१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तीन जिल्लाको काम एकै ठाम

रुकुम पश्चिम — चौरजहारीबाट तीन जिल्लाको काम हुने भएको छ । रुकुम पश्चिमसहित जाजरकोट र डोल्पा जिल्लामा पूर्वाधार मर्मत तथा निर्माणका काम गर्ने गरी चौरजहारीमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । 

कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत चौरजहारी नगरपालिका २, विजयश्वरीडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो । कार्यालयले तीन जिल्लाको सडक मर्मत, निर्माण तथा स्तरोन्नतिका साथै मोटरेबल पुल र झोलुङ्गे पुल निर्माणको कार्य गर्नेछ ।


कर्णाली प्रदेश सदस्य गोपाल शर्माले पूर्वाधार विकास कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै सांसद शर्माले पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै तीन जिल्लाको पूर्वाधार विकासले तीव्रता पाउने बताए । उनले बजेट कार्यान्वयन तथा विकासका लागि स्थानीयको सहयोग, निगरानी, कमी कमजोरीमाथि सल्लाह सुझाव दिनुपर्ने बताए । उनले संघबाट हुने भौतिक पूर्वाधारका काम पनि अब यही कार्यालयबाट सञ्चालन हुने बताए ।


प्रदेश रहने गरी चारवटा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार चौरजहारीमा पनि पूर्वाधार कार्यालय स्थापना गरिएको सिनियर डिभिजन इन्जिनियर कमलकुमार अधिकारीले बताए । उनका अनुसार सुर्खेत, जुम्ला र हुम्लामा पनि पूर्वाधार विकास कार्यालय स्थापना भइसकेका छन् ।


कार्यालय स्थापनासँगै पूर्वाधारको सर्वेक्षण, अनुगमन गरी डीपीआर तयारको कार्यलाई अगाडि बढाइने अधिकारीले बताए । ३ जिल्लाका सडक स्तरोन्नति पुल निर्माणलगायत ३१ योजनाका लागि चालु आर्थिक वर्षमा ४२ करोड बराबरको बजेट कार्यालयबाट परिचालन हुने उनले बताए ।


पूर्वाधार विकास कार्यालय चौरजहारीमा ४ जना इन्जिनियर र ६ जना सबइन्जिनियरको दरबन्दी रहेकामा हाल १ जना इन्जिनियर र ३ जना सबइन्जिनियर कार्यालयमा आइपुगेका छन् । प्रदेशका ४ ठाउँमा पूर्वाधार विकास कार्यालय स्थापना गरिए पनि कर्मचारी अभाव रहेको अधिकारीले बताए ।


अधिकारी आफूले सुर्खेत र रुकुम पश्चिम हेर्नुपर्ने जिम्मेवारी रहेको बताए । ‘सबै ठाउँमा बजेट तथा कार्यक्रम बनाइसकेको छ, तर पुग्दो हिसाबले कर्मचारी भने छैनौं,’ उनले भने, ‘जति कर्मचारी छन् त्यसले नै सबै कामकाजको व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौं ।’

प्रकाशित : पुस २८, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?