कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँमा वन्यजन्तुको त्रास

निकुञ्जकै कारण दम्दवालीका दुई सय ६० र हात्तीदमारका ८० परिवार समस्यामा
विप्लव महर्जन

सल्यान — बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुका कारण आक्रमणको खतरा बढ्दै गएपछि ठुरे हुँदै नेपालगन्ज आउजाउ गर्ने स्थानीय बासिन्दालाई समस्या भएको छ ।

गाउँमा वन्यजन्तुको त्रास

विशेष गरी दम्दवाली र हात्तीदमारका स्थानीयवासी बढी समस्यामा परेका छन । दुई गाउँका स्थानीयले लामो समयदेखि निकुञ्जको बाटो हुँदै नेपालगन्ज आउजाउ गरेका छन् ।


जोखिम मोलेर राष्ट्रिय निकुञ्जभित्रको गारेटो बाटोबाट आउजाउ गर्न बाध्य भएको स्थानीयको गुनासो छ । निकुञ्जकै कारण दम्दवालीका दुई सय ६० र हात्तीदमारका ८० परिवार समस्यामा छन् । रामपुर हुँदै सुर्खेत भएर नेपालगन्ज जाँदा दुई दिन लाग्ने समस्या भएको स्थानीयले जनाए । सुर्खेतको बाटो जाँदा बबई नदीमा पुल नहुँदा थप समस्या छ । अन्य बिकल्प नहुँदा ज्यानको जोखिम मोलेर राष्ट्रिय निकुञ्जको बाटो भई नेपालगन्ज जान बाध्य भएको स्थानीय बताउँछन् ।


जोखिम उठाएर आउजाउ गर्न बाध्यता भएको दम्दवालीका नारायणसिं सुनारले बताए । कालीमाटी काल्चेको हात्तीदमार, ठुरे हुँदै नेपालगन्ज जाने ग्रामीण सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीयलाई सास्ती भएको उनको भनाइ छ । ‘हात्तीदमारबाट बाँकेको ठुरे निस्कन पाँच घन्टा मात्र हिंड्नुपर्छ,’ उनले भने, ‘रामपुर र सुर्खेतको गैरीबजार हँुदै जाँदा दुई दिन लाग्छ ।’ छिटो छरितोको लागि जोखिम भए पनि निकुञ्जको बाटो हुँदै पैदल यात्रा गर्न बाध्य भएको उनको भनाइ छ ।


गाउँमा कोही बिरामी भए गाडीबाट भन्दा छिटो जंगलको बाटो हुँदै नेपालगन्ज बोकेर लिइने गरिएको स्थानीयले जनाएका छन् । अधिकांशले उक्त बाटो प्रयोग गर्दै आए पनि जंगलका रुखबिरुवा र झाडी सफा नगर्दा समस्या भएको स्थानीय सुरेश गाहामगरले बताए ।


यो वर्ष दम्दवालीसम्म गाडी पुगे पनि अधिकांश छिटोका लागि पैदल हिंड्ने गरेको उनको भनाइ छ । ‘हिंडेर आउजाउ गर्दा वर्षभरि जंगली जनावरको डर हुन्न, जंगली जनावरको आक्रमणबाट धेरै घाइते भइसकेका छन्,’ उनले भने, ‘वर्षातको समयमा चारैतिर बाटो बन्द हुने भएकाले झन् सास्ती छ ।’ गोडेटो बाटो चौडा गराउन र समयमै गाडी चल्ने सडक निर्माण गर्न विभिन्न निकायमा आग्रह गरिए पनि बेवास्ता भएको उनको भनाइ छ ।


दम्दवालीबाट निकुञ्जको सिमाना एक किलोमिटरमात्र भएकाले बन्यजन्तुले बालीनाली नष्ट पार्ने समस्यासमेत छ । स्थानीय भीमबहादुर पुनले राष्ट्रिय निकुञ्जकै कारण अहिले गाउँमा घर बनाउन, आगो बाल्ने दाउराका लागि काठ काट्न धेरै प्रक्रिया अपनाउनुपर्ने जनाए । ‘काठ नपाउँदा सबै समस्यामा परेका छौं,’ उनले भने, ‘वन्यजन्तुले बेलाबेलामा बाली सखाप पार्ने गरेका छन्, निकुञ्जले न नियन्त्रण गर्छ न मार्न दिन्छ ।’


निकुञ्जले नेपालगन्ज जाने सडकमा पैदल रुपमा आउजाउ गर्ने सिफरिस दिए पनि सडक आसपासका जंगल काटछाटबारे चासो नदिँदा दुई गाउँका स्थानीयले कठिनाइ भोग्नुपरेको स्थानीय दिलबहादुर रानाले बताए । बाटोको विकल्प तथा यातायातको सुविधा नभएकाले बाध्य भएर जोखिम उठाउनुपरेको उनको गुनासो छ ।

प्रकाशित : पुस ६, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?