स्थानीय तहले बुझाएनन् प्रतिवेदन

हरि गौतम

रुकुम पश्चिम — दोस्रो चौमासिकको निकासा लिएर स्थानीय तहले धमाधम काम गर्नुपर्ने बेलासम्म पनि उनीहरूले पहिलो चौमासिककै प्रतिवेदन बुझाउन सकेका छैनन् ।

स्थानीय तहले बुझाएनन् प्रतिवेदन

जिल्लाका कुनै पनि स्थानीय तहले पहिलो चौमासिकबापत निकासा लिएको रकम र त्यसबाट भएको वित्तीय तथा अन्य प्रगति विवरण बुझाउन नसकेका हुन् ।


पहिलो चौमासिकको प्रतिवेदन बुझाउन नसकेपछि दोस्रो चौमासिकको रकम पनि स्थानीय तहमा गएको छैन । ‘पहिलो चौमासिकको प्रतिवेदन प्राप्त नभए सम्म दोस्रो चौमासिकको रकम निकासा गर्न मिल्दैन,’ कोष तथा लेखा नियन्त्रक ईश्वरीप्रसाद ढकालले भने, ‘हालसम्म पनि जिल्लाका कुनै स्थानीय तहले पहिलो चौमासिकको प्रतिवेदन बुझाएका छैनन् ।’


चाँडोमा मंसिर १ वा ढिलोमा मंसिर १५ भित्र पहिलो चौमासिकको प्रतिवेदन कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि स्थानीय तहले पुसको अन्तिम सम्ममा समेत पहिलो किस्ताको वित्तीय प्रतिवेदन कोलेनिकामा पुर्‍याउन सकेका छैनन् ।


साउन, भदौ, असोज र कात्तिक महिनामा कुन–कुन योजनाको लागि कति बजेट खर्च भयो । कति बजेट खर्च हुन बाँकी छ । कति बजेट खर्च हुने चरणमा छ जस्ता कुरा उल्लेख भएको विवरण सहितको प्रतिवेदन तयार पारेर दोस्रो चौमासिकको रकम माग गर्नुपर्नेमा स्थानीय तहले पहिलो चौमासिककै विवरण बुझाउन नसकेका हुन् ।


पहिलो चौमासिकको आर्थिक प्रतिवेदन नभई दोस्रो चौमासिकको निकासा नदिनु भनेर महालेखा नियन्त्रकको कार्यालयले जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई परिपत्र नै गरेको छ ।


स्थानीय तहले खर्च भएको र खर्च हुन बाँकी रहेको विवरण मात्रै दिए पनि दोस्रो चौमासिक निकासा गर्न सजिलो हुने कोष नियन्त्रक ढकालले बताए । जिल्लाका सबै स्थानीय तहका लागि कोलेनिकाले पहिलो चौमासिकमा ३३ प्रतिशत रकम निकासा गरिदिएको थियो ।

प्रकाशित : पुस २६, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?