कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चन्दाको भरमा स्कुल

विप्लब महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका २, लाहाघाटस्थित जय निम्न माध्यमिक विद्यालयमा दुई दरबन्दी र एक राहतका शिक्षक कार्यरत छन् ।

चन्दाको भरमा स्कुल

विद्यालयले चार शिक्षकलाई निजी स्रोतमा भर्ना गरी पठनपाठन सञ्चालन गरिरहेको छ । स्थानीयवासी र अभिभावकबाट चन्दा संकलन नभए निजी स्रोतका शिक्षकले तलब खान नपाउने अवस्था छ ।

त्यस्तै बाग्चौर नगरपालिका ३, चोरपानीस्थित अमर ज्योति माविमा दरबन्दीका शिक्षक नभएपछि निजी स्रोतबाट शिक्षक भर्ना गरिएको छ । निजी स्रोतका भरमा विद्यालय सञ्चालन त छ तर, उनीहरूलाई तलब खुवाउन हम्मेहम्मे परेको छ । जिल्लामा चार सय ४७ सामुदायिक विद्यालय छन् ।

ती विद्यालयमध्ये एक सय ४१ विद्यालयमा दरबन्दी शून्य छ । अधिकांश विद्यालयमा शिक्षक दरबन्दी अभाव छ । जसका कारण सामुदायिक विद्यालय चन्दा र अभिभावकको सहयोगको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

जय निम्न माविका प्रअ मानसिंह बिष्टले निजीबाट शिक्षक भर्ना गरेकाले उनीहरूलाई तलब खुवाउन प्रत्येक वर्ष विभिन्न निकायबाट चन्दा संकलन गर्नुपरेको बताए । उनले स्थानीयबाट स्रोत नजुटाए विद्यालय सञ्चालन गर्न गाह्रो रहेको गुनासो गरे । प्रतिभा माविमा दरबन्दीका शिक्षकका रूपमा प्रधानाध्यापक देवीलाल नेपालीमात्र कार्यरत छन् ।

विद्यालय सञ्चालन गर्न निजी स्रोतबाट सात जना शिक्षक भर्ना गरिएको छ । विगतमा जिल्ला शिक्षा कार्यालयमा दरबन्दी पूर्तिका लागि बारम्बार आग्रह गरिए पनि बेवास्ता भएको प्रअ नेपालीले गुनासो गरे ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लामा दुई सय ८७ प्राथमिक, ८७ निम्न माध्यमिक र ७३ माध्यमिक विद्यालय छन् । ग्रामीण क्षेत्रका विद्यालय सामुदायिक वन र देउसीभैलोको रकमबाट सञ्चालन गर्नुपर्ने बाध्यतासमेत छ ।

इकाईका अनुसार प्राथमिक तहमा आठ सय ४०, निम्न माध्यमिकमा एक सय तीन, माध्यमिक तहमा ९१ दरबन्दी छन् । इकाईले प्राथमिक तहमा तीन सय ५६, निम्न माध्यमिक तहमा एक सय र माध्यमिक तहमा ६२ राहत शिक्षकको व्यवस्था गरिएको जनाएको छ ।

जिल्लाका तीन सय बढी विद्यालयमा अझै शिक्षक अभाव रहेको इकाई प्रमुख लीलाधर बबालले बताए । उनका अनुसार विगतदेखि नै शिक्षक भर्नामा समस्या आएकाले सामुदायिक विद्यालयले शिक्षक अभावको समस्या झेलेका हुन् । उनका अनुसार ४० प्राथमिक विद्यालय दरबन्दीविहीन छन् ।

‘प्राथमिकभन्दा निम्न माध्यमिक र माध्यमिक तहमा विषयगत शिक्षक चाहिने भएकाले शिक्षक दरबन्दी अभाव छ,’ उनले भने, ‘अधिकांश विद्यालयले विषयगत शिक्षक निजी स्रोतबाट भर्ना गर्नुपर्ने बाध्यता छ ।’

कतिपय विद्यालयमा शिक्षकलाई तलब खुवाउन समस्या भएपछि अभिभावकले चन्दा संकलन गर्नुपर्ने बाध्यता रहेको उनले जनाए । अहिले विद्यालयको जिम्मेवारी स्थानीय तहमा सरे पनि गाउँ/ नगरपालिकाले आवश्यकता अनुसार शिक्षक भर्ना गर्न नसकेको इकाई प्रमुख बबालको भनाइ छ ।

प्रकाशित : पुस १५, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?