कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बन्ध्याकरण गर्दैनन् लामा समुदाय

राजबहादुर शाही

मुगु — मुगमकार्मारोङ गााउँपालिकाका पुरुष र महिला दुवैले बन्ध्याकरण गर्न नमान्दा परिवार नियोजन कार्यक्रम प्रभावित भएको छ । गाउँपालिकाको आठवटै वडामा लामा जातिको बसोबास छ ।

स्थायी बन्ध्याकरण गर्न नमान्ने लामा जातिले अस्थायी साधनसमेत प्रयोग गर्दैनन्, जसका कारण गाउँपालिकामा जनसंख्या वृद्धि धेरै छ ।


पुवा गाउँका ६५ वर्षीय आङडाकछिरिङ लामाले परिवार नियोजन गर्दा कुलदेवता रिसाउने सोचाइ कायमै रहेको बताए । ‘कुलदेवता रिसाउने डर सबैमा छ, त्यसैले लामा जातिले स्थायी बन्ध्याकरण गर्दैनौं,’ उनले भने, ‘स्थायी परिवार नियोजन गरेको व्यक्तिबाट भएको पूजाबाट भगवान् बुद्घ खुसी नहुने मान्यता छ ।’


महिलाका लागि अनेकौं परिवार नियोजनको अस्थायी साधन भए पनि स्थानीय महिलाले प्रयोग गर्न नमान्ने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । न्यून महिलाले मात्र डिपो सुई प्रयोग गर्ने गरेका छन् । कार्मारोङ ८, माग्री गााउँकी स्वास्थ्य स्वयंसेविका छिरिङ छेजोम लामाले पुरुषले घरबाहिर गएर व्यापार गर्नुपर्ने र वर्षभरि भारी बोकेर परिवार पाल्नुपर्ने बाध्यताले परिवार नियोजन गर्न नमान्ने गरेको बताइन् ।


‘अधिकांश पुरुषमा परिवार नियोजन गरे शारीरिक रूपमा कमजोर भइने गलत सोच छ,’ उनले भनिन्, ‘महिलाले पनि घाँस–दाउरा गर्नुपर्ने भएकाले कमजोरीको डरले स्थायी साधन प्रयोग गर्न मान्ने गरेका छैनन् । उनका अनुसार वर्षौंदेखि गलत धारणाको विकास भएकाले कसैले आफ्नो कुरा सुन्दैनन् । उनले परिवार नियोजनबारे समयसमयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि बेवास्ता भइरहेको बताइन् ।


स्वास्थ्य चौकी, माग्रीकी निमित्त प्रमुख गोइली खत्रीले गााउँपालिकाभरि स्थायी बन्ध्याकरण गरेकोबारे आफूले थाहा नपाएको बताइन् । अस्थायी परिवार नियोजनका साधनमध्ये केही महिलाले तीनमहिने संगिनी सुई लगाउने गरेको उनको भनाइ छ । उनका अनुसार महिनामा औसत १० जना महिला डिपो सुई लगाउन आउने गरेका छन् । अहिले स्वास्थ्य चौकीमा डिपो सुईको अभाव भएकाले महिलाले मेडिकलमा गई सुई लगाउने गरेको बताइन् ।


स्वास्थ्य चौकीमा अभाव भएपछि स्थानीय मेडिकलमा एक सय रुपैयाँ तिरेर महिलाले सुई लगाउने गरेको उनको भनाइ छ । डिपो सुई र अन्य औषधिको माग गरे पनि स्वास्थ्य कार्यालयले बेवास्ता गरेको उनले बताइन् । गाउँपालिकाले समेत औषधि खरिदमा बेवास्ता गरेका कारण समस्या भएको उनले गुनासो गरिन् ।


उनका अनुसार परिवार नियोजनका अस्थायी साधनबारे बेला बेलामा कुरा उठाउँदा महिला र पुरुष दुवैले लाज मान्ने गरेका छन् । पुरुषले कन्डम प्रयोग गर्न असहज मान्ने गरेकाले परिवार नियोजन कार्यक्रम प्रभावकारी नभएको उनले बताइन् । नरप्लान्ट र कपर टी राख्न महिलाले असजिलो महसुस गर्ने गरेको उनले जानकारी दिइन् ।


गााउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सिंगमल बुढाले स्थानीयले परिवार नियोजनका साधन प्रयोग नगर्ने गरेकाले स्वास्थ्य चौकीबाट माग नै नआउने गरेको बताए । ‘स्थायी परिवार नियोजन गर्न कसैले मान्दैनन्,’ उनले भने, ‘पुरुषले झन् अस्थायी साधनसमेत प्रयोग गर्दैनन्, महिलामा डिपो सुईको प्रयोग पछिल्लो समय बढ्दै गएको छ ।’ मुगुमकार्मारोङ गाउँपालिकामा पाँच स्वास्थ्य चौकी, दुई सामुदायिक स्वास्थ्य एकाइ र तीन बर्थिङ सेन्टर छन् ।

प्रकाशित : पुस २९, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?