कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिक वडापत्र अनिवार्य

करिश्मा चौधरी

वीरेन्द्रनगर — जिल्लाका सरकारी सरकारी कार्यालय र स्थानीय तहले नागरिक वडापत्र अनिवार्य गरेका छन् । त्यसले सेवाप्रवाहमा सजिलो भएको छ ।

अधिकांश सरकारी कार्यालयमा नागरिक वडापत्रको व्यवस्था भएपछि सेवा छिटोछरितो र कर्मचारीसमेत जवाफदेही हुन थालेका छन् ।


सबै सरकारी कार्यालयमा नागरिक वडापत्र राख्नुपर्ने ब्यवस्था छ । नागरिक वडापत्रले सेवा प्रवाहमा सरलतासँगै सुशासनमा सहयोग गर्ने भएकाले हरेक कार्यालयमा नागरिक वडापत्र राख्ने गरिएको हो । नागरिक वडापत्र हुँदा वडाबाट सेवा लिन सजिलो भएको वीरेन्द्रनगर २ की स्थानीय शोभा बिकले बताइन् ।


कुन सेवा लिन के कस्तो कागजात चाहिन्छ, कसरी काम गर्ने भनेर थाहा नहुनेलाई वडापत्र हेरेर सेवा लिन धेरै सहज हुने विक बताउँछिन् । वडापत्र हेरेर सबै कागजात पुर्‍याएर काम गर्न जाँदा काम पनि छिटो हुने उनले बताइन् । ‘नागरिक बडापत्र नहुँदा अन्यौल हुन्छ, अरुलाई सोध्नुपर्छ,’ विकले भनिन्, ‘कार्यालयमा नागरिक वडापत्र हुँदा सजिलै हुन्छ ।’


अहिले वडा कार्यालयबाट नागरिकले प्रत्यक्ष सेवा लिईरहेका छन् । जसले गर्दा नगरका वडामा नागरिक वडापत्रको आवश्यक्ता उत्तिकै छ । भेरीगंगा नगरपालिकाकी स्थानीय चन्दा आचार्यले पछिल्लो समय नागरिक वडापत्रको प्रयोग हुने गरेको बताइन् ।


‘सेवाग्राही पढेलेखेका र वडापत्र देखिने ठाउँमा छ भने प्रयोग हुन्छ,’ आचार्यले भनिन्, ‘वडापत्रले सेवा लिन सजिलो संगै छिटो पनि बनाउँछ ।’ नागरिक वडापत्र प्रयोग गर्दा सेवा लिन छिटो हुने वीरेन्द्रनगर १४ की स्थानीय कौशिला नेपालीले बताइन् । ‘पढ्न सक्नेलाई वडापत्रले काम गर्न सजिलो बनाउँछ,’ नेपालीले भनिन्, ‘तर, पढ्न नसक्नेलाई भने उस्तै हो ।’


सेवाग्राहीको सहजताका लागि कार्यालयमा नागरिक वडापत्र राखिएको वीरेन्द्रनगर १ का अध्यक्ष गंगाराम सुनारले बताए । नागरिक वडापत्र राख्दा सेवा दिनलाई सजिलो भएको उनको भनाइ छ । ‘वडामा काम सुरु भएपनि वडापत्र नहुँदा धेरैलाई कागजातबारे बुझाउनुपर्‍थ्यो,’ अध्यक्ष सुनारले भने, ‘वडापत्र राखेको तीन महिनामा सजिलो भएको महसुस गरेका छौँ ।’


वडामा आउने केही सेवाग्राहीले वडापत्रको प्रयोग गरे पनि सबैलाई वडापत्रबारे जानकारी नभएको उनी बताउँछन् । वडापत्र प्रयोगले सेवा प्रवाह सहज बनाउने भएकाले सबै सेवाग्राहीलाई यसबारे जानकारी हुनुपर्ने उनी बताउँछन् ।


नागरिक वडापत्र हुँदा र नहुँदाको अवस्था निकै फरक भएको वीरेन्द्रनगर नगरपालिका(२ का अध्यक्ष बलबहादुर रोकायले बताए । उनका अनुसार वडा कार्यालयमा नागरिक वडापत्र राखेको करिव दुई महिना भयो ।


‘वडापत्र नहुँदा सेवाग्राहीहरू, कर्मचारी र जनप्रतिनिधिसंग झुमिन्थे, के कागजात चाहिन्छ, कसरी काम हुन्छ भनेर सोध्थे,’ अध्यक्ष रोकायले भने, ‘अहिले पढ्न सक्नेले नागरिक वडापत्र हेर्छन्, कसै कसैले मात्रै सोध्न आउँदा काम गर्न सजिलो हुन्छ ।’

प्रकाशित : पुस २०, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?