कोतगढीमा तोप पुनर्स्थापनाको माग

ज्योति कटुवाल

(दैलेख) — ऐतिहासिक कोतगढीमा तोप पुनर्स्थापना गर्न स्थानीयले माग गरेका छन् । नेपाली सेनाको स्वामित्वमा रहेको ऐतिहासिक कोतगढीमा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा स्थानीयले तोप पुनर्स्थापनाको माग गरेका हुन् ।

नेपाली सेनाको उत्तर(पश्चिम पृतना र इन्द्रदल गुल्मद्वारा आयोजित कार्यक्रममा कोतगढीको संरक्षण तथा सम्बद्र्धनमा जोड दिइयो । सदरमुकामस्थित गढीमा तोप पुनर्स्थापना भए आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने र गढीको महत्व बढ्ने स्थानीयको भनाइ छ । गढीमा ऐतिहासिक महत्वका ‘सुन्दरी’ र ‘अर्गा’ नामक दुई तोप थिए । केही वर्षअघि ज्वाला दल गण दैलेखबाट सुर्खेत सर्ने क्रममा तोप सुर्खेत स्थानान्तरण गरिएको थियो ।

गढीमा तोप रहँदासम्म दसैंलगायत महत्वपूर्ण चाडमा तोपको बढाई पछिमात्र पूजाआजा तथा टीका थाप्ने कामको सुरुआत हुन्थ्यो । नागरिक समाज अध्यक्ष खड्गबहादुर सिजातीले तोप पुनर्स्थापना गर्नसके मात्र गढीको पहिचान हुने जनाए । गढी क्षेत्रको ऐतिहासिक र मौलिक मर्मलाई सम्मान गर्दै जीर्णोद्वार गरिनुपर्ने उनको भनाइ छ ।

उत्तर-पश्चिम पृतनाका निमित्त पृतनापति अर्जुन श्रेष्ठले कोतगढी जुनसुकै निकायको स्वामित्वमा रहे पनि संरक्षण हुनुपर्ने बताए । सेनाले मात्रै रेखदेख गर्ने हो भने हप्ताको दुई दिन गेट खुलाउन सकिने उनले बताए ।

जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर थापाले कोतगढीको संरक्षण तथा संवर्द्धका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४५ लाख रुपैयाँ विनियोजन गरेको बताए । नारायण नगरपालिकाले विनियोजन गरेको १० लाख रुपैयाँले यसको गुरुयोजना निर्माण गर्नुपर्ने उनको भनाइ छ । नारायण नगरपालिका प्रमुख रत्नबहादुर खडाले कोतगढीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके नगरको आयमा वृद्धि हुने बताए ।

इन्द्र दल गुल्मका गुल्मपति सुनिलकुमार मल्लले कोतगढी नजिकै रहेको बारुदखानामा वृक्षारोपण गर्ने योजना रहेको जनाए ।

प्रकाशित : पुस २८, २०७५ १६:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कर्णाली प्रदेशले एक करोड तलका योजना नबनाउने

हरि गौतम

रुकुम पश्चिम — कर्णाली प्रदेशले एक करोडभन्दा तलका योजनाहरू नबनाउने भएको छ । प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले प्रदेश सरकारले अब करोड भन्दा तलका योजना नबन्ने बताएकी छन् ।


प्रदेशमा सम्पन्न गरिने योजना अब टुक्रे नभै ठुलो बजेटका ठुलै योजना बनाउने गरी छलफल अघि बढिरहेको उनले बताइन्। प्रेस सेन्टर र प्रेस चौतारी रुकुम पश्चिमले सदरमुकाम खलङ्गामा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले विकास निर्माणका कार्यलाई वर्गीकरण गरेर अघि बढ्ने बताइन्।

उनका अनुसार एक करोड देखि ५० करोडसम्मको योजनालाई साना, ५० करोडदेखि एक अर्ब सम्मको योजनालाई मझौला र एक अर्बदेखि माथि बजेटका योजनालाई ठुला योजनामा वर्गीकरण गरिने जनाइन्।
‘स-साना योजना र बजेटबाट खासै उपलब्धि देखिएन,’ मन्त्री केसीले भनिन्, ‘एक करोडसम्मको बजेट एउटा योजनामा राख्दा काम पनि देखिने विकास पनि हुने भएकाले यो अवधारणा अन्तर्गत काम गर्ने गरी छलफल चलिरहेको छ।’

प्रदेश सरकार यति बेला विनियोजित बजेट कार्यान्वन कसरी प्रभावकारी बनाउने भन्नेतर्फ केन्द्रित भइरहेको उनले जानकारी दिइन्। प्रदेशलाई समृद्ध बनाउने विषयमा सरकार लागि परेको भन्दै उनले आगामी वर्षको बजेट निर्माणका छलफल पनि सँगसँगै भइरहेको जानकारी दिइन्।

फरक प्रसङ्गमा प्रवक्ता केसीले धेरै कुराहरूमा सङ्घीय सरकारको सहयोग चाहिने अवस्था रहेको बताइन्। कतिपय कुराहरू प्रदेशको सृजनशीलतामा गर्न खोजिएपनि सम्भव नभएको बताइन्। प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्यान्वनको लागि जिल्लास्थित युनिट बनाइएको र त्यसकै माध्यमबाट काम हुने उनले जनाइन्।

प्रकाशित : पुस २८, २०७५ १६:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT