१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विद्यालय व्यवस्थापन अध्यक्ष नगरपालिकाले तोक्ने

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिकाले विद्यालय व्यवस्थापन समिति नगरपालिकाबाटै तोक्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नगरपालिका आफैंले तोक्ने गरी निर्णय गरेको हो ।

कार्यपालिकाको निर्णय अनुसार नगरका अधिकांश विद्यालयको व्यवस्थापन समिति नयाँ गठन गर्न भनिएको छ । जसअन्तर्गत धेरै विद्यालयले नयाँ समिति पनि गठन गरिरहेका छन् ।


नगरका ४१ विद्यालयलाई नयाँ व्यवस्थापन समिति बनाउनका लागि भनिसकिएको र धेरैले बनाई पनि सकेको नगर शिक्षा समितिका संयोजक तथा नगर प्रमुख विशाल शर्माले बताए । उनले सहमतिमा अध्यक्ष चयन हुने अवस्था नभएपछि मात्रै नगरले अध्यक्ष तोक्ने गरी निर्णय भएको बताए । ‘बाहिर आएको हल्ला जस्तो होइन,’ नगर प्रमुख शर्माले भने, ‘अरू सबै प्रक्रिया पुरानै हो, अध्यक्षमा सहमति नभएपछि मात्रै नगरले तोक्ने भनिएको छ ।’ उनले नगरका अधिकांश विद्यालयले सहमतिमै व्यवस्थापन समिति बनाएर नगरमा पठाइसकेको बताए ।


अभिभावक भेलाबाट चार जना सदस्य छनोट गर्ने र त्यही चार जनामध्ये एक जनालाई अध्यक्षमा सहमति नभएको सन्दर्भमा मात्रै नगरले समितिको अध्यक्ष तोक्नेछ । विद्यालयको समग्र सुधारको कार्य योजना बनाई पेस गर्न लगाउने र त्यसकै आधारमा अभिभावकले भेलाबाट छनोट भएका चारमध्ये एक जनालाई अध्यक्ष तोक्ने निर्णय गरिएको छ ।


विद्यालयमा निर्वाचन गराउने कुराले राम्रो सन्देश नजाने भएकाले त्यसको अन्त्यका लागि यो निर्णय गरिएको प्रमुख शर्माले बताए । नगर शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनलाई अभिभावक हुनै पर्ने बाध्यकारी व्यवस्था छैन । इच्छाशक्ति, योजना भएको र अभिभावक भेलाबाट छनोट भएको जो व्यक्ति पनि अध्यक्ष हुन पाउने व्यवस्था गरिएको छ । अभिभावक हुनै पर्ने बाध्यकारी व्यवस्थाका कारण कहिलेकहीँ समस्या हुने गरेका घटनाको आधारमा यस्तो शिक्षा ऐन बनाइएको नगर कार्यापालिकाले जनाएको छ ।


नगरका अन्य विद्यालयमा सर्वसम्मत समिति गठन गरिए पनि ठूलो भनिएका विद्यालयमा भने समस्या आउने देखिएको छ । समिति गठन गर्न भनेर नगरपालिकाले चिठी पठाएको लामो समयसम्म पनि केही विद्यालयले गठन गर्न सकेका छैनन् । हिमालय माध्यमिक विद्यालय खोलागाउँ, शीतल माध्यमिक विद्यालय चौरजहारीलगायत केही विद्यालयमा सर्वसम्मत नयाँ समितिको अध्यक्ष चयन हुने सम्भावना न्यून छ ।


त्यसैले विद्यालयहरूले अभिभावक भेला बोलाएकै छैनन्, भने राजनीतिक दलहरू पनि वर्तमान विद्यालय व्यवस्थापन समितिलाई नै निरन्तरता दिनेमा देखिन्छन् । ‘अभिभावकबाट छनौट भएका चारमध्ये एक जना सर्वसम्मत अध्यक्ष नभए नगरपालिकाले हस्तक्षेप गर्ने कानुन नै बनाएको छ,’ एक अभिभावकले भने, ‘त्यसैले अभिभावक भेला डाक्न विद्यालय डराएका छन् भने राजनीतिक दल पनि विभिन्न बहानामा साबिककै समितिको निरन्तरताको पक्षमा देखिन्छन् ।’

प्रकाशित : पुस २७, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?