१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कोतगढीमा तोप पुनर्स्थापनाको माग

ज्योति कटुवाल

(दैलेख) — ऐतिहासिक कोतगढीमा तोप पुनर्स्थापना गर्न स्थानीयले माग गरेका छन् । नेपाली सेनाको स्वामित्वमा रहेको ऐतिहासिक कोतगढीमा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा स्थानीयले तोप पुनर्स्थापनाको माग गरेका हुन् ।

कोतगढीमा तोप पुनर्स्थापनाको माग

नेपाली सेनाको उत्तर(पश्चिम पृतना र इन्द्रदल गुल्मद्वारा आयोजित कार्यक्रममा कोतगढीको संरक्षण तथा सम्बद्र्धनमा जोड दिइयो । सदरमुकामस्थित गढीमा तोप पुनर्स्थापना भए आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने र गढीको महत्व बढ्ने स्थानीयको भनाइ छ । गढीमा ऐतिहासिक महत्वका ‘सुन्दरी’ र ‘अर्गा’ नामक दुई तोप थिए । केही वर्षअघि ज्वाला दल गण दैलेखबाट सुर्खेत सर्ने क्रममा तोप सुर्खेत स्थानान्तरण गरिएको थियो ।


गढीमा तोप रहँदासम्म दसैंलगायत महत्वपूर्ण चाडमा तोपको बढाई पछिमात्र पूजाआजा तथा टीका थाप्ने कामको सुरुआत हुन्थ्यो । नागरिक समाज अध्यक्ष खड्गबहादुर सिजातीले तोप पुनर्स्थापना गर्नसके मात्र गढीको पहिचान हुने जनाए । गढी क्षेत्रको ऐतिहासिक र मौलिक मर्मलाई सम्मान गर्दै जीर्णोद्वार गरिनुपर्ने उनको भनाइ छ ।


उत्तर-पश्चिम पृतनाका निमित्त पृतनापति अर्जुन श्रेष्ठले कोतगढी जुनसुकै निकायको स्वामित्वमा रहे पनि संरक्षण हुनुपर्ने बताए । सेनाले मात्रै रेखदेख गर्ने हो भने हप्ताको दुई दिन गेट खुलाउन सकिने उनले बताए ।


जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर थापाले कोतगढीको संरक्षण तथा संवर्द्धका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४५ लाख रुपैयाँ विनियोजन गरेको बताए । नारायण नगरपालिकाले विनियोजन गरेको १० लाख रुपैयाँले यसको गुरुयोजना निर्माण गर्नुपर्ने उनको भनाइ छ । नारायण नगरपालिका प्रमुख रत्नबहादुर खडाले कोतगढीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके नगरको आयमा वृद्धि हुने बताए ।


इन्द्र दल गुल्मका गुल्मपति सुनिलकुमार मल्लले कोतगढी नजिकै रहेको बारुदखानामा वृक्षारोपण गर्ने योजना रहेको जनाए ।

प्रकाशित : पुस २८, २०७५ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?