बहुविवाहले पीडित बन्दै महिला

करिश्मा चौधरी

बीरेन्द्रनगर — जिल्लामा बहुविवाहका कारण लामो समयदेखि महिला पीडामा पर्दै आइरहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चार वर्षमा सुर्खेतमा बहुविवाहका ६० घटना दर्ता भए ।

चालु आर्थिक वर्षमा बहुविवाहका १८ घटना दर्ता भएका छन् ।

अधिकांश घटना अझै आउन नसकेको प्रहरीले जनाएको छ । जसका कारण महिला थप पीडित बन्दै गएका छन् । प्रहरीका अनुसार दोस्रो विवाह गरेर कसैले घरमै ल्याएर त कसैले बाहिरै राखेर पनि पत्नीलाई दु:ख दिइरहेका छन् ।

त्यस्तैमध्येकी एक हुन्, पश्चिम सुर्खेतकी हरिकला शाही । उनको १४ वर्षकै उमेरमा परिवारको दबाबमा विवाह भयो । विवाहको पाँच वर्ष सम्बन्ध राम्रै रहे पनि त्यसपछि भने सम्बन्ध बिग्रियो । भारतमा कमाइ गर्न गएका पतिले उतै अर्की पत्नी राखे ।

छोराछोरीसँगै उनी अहिले माइतीमै बसिरहेकी छन् । घर खर्च टार्न मनसरा पाँच वर्ष विदेशमै बसिन् । अहिले गाउँमै सिलाइ, कटाइ गर्छिन् । एक दशकसम्म कुनै वास्ता नगरेपछि अहिले हरिकला सम्बन्ध विच्छेद मुद्दा दायर गर्ने प्रक्रियामा छिन् ।

कतिपय महिला आफ्नो सन्तानका लागि समेत लडिरहेका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ७ की बुद्धा शाहीको १८ वर्षअघि १६ वर्षकै उमेरमा सुर्खेतका एक पुरुषसँग विवाह भयो । एउटै बैंकमा काम गर्ने अनि गाउँमा चिनजान भएपछि शाहीको परिवारले उनीहरूको विवाह गरिदिए ।

विवाह भएको दुई वर्षपछि मात्रै बुद्धाले घरमा जेठी पत्नी भएको थाहा पाइन् । त्यो बेला उनी गर्भवती थिइन् । थाहा भएपछि तीन महिना सबै जनासँगै बसे पनि पछि आफूलाई घरबाट निकालिदिएको उनको गुनासो छ । अहिले शाही माइतीमा बस्छिन् । छोरा १६ वर्ष पुगे । धेरै प्रयासपछि उनी गत साउनमा बाबुकै नामबाट छोराको नागरिकता बनाउन सफल भइन् । तर, छोराका लागि अंश माग्दा नपाएपछि भने साउन अन्तिममा मुद्दा दर्ता गरेकी छन् ।

कतिपयले दोस्रो पत्नी घरमै नल्याए पनि बाहिरैबाट दु:ख दिने गरेका छन् । वीरेन्द्रनगरकी अनिता शाही र नरबहादुर सारूले ६ वर्षअघि प्रेमविवाह गरे । सुरुवातमा सम्बन्ध राम्रो भयो । बच्चा जन्मिएपछि भने उनीहरूको सम्बन्ध चिसियो । होटल व्यवसाय गर्ने अनिताले पैसाको जोहो गरेर पतिलाई विदेश पठाएको बताइन् । नरबहादुर चार वर्ष विदेशमा बसे ।

‘चार वर्षसम्म न पैसा पठाए न त मिठो वचन नै बोले, बोले त धम्कीपूर्ण कुरा मात्रै,’ उनले भनिन्, ‘कहिले आफैंले धम्की दिए, कहिले अरू केटीलाई धम्की दिन लगाए ।’ विदेशबाट फर्किए पनि घर आएनन् । विवाह गरेर घरमा अर्की पत्नी नल्याए पनि बाहिरै राखेर आफूलाई दु:ख दिएको अनिताले बताइन् । अहिले उनीसँग पाँच वर्षका छोरा छन् । कुनै उपाय नलागेपछि अंश लिएर बस्छु भनेर अनिताले साताअघिमात्रै मुद्दा दर्ता गरेकी छन् ।

सुर्खेतमा मात्रै नभएर कर्णाली प्रदेशमै बहुविवाहका घटना रोकिएको छैन । गत तीन आर्थिक वर्षमा बहुविवाहका एक सय ७३ घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बहुविवाहमा एउटा महिलाबाट अर्को महिला नै पीडित हुने गरेको अधिवक्ता गीता कोइराला बताउँछिन् ।

‘बहुविवाह हुँदा कतै पहिलो विवाहित श्रीमतीले दु:ख पाउँछन्, कतै पछि आउनेले,’ उनले भनिन्, ‘जे भए पनि एक जना महिला नै पीडित हुन्छन् ।’ उनका अनुसार भदौदेखि लागू भएको मुलुकी (संहिता) ऐनले पहिलेको विवाहित सम्बन्ध कायम हुँदाहुँदै दोस्रो विवाह गर्ने महिला वा पुरुषको सम्बन्धले कानुनी मान्यता पाउँदैन ।

बहुविवाहका कारण कतै जेठी त कतै कान्छी पत्नी समस्यामा परिरहेको अधिकारकर्मी पवित्रा शाहीले बताइन् । भदौदेखि लागू भएको नयाँ कानुनअनुसार बहुविवाह गर्दा कानुनी रूपमा अवैधानिक हुने भएकाले महिला आफैं सचेत हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : पुस ९, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?