१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ग्रामीण क्षेत्रमा खानेपानी समस्या

अधिकांशले खोलाको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता
बिप्लब महर्जन

सल्यान — साविक जिल्ला विकास समितिले बन्गाड(कुपिण्डे नगरपालिकाको घाँजरीपिपल, मैदुमा सञ्चालन गरेको खानेपानी योजना लामो समयदेखि अलपत्र छ । योजना अलपत्र परेपछि स्थानीयले खानेपानी समस्या भोग्दै आएका छन् ।

स्थानीय बासिन्दालाई दुई घन्टा टाढा गएर खानेपानी ल्याउनुपर्ने बाध्यता छ ।


त्यस्तै, कालीमाटी गाउँपालिका(१, लक्ष्मीपुर, चोत्रेका स्थानीय पनि लामो समयदेखि खानेपानी समस्या भोग्न बाध्य छन् । गाउँभन्दा तीन घन्टा टाढाको शारदा खोलाबाट ल्याएर खानेपानी उपभोग गर्नुपर्ने बाध्यता स्थानीयलाई छ ।


यी दुई उदाहरणमात्र हुन्, जिल्लाका अधिकांश गाउँमा स्थानीय बासिन्दाले लामो समयदेखि खानेपानी समस्या भोग्दै आएका छन् । जिल्लाका ४६ हजार ३ सयमध्ये ३७ हजार १४ परिवारमात्र स्वच्छ खानेपानी उपभोग गर्न पाएको जिल्ला समन्वय समितिले जनाएको छ । जिससका अनुसार आठ हजार चार सय ४५ घरधुरी खानेपानी सेवाबाट बञ्चित छन् ।


योजना बिचैमा अलपत्र परेपछि मैदुका झन्डै एक सय ५० परिवारले डेढ दशकदेखि पानीका लागि सास्ती भोग्दै आएका छन् । मुहान टाढा भएकाले पानी ल्याउन समस्या हुँदा स्थानीयलाई अडलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता छ । लक्ष्मीपुरका बासिन्दालाई नदीसम्म आउजाउ गर्ने बाटो राम्रो नहुँदा थप समस्या भइरहेको स्थानीय पबित्रा बस्नेतले बताइन् ।


खानेपानीको अभावका कारण अधिकांशले खोलाको दुषित पानी उपभोग गर्नुपर्ने बाध्यता छ । बिगतमा सञ्चालित अधिकांश योजना जीर्ण बन्दै गएका कारण पनि स्थानीयलाई खानेपानी अभाव भएको हो । मर्मततर्फ सरकारी निकायको ध्यान नगएको स्थानीयको गुनासो छ । अधिकांश स्थानमा खानेपानीका मुहान सुक्दै गएकाले पनि खानेपानी समस्या चुलिदै गएको छ ।


शारदा नगरपालिका(१५, ढारखानीकी दवकली घर्तीले एक गाग्री पानी ल्याउन एक घन्टा हिड्नु पर्ने बाध्यता रहेको बताइन् । २०४४ सालमा सञ्चालित योजना मर्मतको अभावमा जीर्ण भएको उनको भनाइ छ । जिल्लाका तीन नगरपालिका र सात गाउँपालिकाका अधिकांश बस्ती डाँडामा छन् । बस्ती डाँडामा भएकाले सबै नगरपालिका र गाउँपालिकामा खानेपानीको समस्या छ ।


बैशाख/जेठमा मुहान सुक्दा खानेपानीको हाहाकार हुने गरेको छ । डाँडामा भएका मुहान सुक्दै गएकाले स्थानीयले धेरै कष्ट उठाउनु परेको छ । जिल्लामा २०६९ सालसम्म ३५ खानेपानी आयोजना सम्पन्न भएका छन् । जसमा साना/ठूला सात सय बढी योजना छन् । तीमध्ये धेरै जिर्ण भएका र मर्मतमा कम बजेट बिनियोजन हुँदा खानेपानीको समस्या भएको हो ।


सिद्धकुमाख गाउँपालिकाको चाँदेकरेन्जीकी कल्पना बुढाले अहिलेसम्म गाउँमा कुनै योजना नपरेकाले पानीको धेरै समस्या भएको बताइन् । उनले पानीको लागि पहिलेदेखि खोल्साखाल्सीमा रहेको मुहान चार्नुपर्ने बाध्यता रहेको सुनाइन् । जिल्लामा सबैभन्दा बढी आर्थिक वर्ष २०४३/४४ मा विश्व बैंकको आर्थिक सहयोगमा ठूला योजना सञ्चालन भएका थिए । त्यसबेला निर्माण गरिएका अधिकांश योजना अहिले जीर्ण भइसकेका छन् ।


खानेपानी कार्यालय स्थापना भएदेखि अहिलेसम्म तीन सय बढी योजना जीर्ण भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, रुकुम पश्चिमका प्राविधिक सुरेशकुमार शाहले बताए । अहिले रुकुमस्थित कार्यालयले सल्यानका खानेपानी योजना सञ्चालन गर्न थालेको छ । उनका अनुसार प्रदेश सरकारअन्तर्गत सल्यानका लागि यो वर्ष सात करोड ८९ लाख रुपैयाँ खानेपानीको क्षेत्रमा बिनियोजन गरिएको छ । क्रमागत १६ योजनाका लागि तीन करोड ७४ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ ।


त्यस्तै १४ नयाँ योजनाका लागि चार करोड १५ लाख रुपैयाँ बिनियोजन गरिएको छ । ६ योजनाको सम्भाव्यता अध्ययनका लागि एक लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको उनको भनाइ छ ।

जिल्लाका अधिकांश ठाउँमा जथाभाबी सडक निर्माण गर्ने गरिएकाले सबैभन्दा बढी खानेपानी योजनामा असर परेको छ ।


जिल्लामा कार्यालय नरहेपछि रुकुमबाट योजना सञ्चालनमा समस्या हुने इन्जिनियर शाहको भनाइ छ । ‘जनशक्ति अभावका कारण पनि खानेपानी योजना निर्माणमा समस्या हुने देखिएको छ,’ उनले भने,‘ बढी खानेपानी समस्या भएका गाउँलाई प्राथमिकतामा राखी यो वर्ष कार्यक्रम सञ्चालन गरिनेछ ।’


कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले गत वर्ष खानेपानीतर्फ एक करोड बजेट बिनियोजन गरेकोमा ५० लाखको काम हुन नसकेको बताए । गाउँपालिकाका लक्ष्मीपुर चोत्रे, बयाले र दम्दवालीमा सबैभन्दा बढी खानेपानी समस्या रहेको उनको भनाइ छ ।


अधिकांशमा लिप्ट खानेपानी योजना सञ्चालन गर्नुपर्ने भएकाले बढी खर्च हुने देखिएको उनले जनाए । प्रदेश सरकारसँगको साझेदारीमा काम गर्न बयालेमा ३० लाख र दम्दवालीमा ४० लाख रुपैयाँ बिनियोजन गरिएको उनले जनाए ।

प्रकाशित : पुस ५, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?