विद्यालयमै दिवा खाजा
सल्यान — जिल्लाका सबै स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थी नियमित बनाउन दिवा खाजाको व्यवस्था गरेका छन् ।
जिल्लाका १० स्थानीय तहका दुई सय ८७ प्राथमिक विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको हो । दिवा खाजाबापत बालशिक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई प्रतिब्यक्ति १५ रुपैयाँको दरले खाजाको व्यवस्था गरिएको छ ।
दिवा खाजा कार्यक्रमबाट जिल्लाभरका २० हजार बढी बालबालिका लाभान्वित भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । कतिपय विद्यालयले विद्यालयमै पकाएर ताजा र पोसिलो खाजा खुवाउने गरेका छन् । केही विद्यालयले घरमा सन्तुलित भोजनसहितको खाजा बनाउन लगाएर विद्यार्थीलाई ल्याउन लगाउने गरेका छन् ।
त्यसबापत मासिक रकम अभिभावकलाई वितरण गर्दै आइरहेको स्थानीय तहले जनाएका छन् । स्थानीय तहले दिवा खाजाको व्यवस्था गरेपछि स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्याउने ‘जंक फुड’ बालबालिकाले खान नपर्ने भएको छ । जसले गर्दा बालबालिकाको स्वास्थ्यमा समेत सुधार हुन थालेको अभिभावकले जनाएका छन् ।
जिल्लाका सबै विद्यालयमा तीन महिनादेखि दिवा खाजाको व्यवस्था गरिएको हो । वनगाड कुपिन्डे नगरपालिकाले दिवा खाजामा एक करोड ८० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । नगरपालिकाभित्रका ६५ विद्यालयका ६ हजार आठ सय बालबालिकालाई दिवा खाजा खुवाउँदै आएको नगर शिक्षा शाखा प्रमुख रोमप्रसाद पाण्डेले बताए ।
विद्यालयमै दैनिक १५ रुपैयाँको खाजा खान पाउने भएपछि बालबालिका खुसी भएको उनको भनाइ छ । उनका अनुसार उक्त रकममा बालबालिकाले पेटभरि खाजा खान पाएका छन् । ‘सधैं १२ बजेपछि कक्षा छोडेर घर जाने बालबालिका दिनभर विद्यालयमै रहन थालेका छन्,’ उनले भने, ‘बालबालिकाको सिकाइ स्तरमा समेत वृद्धि भएको छ ।’
उनका अनुसार दिवा खाजा घरमै बनाइने गरिएको छ । त्यसबापत अभिभावकलाई मासिक रकम प्रदान गर्ने गरिएको उनले जनाए । आर्थिक समस्याका कारण खाजा खान नसक्ने बालबालिकालाई धेरै राहत भएको उनको भनाइ छ ।
बाग्चौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम मल्लले नगरपालिकाभरि रहेका ६९ विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाको सुविधा दिइएको जनाए । उनका अनुसार करिब चार हजार बालबालिकालाई दिवा खाजा खुवाउने गरिएको छ ।
‘पसलमा किनेर खाने जंक फुडले स्वास्थ्यमा असर गर्ने गरेको थियो, अहिले बालबालिकाको स्वास्थ्यमा समेत सुधार भएको छ,’ उनले भने, ‘विद्यालयमा विद्यार्थी संख्या बढाउने र नियमित गराउनेमात्र होइन, उनीहरूलाई कुपोषणबाट बचाउने पनि हाम्रो उद्देश्य हो ।’
बालबालिकालाई दैनिक फरक–फरक किसिमका खाजा खुवाउने गरेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले बताए । विद्यालयमा पकाएको खाजा प्रभावकारी नहुने भएकाले अभिभावकले घरमै पकाएर विद्यार्थीको हातबाट पठाउने गरेको उनले जनाए ।
उनले मासिक चार सय ५० रुपैयाँ अभिभावकलाई दिइने र सन्तुलित भोजनका बारेमा जानकारी दिने गरेको जानकारी दिए । ‘एकै प्रकारका खाजा बालबालिकाले मन नपराउने भएकाले दैनिक फरकफरक खाजा पकाउन अभिभावकलाई आग्रह गरिएको छ,’ उनले भने, ‘अहिले गाउँपालिकाभित्रका २९ विद्यालयका एक हजार ९ सय बालबालिका दिवा खाजाबाट लाभान्वित छन् ।’ उनले दिवा खाजाका लागि चालु आर्थिक वर्षमा ६४ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले ५२ विद्यालयका ३ हजार बालबालिकाले दिवा खाजा खाइरहेको र उनीहरूका लागि खाजा विद्यालयमा नियमित पकाउने व्यवस्था मिलाएको बताएका छन् ।
उनका अनुसार जसका लागि अभिभावकको संलग्नतामा व्यवस्थापन समिति गठन गरिएको छ । दिवा खाजा कार्यक्रमबाट सिद्धकुमाख गाउँपालिकाका २९ विद्यालयका एक हजार ६ सय बालबालिका लाभान्वित छन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी भएको शिक्षकको भनाइ छ ।
दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थीको संख्या बढ्दै गएको प्राथमिक विद्यालय डोप्केका प्रधानाध्यापक देवीप्रसाद आचार्यले बताए । ‘यसअघि बालबालिका विद्यालयमै नआउने र आए पनि दिउँसै घर फर्कने समस्या थियो,’ उनले भने, ‘अहिले विद्यालय समयभरि विद्यार्थी विद्यालयमै हुन्छन् ।’
उनले दिवा खाजाले अभिभावकलाई समेत धेरै राहत भएको जनाए । दिवा खाजाको सुरुवात भएको तीन महिनामै सकारात्मक परिवर्तन देखिन थालेको उनको भनाइ छ । उनले पढाइमा चासो नराख्ने विद्यार्थीले अध्ययनप्रति चासो देखाउन थालेको जानकारी दिए ।
वनगाड कुपिन्डे नगरपालिका–९, स्वाराकी दिलमाया सुनारले यसअघि विद्यालय जाने बेला दैनिक बालबालिकालाई के खाजा पठाइदिउँ भन्ने समस्या हुने गरेको बताइन् । ‘अहिले न दैनिक खाजाका लागि पैसा दिनुपर्छ न उनीहरूले नै जंक फुड सेवन गर्छन्,’ उनले भनिन्, ‘विद्यालयले दिने रकमबाटै पोषणयुक्त खाजा बनाएर बालबालिकालाई नियमित विद्यालय पठाइदिने गरेकी छु ।’
प्रकाशित : पुस १०, २०७५ १०:०१