स्थानीय तहमा प्रयोगशाला

प्रयोगशाला सञ्चालनका लागि आधारभूत ज्ञान र सामग्री प्रदान
हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट र मुसीकोट नगरपालिका, बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकामा स्वास्थ्य जाँच गराउन तथा रोग पत्ता लगाउन प्रयोगशाला (ल्याब) स्थापना गरिएको छ । जिल्लाका पाँच स्थानीय तहमा प्रयोगशाला स्थापना गरिएको हो । 

चौरजहारी नगरपालिकाले प्रयोगशाला स्थापनाको तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । आठबीसकोट नगरपालिकाले ९ नम्बर वडाको राडी र मुसीकोट नगरपालिकाले ७ नम्बर वडाको झुल्खेतमा प्रयोगशाला सञ्चालनमा ल्याएका छन् ।


बाँफिकोट गाउँपालिकाले ४ नम्बर वडाको छिन्खेत, सानीभेरी गाउँपालिकाले ९ नम्बर वडाको सिम्ली र त्रिवेणी गाउँपालिकाले ३ नम्बर वडाको खरानेटामा प्रयोगशाला स्थापना गरेका छन् । चौरजहारी नगरपालिकाले ११ नम्बर वडामा प्रयोगशाला स्थापना गर्ने तयारी गरेको छ । त्यसका लागि भवन निर्माणको काम अन्तिम चरणमा पुगेको नगर प्रमुख विशाल शर्माले बताए ।


स्थानीय सरकारले अघिल्लो आर्थिक वर्षमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेका थिए । केही स्थानीय सरकारले अघिल्लो आर्थिक वर्षमै प्रयोगाशला स्थापना गरेका हुन् भने केही चालु आर्थिक वर्षमा गरेका हुन् । प्रयोगशाला स्थापनाका लागि मुसीकोट नगरपालिका बाहेक अन्य स्थानीय तहले १५/१५ लाख रुपैयाँ विनियोजन गरेका थिए ।


मुसीकोट नगरपालिकाले दुई ठाउँमा प्रयोगशाला स्थापना गर्ने भन्दै ३० लाख रुपैयाँ विनियोजन गरेको थियो । मुसीकोट नगरपालिकामा अर्को एउटा प्रयोगशाला स्थापना गर्न बाँकी छ । ‘प्रयोगशाला स्थापना टेलिमेडिसिन सेवा सञ्चालनको सुरुवात हो,’ मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले भने, ‘नगरपालिकाले टेलिमेडिसिन सेवा सञ्चालन गरेर बिरामीको उपचारलाई सहज बनाउन कोसिस गरिरहेको छ ।’


टेलिमेडिसिन सेवाको आधारभूत कामअन्तर्गत प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख गौतमको भनाइ छ । अर्को प्रयोगशाला पनि यसै वर्ष सञ्चालन गर्ने गरी तयारी भइरहेको उनले जानकारी दिए ।


जिल्लाका ६ वटै स्थानीय तहमा एउट/एउटा र मुसीकोट नगरपालिकाको थप एक ठाउँमा टेलिमेडिसिन केन्द्र स्थापना गरी सेवा प्रवाह गर्न यसअघि नै आधारभूत जनशक्ति तयार पारिएको छ । प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको पहलमा मुसीकोट नगरपालिकाका दुई र अन्य स्थानीय तहका १/१ जना ल्याब टेक्निसिएनलाई थप तालिम दिइएको छ ।


गत चैत महिनामा काठमाडौंमा उनीहरूलाई एक महिनाको लामो तालिम दिइएको थियो । प्रयोगशाला मात्र नभएर टेलिमेडिसिन सेवा नै सञ्चालन गर्ने उद्देश्य रहेकाले प्रयोगशाला प्राविधिकहरूलाई थप तालिम दिइएको शर्माले बताए । जनताको मौलिक हक स्वास्थ्य सेवाबाट कोही पनि बन्चित नहून् भन्ने उद्देश्यसहित ६ वटै स्थानीय तहमा प्रयोगशाला स्थापना गरी टेलिमेडिसिन सेवा सुरु गर्न लागिएको भनाइ शर्माको छ ।


तालिमका सहभागीलाई प्रयोगशाला सञ्चालनका लागि आधारभूत ज्ञान र सामग्री प्रदान गरिएको थियो । टेलिमिडिसिन सेवाका लागि सुरुमा बिरामीको रगत, खकार, दिसा, पिसाब लगायतका प्रयोगशालाबाट दिइने सम्पूर्ण सेवा र त्यसको रिपोर्ट सम्बन्धित विशेषज्ञ डाक्टरकोमा पठाएर उपचार गरिनेछ । प्रयोगशालासहित टेलिमेडिसिन सेवा सुरु भएसँगै सर्वसाधारणले विशेषज्ञ डाक्टरसँग सोझै उपचार गराउन पाउनेछन् ।


प्रयोगशाला सुरु गरिसकेका स्थानीय तहले टेलिमेडिसिन सेवा प्रवाहको तयारी समेत थालेका छन् । प्रयोगशालामा आएको रिपोर्टको आधारमा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले उपचार गर्न सक्ने अवस्था नभए डाक्टरसम्म पुर्‍याएर त्यसको निदान खोजिने जनाइएको छ । टेलिमेडिसिन सेवाका लागि प्रयोगशाला स्थापनापछिका थप काम भइरहेको स्थानीय तहहरूले जनाएका छन् ।

प्रकाशित : माघ १, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?