कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दलित बस्तीमा खानेपानी अभाव

स्थानीयलाई एक गाग्री पानी लिन दुई घण्टा टाढाको मुहान जानुपर्ने बाध्यता छ । 
पानी पुर्‍याउन चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन 
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–६ का दुई दलित बस्तीमा खानेपानी समस्या देखिएको छ । टाकुरा र मधमकाँडामा खानेपानी अभाव भएपछि स्थानीयले सास्ती भोग्दै आइरहेका छन् ।

दलित बस्तीमा खानेपानी अभाव

स्थानीयलाई एक गाग्री पानी लिन दुई घण्टा टाढाको मुहान जानुपर्ने बाध्यता छ ।


खानेपानी समस्याका कारण दुई गाउँका करिब दुई सय ५० परिवार प्रभावित भएका छन् । डाँडा बस्ती भएकाले आसपास खानेपानी मुहान छैनन् । भएका मुहान पनि खडेरीका कारण सुकेपछि स्थानीयलाई खानेपानीका लागि सास्ती भएको हो ।


डोकोमा पानी बोक्दा बोक्दा कम्मरको रोगी भएको शारदा नगरपालिका–६, मधमकाँडाकी ४५ वर्षीया चन्द्रकला परियारले बताइन् । उकालो र ओरालोमा लामो समयसम्म हिंड्नुपर्दा पानीका लागि धेरै सास्ती भएको उनको भनाइ छ ।


नजिकै पानीको स्रोत नभएकाले एक गाग्री पानी लिन गाउँदेखि डेढ घन्टा तलको खातीगाउँ र जुगेखोलामा जानुपर्ने बाध्यता रहेको स्थानीय भीमा परियारले बताइन् । पानीको समस्या भएपछि अड्कलेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले जानकारी गराइन् ।


उनका अनुसार पानीका लागि घरबाट बिहानै हिंड्नुपर्ने बाध्यता छ । ‘गाउँका सबै एकै ठाउँमा पानी लिन जान्छौं, बिहानै नगए पालो पर्खनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘विभिन्न निकायमा लामो समयदेखि ध्यानाकर्षण गराएका छौं, तर कसैले वास्ता गरेनन् ।’


पानी लिएर घर फर्कंदा धेरै समय लाग्ने भएकाले बिहानको खाना सधैं ढिलो हुने गरेको स्थानीय आइती बिकले बताइन् । उनका अनुसार खाना पकाउन ढिला हुने भएकाले बालबालिका बिहानको खाजामात्र खाएर विद्यालय जाने गरेका छन् । ‘नजिकै विद्यालय भएकाले अधिकांश बालबालिकाले एक बजेको हापछुट्टीमा आएर बिहानको खाना खाने गरेका छन्,’ उनले भनिन्, ‘पानीकै समस्याले सरसफाइ लगायतका काम प्रभावित भएका छन् ।’


स्थानीय झुपलाल नेपालीले खानेपानी समस्याकै कारण गाउँबाट धेरै परिवार विस्थापित भइसकेको बताए । ‘बस्ती डाँडामा भएकाले पानीका मुहान गाउँभन्दा तल र टाढा छन्,’ उनले भने, ‘पशु चौपायालाई पनि पानी खुवाउन समस्या छ ।’ उनले खानेपानी समस्याले गाउँबाट अन्यत्र बसाइ सरी जाने क्रम बढेको बताए । उनले अधिकांश विपन्न दलित परिवार अन्य विकल्प नहुँदा गाउँमै बस्न बाध्य भएको जनाए ।

शारदा नगरपालिका–६ का वडाध्यक्ष भिकराज भण्डारीले टाकुरा र मधमकाँडामा पानी पुर्‍याउन नगरपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको बताए । सापमारास्थित मूलखोलाबाट लिफ्ट प्रविधिबाट पानी तानेर गाउँमा वितरण गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ ।


‘कुनै प्राविधिक समस्या नभए छिट्टै योजनाको काम सुरु हुन्छ, यसै आर्थिक वर्षको अन्त्यसम्ममा योजना सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘योजना सम्पन्न भएपछि स्थानीयले घर नजिकैका धाराबाट खानेपानी सुविधा पाउनेछन् ।’

प्रकाशित : पुस १९, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?