कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिचयपत्र वितरण गरिँदै

बिप्लब महर्जन

सल्यान — राष्ट्रिय परिचयपत्र पन्जीकरण विभागले जिल्लाका एक लाख ४५ हजार व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरणको तयारी थालेको छ ।

परिचयपत्र वितरण गरिँदै

विभागले निर्वाचन कार्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा परिचयपत्र उपलब्ध गराउने तयारी थालेको हो । जसका लागि जिल्ला प्रशासन कार्यालयमा कार्यालय राखिनेछ ।


विभागले परिचयपत्र वितरण गर्न जिल्ला प्रशासनमा मुख्य र १० स्थानीय तहमा शाखा कार्यालय स्थापना गरिने जनाएको छ । विभागका निर्देशक चोमेन्द्र न्यौपानेले परिचयपत्रका लागि जैविक तथा व्यक्तिगत विवरण संकलन गर्न टोली गाउँमा जाने जनाए । पहिलो चरणमा त्यसबारे अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको विभागले जनाएको छ । ‘हामीसँग अहिले उपकरण र जनशक्ति छैनन् । उपकरण खरिदका लागि केन्द्रले टेन्डरको प्रक्रिया सुरु गरेको छ,’ उनले भने, ‘उपकरण आएपछि कार्यालय सञ्चालन गरेर तथ्यांक संकलनको काम सुरु गर्नेछौं ।’


एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्न, नागरिकका वैयक्तिक र जैविक विवरणको संकलन, भण्डारण र उपयोग गर्न सजिलो हुने विभागले जनाएको छ । विभागका अनुसार सूचना प्रणालीलाई राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्न पनि परिचयपत्र वितरण गरिनेछ । विभागले नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रदान गर्न परिचयपत्र वितरण गर्न लागेको हो ।


राष्ट्रिय परिचयपत्रले सुरक्षामा ठूलो सहयोग पुर्‍याउने र दोहोरो सुविधा रोक्ने विश्वास लिइएको निर्देशक न्यौपानेले बताए । परिचयपत्रको माध्यमबाट नागरिकलाई मुलुकका सबै सरकारी ँकार्यालयमा कामकाज गर्न सहज हुने उनको भनाइ छ । पहिलो चरणको कार्यक्रम सम्पन्न भइसकेको उनले जानकारी दिए । उनका अनुसार दोस्रो चरणको कार्यक्रममा परिचयपत्र निर्माण र वितरणको काम हुनेछ ।


प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले राष्ट्रिय परिचयपत्र विभिन्न तथ्यांकका लागि छाता कार्डको रूपमा उपयोग हुने बताए । उनले कार्ड सबैका लागि महत्वपूर्ण भएकाले नागरिकले चासो देखाउन जरुरी रहेको जनाए । ‘परिचयपत्रले झूटो कुरा पत्ता लगाउन र ठगी नियन्त्रण गर्नमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने, ‘शान्तिसुरक्षा कायम गर्नसमेत राष्ट्रिय परिचयपत्र उपयोगी हुनेछ ।’ उनका अनुसार मतदाता परिचयपत्र भएका सबै व्यक्तिलाई यो परिचयपत्र उपलब्ध गराउन थालिएको हो ।

प्रकाशित : पुस २७, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?