गढी पुन:स्थापना माग

सेनाको स्वामित्वमा रहेको कोतगढीको मुख्य ढोका बन्द हुँदा पर्यटक अवलोकनबाट वञ्चित

दैलेख — ऐतिहासिक कोतगढीमा तोप पुन:स्थापना गर्न स्थानीयले माग गरेका छन् । सदरमुकामस्थित गढीमा तोपको पुन:स्थापना हुन सके आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयको भनाइ छ ।

गढीमा ऐतिहासिक महत्त्वका ‘सुन्दरी’ र ‘अर्गा’ नामक दुई तोप थिए । केही वर्षअघि ज्वाला दल गण दैलेखबाट सुर्खेत सरी जाने क्रममा तोप सुर्खेत स्थान्तरण गरिएको थियो । तोप पुन:स्थापना हुन सके गढीको ऐतिहासिक महत्त्व बढ्ने स्थानीयको भनाइ छ ।


सेनाको स्वामित्वमा रहेको ऐतिहासिक कोतगढीमा आयोजना गरिएको कार्यक्रममा स्थानीयले तोप पुन:स्थापनाको माग गरेका हुन् । सेनाको उत्तर–पश्चिम पृतना र इन्द्रदल गुल्मद्वारा आयोजित कार्यक्रममा कोतगढीको संरक्षण तथा संवद्र्धनमा जोड दिइयो ।


गढीमा तोप रहँदासम्म दसैंलगायत महत्त्वपूर्ण चाडपर्वमा तोपको बढाइ पछि मात्र पूजाआजा तथा टीका थाप्ने कामको सुरुआत हुन्थ्यो । नागरिक समाजका अध्यक्ष खड्गबहादुर सिजातीले तोप पुन:स्थापना गर्न सके मात्र गढीको पहिचान हुने जनाए । ‘सुरक्षा तथा संरक्षणसहित कोतगढी सातै दिन खुलाउन आवश्यक छ,’ उनले भने, ‘सेनाको स्वामित्वमा रहेको गढीको गेट बन्द हुँदा पर्यटक कोतगढीको अबलोकनबाट वञ्चित भएका छन् ।’ गढी क्षेत्रको ऐतिहासिक र मौलिक मर्मलाई सम्मान गर्दै जीर्णोद्वार गरिनुपर्ने उनको भनाइ छ ।


जानकारसँगको समन्वयमा गढीमा रहेका पुराना तीन भवन पुनर्निमाण र कोत गढीबाट रानीधारासम्म जाने पदमार्ग स्थापना गरिनुपर्ने स्थानीयको माग छ । उत्तरपश्चिम पृतनाका निमित्त पृतनापति अर्जुन श्रेष्ठले कोतगढी जुनसुकै निकायको स्वामित्वमा रहे पनि संरक्षण हुनुपर्ने बताए । नेपाली सेनाले मात्रै रेखदेख गर्ने हो भने हप्ताको दुई दिन गेट खुलाउन सकिने बताए ।


जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले कोतगढीको संरक्षण तथा संवद्र्धनका लागि प्रदेश सरकारले चालु आवमा ४५ लाख रुपैयाँ विनियोजन गरेको बताए । नारायण नगरपालिकाले विनियोजन गरेको १० लाख रुपैयाँले यसको गुरुयोजना निर्माण गर्नुपर्ने उनको भनाइ छ । प्रदेश सरकारबाट प्राप्त हुने रकमले जीर्णोद्वार गर्न जरुरी रहेको उनले जनाए ।


नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले कोतगढी कोतगढीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके नगरको आन्तरिक आयमा वृद्धि हुने बताए । इन्द्र दल गुल्मका गुल्मपति सुनिलकुमार मल्लले कोतगढी नजिकै रहेको बारुदखानामा वृक्षारोपण गर्ने योजना रहेको जनाए । उत्तरपश्चिम पृतनाका प्रमुख सेनानी रामबहादुर थापाले ऐतिहासिक सम्पदा संरक्षण र प्रवद्र्धनका लागि कानुन बाधक नहुने बताए ।

प्रकाशित : पुस ३०, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?