१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नलगाडमा पुल बनेन

भीमबहादुर सिंह

जाजरकोट — जिल्ला प्रहरी कार्यालय जाजरकोटको भ्यान गत बुधबार एक घण्टा नलगाड खोला तर्ने क्रममा फस्यो । डोजरको सहायताले उक्त भ्यानलाई खोलाबाट निकाल्न हम्मेहम्मे भयो ।

नलगाडमा पुल बनेन

तल्लुबगरतर्फ निरीक्षण तथा अनुगमनमा हिंडेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीसँगै प्रहरी चढेको भ्यान खोलामा फसेको हो । नलगाड खोलामा गाडी फस्ने समस्या यो नौलो भने होइन । नलगाडमा खोलामा पुल नबन्दा जाजरकोट डोल्पा सडकमा यात्रु दिनहुँ सास्ती ब्होर्दै आएका छन् ।


भेरी करिडोर मार्गअन्तर्गतको जाजरकोट–डोल्पा सडकमा दर्जनौं खोलामा पुल बन्न सकेका छैनन् । जाजरकोट–डोल्पा सडकको ६० किलोमिटर खण्डमा यातायात सञ्चालन भएको सात वर्ष बित्यो । तर, सडकखण्डको दर्जन खोलामा पुल नबन्दा यात्रुलाई पटकपटक सास्ती हुने गरेको छ ।


नदी र खोलाका कारण सडकको नलगाड नगरपालिकाको कालिमाटीदेखि तल्लुबगरसम्मको २७ किलोमिटर खण्डमा नियमित तथा सीधा यातायात सञ्चालनमा बाधा पुग्ने गरेको छ । यातायात नियमित नहुँदा यात्रुलाई गन्तव्यमा पुग्न र उपभोग्य सामान ढुवानीमा सास्ती हुने गरेको हो ।

उक्त सडकको झुमरा खोला, नलसिंहगाड, ताँसुगाड, ताँत्र खोला, मालुवा खोला, मैदे खोलालगायत खोलामा पुल नबन्दा समस्या भएको हो । खोलामा पुल नबन्दा सीधा यातायात सञ्चालनमा बाधा पुगेको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए ।


‘यी खोलामा पुल बन्ने कुनै सुरसार पनि देखिएको छैन,’ उनले भने, ‘वर्षातमा साना खहरे खोला र हिउँदमा ठूला खोलाले यातायात अवरुद्ध गर्ने गरेका छन् ।’ नलगाड नगरपालिकाको नलगाड खोलामा पक्की पुल निर्माण गर्ने क्षमता नभएको प्रमुख रावलको भनाइ छ ।


नगरवासीको सास्तीलाई हृदयगम गरी तत्कालका लागि खोलामा ह्युमपाइप राखेर यातायात सञ्चालन गर्ने योजना बनुको उनले बताए । त्यस्तै दल्लीदेखि तल्लुबगरसम्मको सडक मर्मत सुधारको कार्य पनि अघि बढाइएको उनले जनाए । ‘पुलको कारण खलंगाबाट आएका

यातायाका साधन कालिमाटीमा रोकिने र तल्लुबगरबाट आएका साधन दल्लीमा रोकिने गरेका छन्,’ उनले भने ।


नलगाड खोलामा जोखिम मोलेर यातायातका साधन तार्दा गाडीका इन्जिन नै सिज हुने गरेको यातायात व्यवसायी कमलबहादुर थापाले बताए ।


‘खोलामा फसेका कतिपय यातायातका साधनलाई डोजर र जेसीबीको सहायताले तान्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘फसेको एउटा गाडीलाई तान्न जेसीबीलाई दुई हजारदेखि १० हजार ज्याला दिनुपरेको छ ।’


जाजरकोट–डोल्पा सडकमा सीधा यातायात सञ्चालन नहुँदा निर्माण सामग्री, खाद्य तथा दैनिक उपभोग्य वस्तुलगायतको ढुवानीमा समस्या हुने गरेको छ ।


यातायातका साधनद्वारा दुर्गम गाउँमा दैनिक उपभोग्य वस्तु ढुवानी नहुँदा मूल्य चुलिने गरेको छ । प्रतिकिलो दुई रुपैयाँमा ढुवानी हुने सामान १४/१५ रुपैयाँमा ढुवानी गर्नुपरेको यातायात व्यवसायीको गुनासो छ ।


धूलाम्मे तथा कच्ची सडक, त्यसैमा खोलाहरूमा पुल नहुँदा वर्षभरि यात्रुले सास्ती खेप्नुपरेको छ । सीधा यातायात सञ्चालनमा आउन नसकेपछि डोल्पा, रग्दा, भगवती, रुकुम पश्चिमको गोतामकोटलगायत गाउँका स्थानीयले थाप्लोमा भारी बोक्नुपर्ने बाध्यता नटरेको स्थानीय गोपाल बानियाँले बताए ।


समयमा पुल निर्माण नहुँदा तल्लुबगरदेखि नेपालगन्ज र सुर्खेतसम्म सीधा यातायात सेवा सञ्चालन हुन नसकेको उनको भनाइ छ । डोल्पा सडकको ट्रयाक ओपन भइसकेको हुँदा विभिन्न खोलामा सडक डिभिजनले तत्काल पुल बनाउनुपर्ने प्रजिअ बस्नेत बताउँछन् । सडक डिभिजनले छिटोभन्दा छिटो पुल बनाएर जनतालाई सहज सुविधा दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : पुस २२, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?