कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चिसोले विद्यार्थी आधा घटे

हिमपातका कारण लेकाली भेगका विद्यालय बन्द
तुलाराम पाण्डे

कालीकोट — अत्यधिक चिसो बढेपछि खाडाचक्र १, मान्मस्थित महादेव आधारभूत विद्यालय बालमन्दिरमा आउने विद्यार्थी आधा घटेका छन् । बालमन्दिर मात्र होइन, चिसो बढेपछि सदरमुकाम आसपासका विद्यालयमा विद्यार्थी घटेका छन् ।

हिमपातका कारण लेकाली भेगका विद्यालय बन्द गरिएको छ ।


बालविकास केन्द्रदेखि ८ कक्षासम्म पढाइ हुने बालमन्दिरमा भर्ना भएका चार सयमध्ये एक सय ८० जना मात्र विद्यालय आएको प्रधानाध्यापक नन्दाकुमारी शाहीले बताइन् । ‘चिसो नहुँदासम्म सबैजसो विद्यार्थी आउँथे,’ उनले भनिन्, ‘जाडोले आइतबारदेखि विद्यार्थी घटे ।’ उनले लेकमा

हिउँ र बेंसीमा पानी परेकाले विद्यार्थी आउन नसकेको सुनाइन् ।


महादेव आधारभूत विद्यालयले कक्षाकोठामा बालबालिकाको बसाइ व्यवस्थापनका लागि काप्रेट पि–फर्मको व्यवस्था गरेर बालमैत्री वातावरण भए पनि कक्षाकोठामा अत्यधिक चिसो भएकाले विद्यार्थीलाई बाहिर घाममा राखेर पढाउन थालिएको छ । शिक्षक लक्ष्मीकला आचार्यले चिसोले कक्षा कोठामा बस्न नसकिने अवस्था रहेको बताइन् । ‘चिसो नलागोस् भनेर घाममा राखिएको हो,’ उनले भनिन्, ‘चिसोबाट जोगाउन त्रिपाल किनेर घाममा बस्ने व्यवस्था मिलाएकोले यस पटक बालमन्दिरका कुनै पनि विद्यार्थी बिरामी परेका छैनन् ।’ उनका अनुसार विगतमा पुसको महिना धेरै विद्यार्थी बिरामी पर्थे ।


बालमन्दिरका शिक्षक कमलबहादुर शाहीले ७५ प्रतिशत बालिका र २५ प्रतिशतमात्र बालक नियमित आउने गरेको बताए । ‘छोराछोरीमा विभेदले छोरा निजी, छोरी सरकारी आउँछन्,’ उनले भने, ‘यसै कारण मान्म बजारका दुईवटै बोर्डिङमा छोराको संख्या ७५ प्रतिशत र छोरीको संख्या २५ प्रतिशत रहेको अनुमान छ ।’


मान्मकै जनजीवन माविमा गत सातासम्म नियमित रूपले पाँच सयभन्दा बढी विद्यार्थी आउने गरे पनि आइतबारयता मुस्किलले तीन सय मात्र आउने गरेको शिक्षक भीमप्रसाद पाण्डेले बताए । दुई सय ९१ विद्यालय रहेको कालिकोटमा तिलागुफा नगरपालिका र महावै गाउँपालिकाका ३२ विद्यालयमा मात्र हिउँदे बिदा हुने गरेको छ । फोइमहादेव, राचुली, चिल्खाया, ओदानकुका विद्यालयमा गत पुस १५ गतेदेखि हिउँदे बिदा भएको छ ।


जिल्लाका फोइमहादेव, राचुली, चिल्खाया र ओदानकुका विद्यालयमा हिउँदे बिदा गरिएको तिलागुफा नगरपलिका प्रमुख रतनबहादुर शाहीले बताए । उनका अनुसार चिसो छल्न अधिकांश लेकाली बस्तीका बासिन्दा मौसमी बसाइसराइ र ज्याला मजदुरीका लागि भारतलगायत ठाउँ गइसकेका छन् । जाडोले कालिकोटका अधिकांश विद्यालयमा विद्यार्थी घटेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मकर भण्डारीले बताए ।

प्रकाशित : पुस २५, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?