कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दुग्ध सामग्रीले बजार पाएन

विप्लव महर्जन

सल्यान — बन्गाड–कुपिण्डे नगरपालिका १२, निगालचुलास्थित दुरुम खोलाका ६० वर्षीय प्रेमबहादुर पुनले २० वर्षदेखि दुइटा भैंसी पालिरहेका छन्। तर बजार अभावमा उनले उत्पादन गरेको दूध, दही र घिउले बजार पाउन सकेको छैन।

दुग्ध सामग्रीले बजार पाएन

उनकै छिमेकी दधिराम रोकाको गोठमा भने तीन भैंसी छन्। १० वर्षदेखि भैंसीपालन गरिरहेका उनको घरमा दैनिक १२ लिटर दूध उत्पादन हुन्छ। तर बजारकै समस्याका कारण उनले उक्त दूध बिक्री गर्न सकेका छैनन्।

गाउँमा प्रशस्त घाँस पाइने र चरन क्षेत्र पनि धेरै भएकाले दुरुम खोलाका अधिकांश स्थानीयले घरमा भैंसी पालेका छन्। तर दुग्धजन्य पदार्थ बिक्रीमा ठूलो समस्या छ। रोकाले बजार अभावमा एक वर्षअघि ८० हजार रुपैयाँमा किनेको एक भैंसीको खर्चसमेत उठाउन नसकेको बताए।

उनले दूध बिक्री नभएपछि त्यसको घिउ बनाउँदै आएको जनाए। ‘घिउ बिक्री गर्न पनि तीन÷चार घण्टा हिंडेर बजार पुग्नुपर्छ,’ उनले भने, ‘बिक्रीका लागि घरघर डुल्नुपर्ने बाध्यता छ।’ ५५ घरधुरी रहेको दुरुम खोलामा ५० घरधुरीले भैंसी पालेका छन्रु। अधिकांश परिवारमा दुइटा भैंसी छन्। गाउँसम्म सडक सुविधा भए पनि गाडी कमै मात्रामा चल्ने गरेका छन्।

सदरमुकाम खलंगामा प्रतिलिटर ७० रुपैयाँमा दूध बिक्री हुने गरेको छ। तर गाउँमा भने दूध बिक्री नभएर खेर जाने गरेको स्थानीय नरबहादुर बुढामगरले बताए। उनका अनुसार उत्पादित दूध केही घरमा प्रयोग गर्ने र बाँकीको घिउ बनाइने गरिएको छ। ‘दूधबाट अनेकथरी परिकार बनाउन सकिन्छ भन्ने सुनेका छौं, तर हामीसँग घिउ बनाउनेबाहेक अन्य कुनै सीप छैन,’ उनले भने, ‘आवश्यक तालिम र उपकरणमा कसैले सहयोग गरे दुग्धजन्य उत्पादनलाई नै व्यवसाय बनाउन सकिन्थ्यो।’ उनले बजार अभावमा धेरैवटा भैंसी पाल्ने परिवारको पेसासमेत निर्वाहमुखी भएको बताए।

स्थानीय टेकबहादुर थापाले भैंसीले दैनिक १० लिटर दूध दिने गरे पनि घरमै मात्र प्रयोग हुने गरेको बताए। ‘बजारको सुविधा भए एक÷दुई लिटर घरमा राखेर अरू बिक्री गर्न सकिन्थ्यो,’ उनले भने, ‘आयस्रोत पनि बढ्थ्यो, भैंसीपालनमा थप जा“गर आउ“थ्यो, तर बजार नहु“दा समस्या भएको छ।’

उनका अनुसार गाउँमा एउटा भैंसीको मूल्य ५० हजारदेखि ७० हजार रुपैयाँसम्म पर्छ। उनका अनुसार एउटा भैंसीको दूधबाट वर्षमा ३० किलोसम्म घिउ उत्पादन हुने गरेको बताए। दूध बिक्री गर्नसके एउटै भैंसीबाट महिनामा १० हजारसम्म कमाइ हुने उनले जनाए। उनका अनुसार स्थानीयले नजिकका व्यापारिक केन्द्र र सदरमुकाममा लगेर घिउ बिक्री गर्ने गरेका छन्।

स्थानीय किसान टेकबहादुर पुनले भैंसीपालन गरेको २० वर्ष बढी भए पनि निर्वाहमुखीमात्र हुन सकेको बताए। उनको गोठमा सधैं दुइटा भैंसी दुहुना हुन्छन्। तर ताजा दूध बिक्री गर्न समस्या भएको उनको भनाइ छ। वर्षमा २०÷२५ किलो घिउ बिक्री गरेर त्यसैमा चित्त बुझाउनुपरेको उनको भनाइ छ।

बजारको अभाव नभए दुई भैंसीमात्र पाल्न सके घरको सबै खर्च त्यसैबाट उठ्ने उनले जनाए। बजार अभावका कारण भैंसीपालन व्यवसाय बन्न नसक्दा रोजगारीका लागि युवा बर्सेनि भारत जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

गाउ“मा करिब १ सय ५० भैंसी छन्रु। ती भैंसीबाट दैनिक चार सय लिटर दूध उत्पादन हुने स्थानीय आइती ओलीले बताइन्। उनका अनुसार सबै दूध गाउ“मै प्रयोग गर्नुपर्ने बाध्यता छ। उनले संकलन केन्द्र स्थापना हुन सके गाउ“को दूध दिनहु“ सदरमुकामसम्म पुग्ने बताइन्।

‘संकलन केन्द्र स्थापना भए हामीलाई पनि जीविकोपार्जनमा सहयोग पुग्थ्यो,’ उनले भनिन्, ‘सदरमुकामका उपभोक्ताले समेत ताजा दूध उपभोग गर्न पाउँथे।’ उनले अहिले कम्पोस्ट मल उत्पादनका लागिमात्र भैंसीपालन सीमित भएको जनाइन्।

किसानले पटकपटक विभिन्न सरकारी तथा गैरसरकारी निकायमा बजारीकरणका लागि पहल गरिदिन माग गरे पनि बेवास्ता भएको उनको भनाइ छ।

प्रकाशित : पुस १४, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?