रो । कर्णाली प्रदेशकै ठूलो सामाजिक समस्या बन्दै गरेको आत्महत्याको घटना वर्षैपिच्छे बढिरहेको छ । 

गत तीन आर्थिक वर्षमा प्रदेशमा आठ सय आठ जनाले आत्महत्या गरे । तीमध्ये सबैभन्दा धेरै पाँच सय ९५ जनाले झुन्डिएर आत्महत्या गरे । विष सेवन गरेर एक सय ९४, हाम फालेर १६, औजारबाट तीन जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


आत्महत्या गर्नेमा धेरैजसो विवाहित छन् । तीमध्ये पुरुष धेरै रहेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी प्रमुख (डीआईजी) महेशविक्रम शाहले धेरैजसो आत्महत्या १६ देखि ३० वर्ष उमेर समूहकाले गर्ने गरेको बताए । यो उमेर भनेको धेरै भावनात्मक हुने भएकाले भावनामा बहेर यस्तो हुने शाह बताउँछन् ।


त्यसैगरी साधारण लेखपढ गर्न सक्ने र कृषि पेसामा निर्भर रहेका धेरैले आत्महत्या गरेको पाइन्छ । त्यसमा पनि ग्रामीण क्षेत्रका धेरै छन् । साँझ ६ देखि राति १२ बजेसम्म आत्महत्या गर्ने धेरै रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आत्महत्या गर्नेमा जनजाति धेरै देखिएका छन् । अरु महिनाको तुलनामा कात्तिक, चैत, वैशाख र असार महिनामा धेरै आत्महत्या हुन्छन् ।


शुक्रबार आत्महत्या गर्नेको संख्या धेरै छ । चैत, वैशाखमा तथा शुक्रबार मानिसहरू फुर्सदमा हुने भएकाले पनि यो समयमा आत्महत्याका घटना बढेको हुन सक्ने मनोविमर्शकर्ता सन्तोषी शाही बताउँछिन् ।


आत्महत्याका कारण व्यक्तिअनुसार फरक भए पनि धेरैको प्रकृति मिल्ने उनी बताउँछिन् । परिवारमा कलह हुनु, बेरोजगारी, गरिबी, घरेलु हिंसा, लगातार असफल हुनुजस्ता कुराले ल्याउने मानसिक तनावले गर्दा आत्महत्याको घटना बढेको हुन सक्ने मनोविमर्शकर्ता शाही बताउँछिन् । ‘साना समस्यामा पनि छिट्टै आत्तिने र समाधानको विकल्प खोज्न नसक्दा आत्महत्याको बाटो रोज्छन् ।’


प्रदेश प्रहरी कार्यालयले बेरोजगारी, गरिबी, महिलाहरू आत्मनिर्भर नहुनु, वैदेशिक रोजगारी, पारिवारिक कलह, घरेलु हिंसा आदिका कारण अधिकांशले आत्महत्या गर्ने गरेको जनाएको छ ।


प्रहरीलाई चुनौती

पीडित र अभियुक्त एउटै व्यक्ति हुने भएकाले आत्महत्याको घटनामा अनुसन्धान गर्न चुनौती हुने प्रदेश प्रहरी प्रमुख (डीआईजी) शाहले बताए ।


आफूहरूले गरेको अनुसन्धान क्रममा ग्रामीण भेगमा, अशिक्षित समाजमा तथा कृषिमा निर्भर रहेको समाजमा यस्ता घटना धेरै भएको उनको भनाइ छ । उनका अनुसार जीवनमा समस्या आए अरु विकल्प नदेख्ने गरेका कारण आत्महत्याका घटना बढिरहेको छ ।


‘समस्यासंग कसरी अघि बढ्ने भन्ने चेतना नहँदा यस्तो हुन्छ,’ प्रमुख शाहले भने, ‘केही देशमा आत्महत्या गर्ने बातावरणको सिर्जना गर्नेलाई पनि सजाय हुन्छ तर, हाम्रोमा त्यस सम्बन्धी व्यवस्था नभएकाले समस्या भएको हो ।’


उनले आत्महत्या कर्णाली प्रदेशको ठूलो सामाजिक समस्या भइरहेको जानकारी दिए । आत्महत्या रोक्न विज्ञहरूको समूह बनाएर स्थानीय तहसँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको उनले जानकारी दिए ।

प्रकाशित : पुस २, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?