१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दृष्टिविहीन हजुरआमा स्याहार्दै नाबालक

भीमबहादुर सिंह

जाजरकोट — अधिकांश बालबालिका अभिभावकको संरक्षणमा हुन्छन् । उनीहरूलाई अभिभावकको संरक्षकत्वमा हुर्कने र वृद्धि विकास गर्न पाउने मौलिक अधिकार पनि छ ।

दृष्टिविहीन हजुरआमा स्याहार्दै नाबालक

तर, बारेकोट गाउँपालिका–९, सक्ला खारीगाउँका दुई नाबालकलाई वृद्ध हजुरआमाको अभिभावक बन्नुपर्ने बाध्यता छ । अभिभावकको मृत्यु भएपछि उनीहरू दृष्टिविहीन हजुरआमाको सहारा बनेका हुन् ।


बारेकोट–९, खारीगाउँका १२ वर्षीय कमल खड्का र ८ वर्षीय हरिश खड्का दाजुभाइ हुन् । उनीहरू टुहुरा हुन् । कमल ६ कक्षा र हरिश २ कक्षामा पढ्दै थिए । गत वर्ष आमा देवी र मंसिरमा बाबु रणबहादुरको मृत्यु भएपछि उनीहरू दुवै टुहुरा बनेका हुन् ।


बाबुआमाको मृत्युपछि कमल र हरिशको पढाइ पनि अलपत्र परेको छ । घरपरिवारमा सहारा दिने कोही नभएपछि अहिले कमल र हरिश गोठाला बन्न बाध्य छन् । त्यसैमा उनीहरूको अर्को बोझ थपिएको छ– आँखा नदेख्ने ७५ वर्षीय हजुरआमाको स्याहारसुसार ।

उनीहरू पढ्न, लेख्न, बुद्धि विकास, सुरक्षा, स्वास्थ्य उपचार लगायत हक अधिकारबाट बन्चित छन् ।


दृष्टिविहीन हजुरआमाको स्याहारसुसार गर्ने जिम्मेवारी बहन गर्दै आएका छन् । आमाबुवाको मृत्युपछि घरव्यवहार धान्ने र हजुरआमाको स्याहारसुसार तथा हेरचाह गर्ने कोही नहुँदा पढाइबाट बन्चित भएको कमलले बताए । ‘हजुरआमा विल्कुल आँखा देख्नुहुन्न । उहाँलाई बोकेर भित्र बाहिर गर्नुपर्छ,’ उनले भने, ‘हात धुने र खाना खुवाइदिने गर्नुपर्छ ।’ हजुरआमाको हेरचाह र गाईबस्तुको गोठाला गर्दैमा हैरान भएको उनले बताए ।


विगतमा एकैसाथ पढ्न जाने गरेका साथीहरू लाइन लागेर विद्यालय गएको देख्दा मन खिन्न हुने गरेको दाजुभाइको गुनासो छ । ‘माध्यमिक स्तरको पढाइ पूरा गर्ने सोच थियो,’ उनले भने, ‘त्यो पनि पूरा नहुने भयो ।’ सानो भाइलाई हजुरआमाको हेरचाह गर्न भन्दै आफू विगतमा बुवाआमाले पाल्दै आएका पाँच वटा गाईको गोठाला लाग्न जाने गरेको उनले बताए ।


भाइ र आफूलाई स्कुल गएर पढ्ने खर्च जुटाउन कठिन भएको उनको भनाइ छ । घरमा आँखा नदेख्ने वृद्ध हजुरआमा बाहेक अरू अभिभावक नहँुदा समस्या भएको उनले जनाए । बाल्यकालमै आमाबावु गुमाएका कमल र हरिश दृष्टिविहीन हजुरआमाको जीवन सहारा बनेको स्थानीय प्रेम गौतमले बताए । पढाइबाट बन्चित हुँदा विपन्न परिवारका कमल र हरिशको भविष्य अन्योलपूर्ण भएको गौतमको भनाइ छ ।

प्रकाशित : माघ १, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?