तरकारी हाटबजार प्रयोगविहीन

हाटबजार अलपत्र भएपछि सरकारी अनुदानमा निर्माण गरिएका संरचना बेवारिसे बनेका छन् । 
विप्लव महर्जन

सल्यान — साबिक जिल्ला कृषि विकास कार्यालयको सहयोगमा श्रीनगर, बरला, मार्के, बाग्चौर, काभ्रा, सल्लीबजारलगायत स्थानमा स्थापना भएका तरकारी हाटबजार केन्द्र अलपत्र परेका छन् ।

तरकारी हाटबजार प्रयोगविहीन

हाटबजार अलपत्र भएपछि सरकारी अनुदानमा निर्माण गरिएका संरचना बेवारिसे बनेका छन् । किसानले सिधै व्यापारीलाई तरकारी बिक्री गर्न थालेपछि हाटबजार अलपत्र परेका हुन् । कतिपय गाउँका किसान भने तरकारी संकलन केन्द्र नहुँदा डोकोमै तरकारी बोकेर बिक्री गर्न बाध्य छन् ।


साबिक कृषि कार्यालयले २०५४ मा शारदा नगरपालिका–८, मार्केस्थित नाउलामा तरकारी संकलन तथा हाटबजार सञ्चालनका लागि दुई लाख रुपैयाँ विनियोजन गरी संरचना निर्माण गरेको थियो । संरचना निर्माण गरेको दुई वर्ष नबित्दै हाटबजार लाग्न छोड्यो । २०५८ सालमा पुन: अर्को टहरा निर्माण गरिए पनि त्यो समेत अलपत्र परेको छ ।


त्यस्तै २०६० सालमा शारदा नगरपालिका–१, श्रीनगरस्थित भगवती खोला नजिकै सञ्चालन गरिएको हाटबजार पनि अलपत्र छ । तरकारी राख्नका बनाएका टहराको भुइँको ढलान उप्किँदै गएको स्थानीय कृषकको भनाइ छ । जस्तापातामा खिया लागेर जीर्ण बनेको स्थानीयले जनाए । टहरा अहिले पशुचौपायाको ओत लाग्ने स्थलमा परिणत भएका छन् ।


हाटबजार निर्माण भएको दुई वर्षसम्म किसानको तरकारी त्यहीँबाट बिक्री हुने गरेको स्थानीय बुद्धिराम भण्डारीले बताए । सरकारी अनुदानमा १५ वर्षअघि टहरा निर्माण गरे पनि अहिले बेवारिसे बन्दा सरकारी रकमको दुरुपयोग भएको उनको भनाइ छ । टहरा स्थानीयले बिस्कुन सुकाउने स्थलमा प्रयोग भइरहेको उनले जनाए । साबिक कृषि विकास कार्यालयको पाँच लाख ५० हजार अनुदान र स्थानीयको एक लाख ३९ हजार रुपैयाँ लगानीमा हाटबजारको संरचना निर्माण गरिएको थियो ।


२० वर्षअघि मार्केको नाउलामा तरकारी संकलनका लागि बनाएको संरचनाको अवशेषसमेत नरहेको स्थानीय जुद्धबहादुर बुढाथोकीले बताए । उनका अनुसार गाउँ नजिकै निर्माण गरिएको अर्को पक्की टहरो बेवारिसे अवस्थामा पुगेको छ । ‘पशु कार्यालयले खसीबोका संकलन गर्न बनाएको टहरासमेत काम नलाग्ने अवस्थाको छ,’ उनले भने, ‘हाटबजारमा सरकारी निकाय र स्थानीयवासीको ठूलो लगानी भए पनि अहिले सबै खेर गएको छ ।’


उनका अनुसार किसानले भने डोकोमा बोकेर नजिकैका व्यापारिक केन्द्रमा गइ तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ । जिल्लाका अधिकांश गाउँमा निर्माण गरिएका हाटबजारका संरचना अहिले वर्षातको समयमा पशुचौपायालाई ओत लाग्ने ठाउँमात्र बनेको उनले जानकारी दिए ।


बन्गाड कुपिन्डे नगरपालिकाको सल्लीबजारमा निर्माण गरिएको हाटबजार स्थालको अवस्था पनि अन्यत्रभन्दा फरक नभएको स्थानीय किसान भद्रसिं खड्काले बताए । उनका अनुसार अधिकांश व्यापारी तरकारी किन्न बारीमै पुग्ने भएकाले हाटबजार केन्द्र अलपत्र परेको हो । ‘सरकारी रकम लगानी भएकाले त्यसलाई अन्य रूपमा पनि सार्वजनिक स्थल बनाई प्रयोग गर्न सकिन्थ्यो,’ उनले भने, ‘तर सबैतिरबाट बेवास्ता भएकाले सरकारी रकमको दुरुपयोग भएको छ ।’


कृषि ज्ञान केन्द्रका अनुसार अहिले कपुरकोट गाउँपालिका क्षेत्रमा बनाइएका हाटबजार केन्द्रमात्र सञ्चालनमा छन् । वरिष्ठ कृषि

विकास अधिकृत अमरराज शर्माले किसानको भलाइका लागि निर्माण गरिएका संरचना उनीहरूको बेवास्ताका कारण बेवारिसे बनेको बताए । उनले अन्य काममा ती संरचना प्रयोग गर्न सकिने र त्यसका लागि स्थानीय तहको ध्यान जानुपर्ने बताए ।

प्रकाशित : पुस २४, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?