१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

वडा कार्यालयमा न्यून साधन स्रोत

हुम्ला/वीरेन्द्रनगर — वडा कार्यालय जनताका लागि सबैभन्दा नजिकको ‘सिंहदरबार’ हो । संघीयताले जनताको कामको सबैभन्दा बढी चाप वडामा थोपरेको छ । तर, वडातह स्रोतसाधन, संरचना र जनशक्ति अभावमा थला परेका छन् । सानो काँधमा जिम्मेवारीको ठूलो जिम्मेवारी बोक्न उनीहरूलाई हम्मे भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिका ९ का वडाध्यक्ष सुरेश मानन्धर स्थानीय सरकारसँग जनताको अपेक्षा धेरै रहेको तर सबैभन्दा तल्लो तहमै समस्या हुँदा गलत सन्देश प्रवाह भइरहेको बताउँछन् । ‘जनताको माग काम छिटो गर्नुपर्ने हुन्छ, हामीसँग भने त्यसका लागि

पर्याप्त स्रोतसाधन, संरचना छैन,’ उनले भने, ‘यसले गर्दा दैनिकजसो जनताको गुनसो सुनिरहनुपरेको छ ।’


वडा नं. ९ सुर्खेत उपत्यकाको कृषि उत्पादन राम्रो हुने वडामा पर्छ । यसले गर्दा त्यहाँ कृषि प्राविधिकको जरुरी छ । यसका साथै जग्गा किचलोका घटना पनि अधिक आउँछन् । ‘यस्तोमा एक जना अमिन भइदिए वडाले छरितो सेवा प्रदान गर्न सक्थ्यो,’ वडाध्यक्ष मानन्धर भन्छन्, ‘तर, हामीसँग जनशक्ति नहुँदा सानो कामको लागि नगरपालिका कार्यालयको मुख ताक्नुपर्छ ।’


उपत्यकाबाहिरका स्थानीय तहका वडामा यस्तो समस्या अझ बढी बल्झिएको छ । यसको प्रभाव स्थानीय तहले बनाएको योजना कार्यान्वयनमा परिरहेको छ । बराहताल गाउँपालिकाले वडा नंं ८ लाई कृषि तथा पशुपालनको लागि पकेट वडा घोषणा गरेको छ । तर, त्यहाँ कृषि प्राविधिक (कृषि र भेटेनरी जेटीए) छैनन् । वडाध्यक्ष मणिराज कार्की प्राविधिक कर्मचारी अभावमा बजेट भएर पनि काम गर्न नसकिएको बताउँछन् । ‘जनतालाई राम्रो परिणामको अनुभूति गराउने काम वडामै छन्,’ उनी भन्छन्, ‘तर यहाँ न त जनशक्ति छ, न त स्रोत साधन नै ।’


जन्मदर्ता होस् वा नागरिकताको लागि सिफारिस । घरजग्गाको तिरो तिर्न होस् वा जग्गा नापजाँच गर्ने काम । यी सबै कार्यसम्पादन वडाबाटै हुन्छन् । वडाबाट आर्थिक, प्रशासनिक, पूर्वाधार विकासका काम पनि हुन्छन् । भेरीगंगा नगरपालिकाको ४ नम्बर वडा कार्यालय एकजना सचिवको भरमा चलिरहेको छ । उनलाई कार्यालय सहयोगीले प्रशासनिक काममा सघाउँछन् ।


‘यस्तो अवस्थामा एउटा वडाले जनताका यति धेरै काम कसरी गर्न सक्छ ?’ वडा सदस्य रेशमबहादुर पुनमगर भन्छन्, ‘कहिलेकाहीँ त हामी जनप्रतिनिधिले नै कर्मचारीको काम गर्नुपर्छ ।’ प्राविधिक र प्रशासनिक कर्मचारी नहुँदा विकास निर्माणको निगरानी गर्नसमेत समस्या भइरहेको उनले बताए ।

वडासचिव छैनन्सातवटा स्थानीय तह रहेको हुम्लामा पर्याप्त वडासचिवसमेत छैनन् । एउटै सचिवले धेरै वडाको काम गर्नुपरेको छ ।


सिमकोट गाउँपालिकाका ८ वडालाई एक जना सचिवले हेरिरहेका छन् । एउटै कार्यालयबाट सबै वडाको काम हुन्छ । ‘हामीले वडाबाट सिफारिसको काममात्र गरिरहेका छौं,’ वडासचिव धर्मराज रोकायाले भने, ‘वडालाई कुनै आर्थिक अधिकार नभएकोले खासै समस्या छैन ।’ सामाजिक सुरक्षा भत्ता वितरणको काम सहायक कर्मचारीबाट गरिरहेको उनले बताए ।


अन्य गाउँपालिकाका वडामा पनि सचिवको अभाव छ । ६ वडा रहेको नाम्खा गाउँपालिका र ५ वडा भएको ताजाकोट गाउँपालिकामा दुई/दुई सचिव छन् । ५ वडा रहेको खार्पुनाथमा एक जना सचिव छन् । जिल्लाका कुल ४४ वडामध्ये अधिकांशमा सचिव छैनन् । जिल्लाका सातवटा स्थानीय तहमा पर्याप्त प्राविधिक कर्मचारी छैनन् । यस्तो अवस्थामा वडा तहमा कर्मचारी पुग्ने कुरै भएन ।

वडासचिव मात्र होइन, विकास निर्माणसँग सम्बन्धित कर्मचारी अभावले स्थानीय तहको काम प्रभावित भइरहेको छ । ‘बजेटअनुसार काम गर्ने/गराउने कर्मचारी छैनन्, अनि कसरी विकास हुन्छ ?’ ताजाकोट गाउँपालिका अध्यक्ष बागदल मल्लले भने, ‘यसले गर्दा जनताको गुनासो सुनिरहनु परेको छ ।’


ताजाकोटमा कृषि र भेटेनरीका दुई/दुईजना करार सेवाका कर्मचारी छन् । उनीहरूको पनि खासै जिम्मेवारी तोकिएको छैन । महिला विकाससम्बन्धी कामका लागि प्रदेश सरकारले बजेट पठाए पनि कर्मचारी पठाएको छैन । न त काम गर्ने अख्तियारी नै दिइएको छ । यसले गर्दा काममा झन् जटिलता देखिएको उनले बताए ।


घुमफिरमा जनप्रतिनिधि

सिमकोट र नाम्खा गाउँपालिकाले वडाध्यक्षलगायत त्यहाँ कार्यरत कर्मचारीलाई विकासको नमुना देखाउने भन्दै लाखांै रुपैयाँ खर्चेर देशदर्शनमा लगेको छ । अहिले दुईटै गाउँपालिकाका कार्यालय सुनसान छन् । एकजना सहयोगी कर्मचारीले कार्यालय खोल्ने र बन्द गर्ने गर्छन् । सिमकोट गाउँपालिकाले अघिल्लो वर्ष ज्याकेट बाँडेर चर्चा कमाएको थियो । यस वर्ष जनप्रतिनिधि र कर्मचारीलाई ‘देशदर्शन’ गराएर थप चर्चा बटुलेको छ ।

प्रकाशित : माघ २, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?