कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सफाइमा जुटे युवा

हातमा बेल्चा र झाडु लिएर युवा सरसफाइमा लागेपछि बजारबासीले पनि साथ दिए 
तुलाराम पाण्डे

कालीकोट — जिल्लाका युवा पर्यटकीय गन्तव्य रारा हुँदै कालीकोटको मान्म बजार सरसफाइ अभियानमा जुटेका छन् । युवा उद्यमी धर्मेन्द्र शाहीको अगुवाइमा मंसिर १७ र १८ गते रारा तालको सरसफाइ गरेर फर्किएको युवाहरूको समूहले खाडाचक्र नगरपालिकाको समन्वयमा आइतबार र सोमबार मान्म बजारको सरसफाइ गरेको छ । 

सफाइमा जुटे युवा

शाही यसअघि विभिन्न हिमाल तथा तालको सरसफाइमा संलग्न हुँदै आएका छन् । उनले कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराको सरसफाइका लागि अगुवाइ गरेर ४० जनाको टिम परिचालन गरेका थिए । रारापछि आन्तरिक पर्यटकको मार्ग मानिने सदरमुकाम मान्म बजार सरसफाइमा पनि उनीसहितका युवाहरू सक्रिय भएका हुन् ।


हातमा बेल्चा र झाडु लिएर युवा सरसफाइमा लागेपछि बजारबासीले पनि साथ दिएको कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले बताए । युवाको पहलमा भएको सरसफाइ अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि साथ दिएका छन् ।


पुस १५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला लगायतले पनि मान्म बजारको सरसफाइ गरेर श्रम दिन मनाएका थिए । मुख्य मन्त्रीसहितका विशष्टि व्यक्तिहरूले हातमा पन्जा लगाएर वर्षांैदेखि मान्म बजार वरिपरि फ्याँकिएका फोहोर उठाउन थालेपछि स्थानीय युवासमेत आफ्नो समाज सुधारका लागि अग्रसर हुनुपर्छ भनेर लागेको पृथ्वी रक्तदान फाउन्डेसनका अध्यक्ष रमित मल्लले बताए ।


युवाले सुरुवात गरेको सरसफाइ अभियानमा जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायका कर्मचारी, स्थानीयबासी, व्यवसायी, प्रहरी, सशस्त्र र सेनाका जवानदेखि अधिकृतसम्म सरसफाइमा जुटेको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए ।

खाडाचक्र नगरपालिकाको मुख्य बजारको फोहोर खाडाचक्र नगरपालिकाले ट्याक्टर भाडामा लिएर दैनिक रूपमा उठाउँदै आए पनि बजारवरिपरि फ्याँकिएको फोहोरले बजार कुरूप बनाएको कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले बताए ।


उनले बजारवरिपरि मदिराका सिसी, प्लास्टिकले वातावरण प्रदूषित भएको सुनाउँदै खाडाचक्र नगर उपप्रमुख विजया विष्टले सबैले सरसफाइमा जुट्नुपर्ने बताइन् । उनले युवाको अगुवाइमा भएको सरसफाइ अभियानले बजारबासीमा फोहोर व्यवस्थापनको चेतना दिएको जानकारी पनि दिइन् । युवाले खरिद गरेको सरसफाइ सामग्री खाडाचक्र नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

प्रकाशित : पुस २७, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?