कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बालविवाहविरुद्ध किशोरी आमा

‘सानैमा बिहे गर्दा मेरो पढाइ छुट्यो, जागिर खान पाएन, सानैमा आमा बन्दा शरीर कमजोर बन्यो,’
करिश्मा चौधरी

वीरेन्द्रनगर — बालविवाहका कारण समाजमा विकृति बढेको भन्दै किशोरी आमा त्यसविरुद्ध सक्रिय हुन थालेका छन् । किशोरी संवाद केन्द्रमार्फत अन्य किशोरीसँगै थालेको बालविवाहविरुद्धको अभियान प्रभावकारी बन्दै गएको छ । 

बालविवाहका कारण आफूहरूले भोगेको असर अरूले भोग्न नपरोस् भन्दै सचेतना दिने गरेको उनीहरूको भनाइ छ । संवाद केन्द्रका किशोरीले बालविवाहबारे घरदैलो, विद्यालय शिक्षा

कार्यक्रममा बालविवाहबारे सचेतना फैलाउने गरेका छन् । केन्द्रमा बालिका आमा र अन्य किशोरीबीच बालविवाहका असरबारे छलफलसमेत हुने गरेको छ ।

वीरेन्द्रनगरकी १८ वर्षीया सिर्जना जोशी सुनार अहिले बालविवाहविरुद्ध लागेकी छन् । १७ महिनाको छोरासहित उनी बाल विवाहविरुद्धको अभियानमा सक्रिय छिन् । उनले १५ वर्षकै उमेरमा वीरेन्द्रनगरकै तेजबहादुर सुनारसँग विवाह गरेकी थिइन् । आफूलाई बालविवाह र यसको असरबारे थाहा नहुँदा सानैमा विवाह गरेको उनले बताइन् । बालविवाह गरेकै कारण आफू पछि परेको महसुस गरेको सुनारको गुनासो छ ।

‘सानैमा बिहे गर्दा मेरो पढाइ छुट्यो, जागिर खान पाएन, सानैमा आमा बन्दा शरीर कमजोर बन्यो,’ उनले भनिन् ‘सानैमा बिहे गरेकामा अहिले पछुतो लाग्ने भएकाले अहिले अरूलाई बालविवाह नगर भनेर सिकाउने गरेकी छु ।’ वीरेन्द्रनगरकै शुष्मा विक पनि यो अभियानमा सहभागी छिन् । आफैले बालविवाह गरेकी उनी अरूले आफूजस्तै सानैमा बिहे नगरून् र विभिन्न दु:ख नपाउन भन्दै यो अभियानमा सक्रिय भएको बताइन् । ‘मैले थाहा नपाएर उमेर नपुग्दै बिहे गरे, अरूलाई यसको असरबारे बताउँदै आएकी छु,’ उनले भनिन्, ‘बालविवाह कानुनअनुसार गर्न मिल्दैन, आफैंले पनि पछुताउनुपर्छ भनेर किशोरीलाई सम्झाउने गरेकी छु ।’

आफैंले बालविवाहको असर अरूले नभोग्नु नपरोस् भनेर सक्रिय भएको स्थानीय लक्ष्मी विष्टले बताइन् । ‘बालविवाहले महिलालाई अगाडि बढ्न दिंदैन,’ उनले भनिन्, ‘घरेलु हिंसा, बहुविवाहजस्ता अरू थुप्रै समस्या भोग्नुपर्छ ।’ अहिले १९ वर्ष पुगेकी उनले किशोरी संवाद केन्द्रमार्फत अभियान सफल हुँदै गएको बताइन् । बालविवाह विरुद्धमा संवाद केन्द्रका सबै जना लागेको सुनौलो किशोरी संवाद केन्द्रकी सहजकर्ता शोभा विकले बताइन् ।

किडार्क नेपालले सञ्चालन गरेको दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण परियोजनाले दुई वर्षअघि किशोरी संवाद केन्द्र गठन गरेको थियो । संवाद केन्द्रमा बालविवाह, बहुविवाह तथा घरेलु हिंसाजस्ता विषयमा छलफल गर्दा हिंसाको सुरुआत बाल विवाह भएको थाहा पाएको बांगेसिमल किशोरी संवाद केन्द्रकी सहजकर्ता सम्झना सुनारले बताइन् । बालविवाहको असर भोगेका र थाहा पाएका किशोरीहरू मिलेर बालविवाहविरुद्धमा लागेको उनी बताउँछिन् ।

महिलामाथि हुने सबै हिंसा बालविवाहका कारण सुरु हुने भन्दै बालविवाह रोक्नुपर्ने वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले बताइन् । बालविवाह रोक्नका लागि किशोरी सक्रिय हुनु सकारात्मक रहेको उनको भनाइ छ । पछिल्लो समय किशोरकिशोरीले आफैं विवाह गर्ने प्रवृत्ति बढेकाले यसलाई रोक्न अभिभावकको सक्रियतासमेत जरुरी रहेको उनको भनाइ छ ।

बालविवाह रोक्न सरकारी र गैरसरकारी संस्थाका तर्फबाट विभिन्न प्रयास भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयमा विगत पाँच आर्थिक वर्षमा बालविवाहका ७० घटना दर्ता भएका छन् ।

प्रकाशित : पुस ११, २०७५ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?