भीरबाट खसेर प्रहरी हवाल्दरको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — अस्थायी प्रहरी पोष्ट मैदेमा कार्यरत प्रहरी हवल्दार महोबीर खड्काको भीरबाट खसेर मृत्यु भएको छ । ३ जनाको टोलीसहित बिहीबार दिउँसो गस्तीमा गएका हवल्दार खड्का नलगाड नगरपालिका–८, गंथलेपाखाको भीरबाट एक्कासी चिप्लिएर १ सय ५० मीटर तल खसेका थिए ।

भीरबाट लडेर गम्भीर घाइते भएका खड्काको कोहलपुर मेडिकल कलेजमा उपचार गर्दागर्दै राति १० बजे मृत्यु भएको प्रहरी निरीक्षक केशर कार्कीले बताए । खड्काको घटनास्थलबाट उद्धार गर्ने क्रममा गाडी नपाउँदा स्ट्रेचरमा बोकाएर आठबीसकोट स्थित नगर अस्पतालमा पुऱ्याई प्राथमिक उपचार गर्नु परेको प्रहरी निरीक्षक कार्कीले बताए ।

Citizen

गम्भीर घाइते खड्काको उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर मेडिकलेजमा पुऱ्याएको उनले बताए । सुर्खेतको भेरी नगरपालिका ४, छिन्चु घर भएका प्रहरी हवल्दार खड्का विगत १ वर्षदेखि अस्थायी प्रहरी पोष्ट मैदेमा कार्यरत थिए ।

प्रकाशित : पुस २७, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्

च्याम्पियन किपर

परिवारको साथबिना धेरै गर्न सकिँदैन । अचेल फुटसल र फुटबलमा अभिभावकले बच्चा लिएर आउँछन् । यसैगरी फुटबल संस्कृति बन्ने हो ।
राजु घिसिङ

काठमाडौँ — मनाङमस्र्याङ्दी क्लब २०७० सालको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन हो । पाँच वर्षपछि ए डिभिजन लिग सुचारू हुँदा पनि मनाङले उपाधि रक्षा गर्‍यो । यी दुवै लिगमा विशाल श्रेष्ठले उत्कृष्ट गोलकिपरको अवार्ड जिते ।

मनाङमस्र्याङ्दी क्लब २०६३ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो भएको थियो । उसलाई च्याम्पियन पुलिससँग आर्मी र थ्रीस्टारले पछाडि पारेको थियो, जुन मनाङको इतिहासकै खराब नतिजा थियो । त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) मा राजनीतिक खिचातानी चर्कियो । लिग सम्भव नै भएन । भएको बी डिभिजन लिग पनि दुई खालका भए र दुवैका आयोजक भिन्दाभिन्दै थिए । एन्फा र नेपाल फुटबल संघ ।

मंसिर, २०६६ मा दुई समूहबीच सहमति जुट्यो । वर्षको अन्त्यतिर उद्घाटन मात्रै गरेर २०६६–६७ को ए डिभिजन लिग सुरु गरियो । त्यस बेलासम्म क्लबहरूमा ठूलै परिवर्तन भइसकेको थियो । न्युरोड टिम (एनआरटी) स्टारहरूको टिम थियो तर उसले २०६३ को लिग सकिएलगत्तै लिएको टिमको स्तर खस्किइसकेको थियो । डिफेन्डिङ च्याम्पियन पुलिस उस्तै बलियो थियो । उपाधिको अर्को दाबेदार थियो– थ्रीस्टार । आर्मी पनि कम थिएन । घरेलु फुटबलमा सदाबहार शक्तिका रूपमा रहेको मनाङले भने उत्कृष्ट खेलाडीहरूलाई समेट्न सकेन । त्यसैले उसले युवा खेलाडीकै टिम बनायो ।

गोलकिपर विशाल श्रेष्ठ यस्ता भाग्यमानी खेलाडी हुन्, जसले १९ वर्षको छँदै मनाङको गोलपोस्ट सम्हाल्ने अवसर पाए । उनको करिअरको पहिलो सिजन पनि २०६६–६७ कै लिग हो । उनले फ्रेन्ड्सविरुद्धको बाहेक बाँकी सबै खेल खेलेका थिए । पुलिसले फेरि उपाधि जितेको थियो भने थ्रीस्टार, एनआरटी र आर्मीले पनि मनाङलाई उछिनेको थियो । पुलिससँग २० अंकले पछाडि परेको मनाङ (८ जित, ६ बराबरी, ८ हार) लिगमा पाँचौं भयो, जुन उसको इतिहासकै सबभन्दा खराब नतिजा हो ।

अर्कोपल्ट फेरि मनाङले नेपाली फुटबलको रियल म्याड्रिडको आफ्नै शैलीलाई निरन्तरता दियो । अनिल गुरुङलगायत स्टार खेलाडीहरूलाई समेटेर टिम बनायो । उसले अन्तिम खेलमा पुलिसलाई १–० ले हराएर विभागीय टिमको अपराजित यात्रालाई ४९ खेलमा पूर्णविराम लगाउँदै अंक बराबरी पनि गर्‍यो । तर, राम्रो गोल अन्तरको आधारमा पुलिसले २०६८ सालमा पनि उपाधि रक्षा गर्‍यो । त्यस बेला पनि मनाङको गोलपोस्ट विशालले नै सम्हाले । चोटको कारण कोइलापानी पोलस्टारविरुद्ध मात्र उनी मैदानमा उत्रिएका थिएनन् ।

पाँच फिट साढे नौ इन्च अग्ला विशाल परिपक्व गोलकिपरका रूपमा स्थापित भइरहेका थिए । ठीक त्यसै बेला उनको कुहिनामा चोट लाग्यो, आहा गोल्डकपताका । उनी खेलिरहे । अन्तत: शल्यक्रिया नै गर्नुपर्‍यो । उनी २०६९ लिगको अन्तिम खेलमा एनआरटीविरुद्ध दस मिनेटमात्र मैदानमा उत्रिए । त्यो उनको पुनरागमन थियो । बाँकी खेलमा मनाङको गोलपोस्ट अफ्रिकी गोलकिपर इम्यानुएलले सम्हालेका थिए । पुनरागमनपछि उनी फेरि मनाङको नम्बर १ गोलकिपर बने । त्यसका लागि कडा मिहिनेत गरेका उनलाई धेरै समय लागेन ।

स्टार खेलाडीहरूको ठूलै भीड बनाएको मनाङ २०७० सालको ए डिभिजन लिगमा च्याम्पियन नै बन्यो । उनले १७ खेलमध्ये १० खेलमा विपक्षीलाई गोल गर्न दिएनन् । १३ गोल बेहोरेका उनी लिगकै सर्वोत्कृष्ट गोलकिपर चुनिए । त्यसपछि फेरि एन्फामा नेतृत्व विवाद उत्कर्षमै पुग्यो । ठूलै उथलपुथल भयो । राजधानीको ए डिभिजन लिग पुन: सुचारु हुन पाँच वर्ष लाग्यो । यति पछि लिग हुँदा पनि मनाङ उपाधि रक्षा गर्न सफल भयो । यस बेला पनि मनाङको गोलपोस्ट उनै विशालले सम्हाले । र, उनले पनि उत्कृष्ट गोलकिपरको अवार्ड फेरि आफ्नै कब्जामा पारे ।

सबै खेल गाह्रो
च्याम्पियन यात्रा पहिला सजिलो कि अहिले ? ‘जुन पनि गाह्रो,’ उनी बोले, ‘खेल भनेको खेल नै हो, सबै उस्तै । जित्नका लागि खेल्नुपर्छ तर सधैं तीन अंक जोड्न गाह्रो हुन्छ ।’ यसपालि मनाङले दुई खेल अगावै कीर्तिमान आठौंपल्ट च्याम्पियन बन्ने पक्का गरेको थियो । उसले सबै खेल जितेर २०४३ र ०४४ को सफलताको समानतामा पुग्ने योजना बनाएको थियो । तर, प्रशिक्षकद्वय सुमन श्रेष्ठ र तोपे फुजाको टिमलाई अन्तिम खेलमा मंगलबार फ्रेन्ड्सले १–० ले स्तब्ध पारिदियो । ‘फ्रेन्ड््सलाई पराजित गर्नेमा विश्वस्त थियौं तर चार–पाँचपल्टका गोलका अवसर गुमाएपछि इतिहास बनाउन सकेनौं,’ २८ वर्षीय विशालले भने ।

भारतीय डिफेन्डर मुहम्मद आसिफ र फरवार्ड एडेलाजा सोमिडे बिनाको मनाङले तिहारअघि सिक्किममा गभर्नर्स गोल्डकपको उपाधि जितेको थियो । ‘हामी आफैंले सक्दोरहेछ भन्ने लाग्यो । टिमको आत्मविश्वास बढ्यो,’ विशालले भने, ‘सुरुआती खेलमै थ्रीस्टारलाई पराजित गर्दा धेरै सजिलो भयो, जुन हाम्रा लागि उपाधि होडमा निकै महत्त्वपूर्ण खेल थियो । हामीलाई भाग्यले पनि साथ दियो किनभने एकदमै सजिलो भनिएका खेलमा अन्त्यतिर गोल गर्दै जित हात पार्‍यौं ।’ पहिलो रोजाइका चार खेलाडी ओलवाले आफिज, कमल श्रेष्ठ, सुजल श्रेष्ठ, प्रकाश बुढाथोकी नहुँदै मनाङले चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध जित हात पारेको थियो ।

सबै खेलाडीले मिहिनेत गरेको उल्लेख गर्दै उनले अग्रपंक्ति (मिडफिल्ड र फरवार्ड) सबभन्दा बलियो भएको बताए । आफ्नै खेल पनि सुधारिएको महसुस गरेका छन् उनले । ‘मैले सक्दो राम्रो खेलें । राम्रै भयो पनि । सबैले मेरो खेल पहिलाभन्दा राम्रो भयो भनेर प्रशंसा गरे,’ इलामकी इलिशासँग विवाह गरेका विशालले भने, ‘थ्रीस्टारविरुद्ध मैले राम्रो खेलेजस्तो लाग्छ, जसले तीन अंक पाउन हामीलाई सजिलो बनायो ।’

लिगको महत्त्व
यसपालि ६ खेलमा विपक्षीलाई गोलविहीन रोकेका उनले १३ खेलमा सात गोल बेहोरे । आर्मीका विकेश कुथुलाई उछिन्दै उनी यो लिगको उत्कृष्ट गोलकिपर चुनिएका हुन् । गोल हुने अवस्थामा मात्र बल आउने भएकाले किपरको भूमिका नै गाह्रो हुने उनको अनुभव छ । ‘धेरैपछि लिग भएर पनि होला । धेरै किपर नयाँ आए । विकेश (कुथु), अजित (प्रजापति) लगायत सबैले राम्रो खेले । हामीसँग खेल्दा सबै किपरको प्रदर्शन राम्रो थियो । यो लिगको अनुभवले अर्को वर्षलाई राम्रो गर्नेछ,’ उनले भने, ‘बल्ल लिग सञ्चालन भयो । यो खेलाडीका लागि एकदमै राम्रो हो । केही नयाँ खेलाडी पनि आए । झन्डै चार सय खेलाडीले रोजगारी पाए । यो सकारात्मक कुरा हो । व्यवस्थित र लामो अवधिको लिग निरन्तर हुनुपर्छ ।’

लिग नभएको अवधिमा उनी कपनतिरै खेलिरहेका भेटिन्छन् । संकटा, जनजागृति युवा क्लब (सिमरा), साहरा (पोखरा), च्यासल र थ्रीस्टारबाट पनि नकआउट प्रतियोगिता खेलेका उनलाई तीन वर्षअघि घुँडामा पनि चोट लागेको थियो । त्यसको शल्यक्रिया गरे, ६ महिना आराम गरेपछि पुन: मैदानमा फर्किए । ‘सबै कठिनाइमा परिवारले साथ दिए । परिवारको साथबिना धेरै गर्न सकिँदैन,’ विशालले भने, ‘अचेल फुटसल र फुटबलमा अभिभावकले बच्चा लिएर आउँछन् । एकदमै खुसी लाग्छ । यसैगरी फुटबल संस्कृति बन्ने हो ।’

दशरथ रंगशाला र बाहिरका मैदानमा खेल्दा निकै फरक अनुभव गरेका विशाल राष्ट्रिय टिममा छनोट भएको सात वर्ष भइसक्यो । तर, उनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्ने अवसर पाएका छैनन् । ‘खेल्ने अवसरको प्रतीक्षा गरिरहेको छु । आशा छ, खेल्न पाउनेछु,’ एमबीएसको शोधपत्र तयार गर्ने क्रममा रहेका उनले बताए । नेपाली टिमको गोलपोस्ट सम्हाल्न भने उनले थप मिहिनेत गर्नुपर्नेछ ।
twitter: @rghising

प्रकाशित : पुस २७, २०७५ १०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्