पुल निर्माणको काम रोकियो

विप्लव महर्जन

सल्यान — सल्लीबजार–चौरजहारी सडक खण्डको नाथेखोलामा निर्माणाधीन पक्की पुल अलपत्र परेको छ । पुल निर्माणका क्रममा स्थानीयले क्षति भएको जग्गाको मुआव्जा मागेपछि ठेकेदारले पुल निर्माणको काम छाडेका छन् । लामो समयपछि ठेकेदारले काम सुरु गरे पनि पुन: जग्गा विवादका कारण रोकिएको छ । 

पुल निर्माणको काम रोकियो

पुल निर्माणका क्रममा आफ्नो खेतीयोग्य जग्गामा क्षति पुगेको भन्दै स्थानीय लक्ष्मी कामीले क्षतिपूर्ति माग गरेकी छन् । दुई वर्षअघि हरिहरि/ गजुरमुखी निर्माण सेवाले सडक डिभिजन कार्यालय, दाङमार्फत पुल निर्माणको जिम्मा लिएको थियो ।


२०७४ पुस मसान्तभित्र काम सक्नेगरी ठेकेदार कम्पनीले चार करोड ७५ लाख रुपैयाँमा पुल निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । ४० मिटर लम्बाइको पुल निर्माणको काम ढिलो सुरु गरेको ठेकेदार कम्पनीले बीचैमा काम रोकेपछि अलपत्र भएको हो । ठेकेदार कम्पनीले जग्गा विवाद भएको भन्दै एक वर्ष म्याद थपेको छ ।


स्थानीय लक्ष्मी कामीले पटकपटक जग्गाको मुआब्जा मागेपछि काम गर्न छोडेको ठेकेदार कम्पनीका प्रतिनिधिले दाबी गरेका छन् । स्थानीयले भने ठेकेदार कम्पनीले जग्गा विवादको निहुँमा निर्माणको काम अलपत्र पारेको जनाएका छन् । ठेकेदारले आफूले काममा लगाएका मजदुरलाई फिर्ता बोलाइसकेको स्थानीय कर्णबहादुर खड्काले बताए ।


ठेकेदारले मजदुर फर्काउँदा पुलको काम थप अन्योलमा परेको उनको भनाइ छ । उनका अनुसार समयमै पुलको काम सम्पन्न नहुँदा वर्षातको समयमा सल्लीबजार–चौरजहारी आउजाउ गर्ने गाडी प्रभावित हुने गरेका छन् । पुल समयमै नबन्दा यात्रुले वर्षौंदेखि सास्ती भोग्दै आइरहेका छन् ।


स्थानीय देवबहादुर बिष्टले ठेकेदारले जग्गा विवादको बहाना भन्दै कामप्रति ढिलासुस्ती गरेको बताए । ‘जग्गाको विवाद भन्दै पहिले झन्डै १० महिनासम्म कुनै काम गरेनन्, धेरै दबाबपछि मात्र काम सुरु गरे,’ उनले भने, ‘अहिले जग्गा विवादको कारण देखाउँदै कामबाट पन्छिएका छन् ।’ उनले एक जना जग्गाधनीलाई मुआब्जा दिन ठेकेदार कम्पनीलाई खासै समस्या नभएको दाबी गरे । ठेकेदार आफैंले पनि यो समस्या समाधान गर्न सक्ने उनको भनाइ छ ।


बन्गाडकुपिण्डे नगरपालिकाभित्र पर्ने पक्की पुल छिटो निर्माण गर्न नगर प्रमुख र अन्य जनप्रतिनिधिको ध्यानाकर्षण गराएको स्थानीयवासीको भनाइ छ । तर, बेवास्ता भएको स्थानीयको गुनासो छ । स्थानीय धनबहादुर सुनारले सम्पन्न हुने मिति एक वर्ष बिते पनि काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले स्थानीय अवस्था नै नबुझी सडक डिभिजनका कर्मचारीले म्याद थप्नु गैरजिम्मेवारी रहेको जनाए ।


ठेकेदार हरिबहादुर रावतले पुलको काम अन्तिम चरणमा पुगिसकेको दाबी गरेका छन् । जग्गाको मुआब्जा मागेपछि केही काम बाँकी रहेको उनले बताए । विवाद सुल्झाउन स्थानीय बासिन्दाले सहयोग नगरेको उनले आरोप लगाए । उनले पटकपटक सहमतिको प्रयास गरे पनि स्थानीयवासीले साथ नदिएको बताए । विवाद समाधान भए एक/दुई महिनाभित्रै पुल निर्माणको काम सकिने उनको भनाइ छ ।

प्रकाशित : पुस २९, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?