वडा कार्यालयमा न्यून साधन स्रोत

जयबहादुर रोकाया, करिश्मा चौधरी

हुम्ला/वीरेन्द्रनगर — वडा कार्यालय जनताका लागि सबैभन्दा नजिकको ‘सिंहदरबार’ हो । संघीयताले जनताको कामको सबैभन्दा बढी चाप वडामा थोपरेको छ । तर, वडातह स्रोतसाधन, संरचना र जनशक्ति अभावमा थला परेका छन् । सानो काँधमा जिम्मेवारीको ठूलो जिम्मेवारी बोक्न उनीहरूलाई हम्मे भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिका ९ का वडाध्यक्ष सुरेश मानन्धर स्थानीय सरकारसँग जनताको अपेक्षा धेरै रहेको तर सबैभन्दा तल्लो तहमै समस्या हुँदा गलत सन्देश प्रवाह भइरहेको बताउँछन् । ‘जनताको माग काम छिटो गर्नुपर्ने हुन्छ, हामीसँग भने त्यसका लागि
पर्याप्त स्रोतसाधन, संरचनाछैन,’ उनले भने, ‘यसले गर्दा दैनिकजसो जनताको गुनसो सुनिरहनुपरेको छ ।’

वडा नं. ९ सुर्खेत उपत्यकाको कृषि उत्पादन राम्रो हुने वडामा पर्छ । यसले गर्दा त्यहाँ कृषि प्राविधिकको जरुरी छ । यसका साथै जग्गा किचलोका घटना पनि अधिक आउँछन् । ‘यस्तोमा एक जना अमिन भइदिए वडाले छरितो सेवा प्रदान गर्न सक्थ्यो,’ वडाध्यक्ष मानन्धर भन्छन्, ‘तर, हामीसँग जनशक्ति नहुँदा सानो कामको लागि नगरपालिका कार्यालयकोमुख ताक्नुपर्छ ।’

उपत्यकाबाहिरका स्थानीय तहका वडामा यस्तो समस्या अझ बढी बल्झिएको छ । यसको प्रभाव स्थानीय तहले बनाएको योजना कार्यान्वयनमा परिरहेको छ । बराहताल गाउँपालिकाले वडा नंं ८ लाई कृषि तथा पशुपालनको लागि पकेट वडा घोषणा गरेको छ । तर, त्यहाँ कृषि प्राविधिक (कृषि र भेटेनरी जेटीए) छैनन् । वडाध्यक्ष मणिराज कार्की प्राविधिक कर्मचारी अभावमा बजेट भएर पनि काम गर्न नसकिएको बताउँछन् । ‘जनतालाई राम्रो परिणामको अनुभूति गराउने काम वडामै छन्,’ उनी भन्छन्, ‘तर यहाँ न त जनशक्ति छ, न त स्रोत साधन नै ।’

जन्मदर्ता होस् वा नागरिकताको लागि सिफारिस । घरजग्गाको तिरो तिर्न होस् वा जग्गा नापजाँच गर्ने काम । यी सबै कार्यसम्पादन वडाबाटै हुन्छन् । वडाबाट आर्थिक, प्रशासनिक, पूर्वाधार विकासका काम पनि हुन्छन् । भेरीगंगा नगरपालिकाको ४ नम्बर वडा कार्यालय एकजना सचिवकोभरमा चलिरहेको छ । उनलाई कार्यालय सहयोगीले प्रशासनिक काममा सघाउँछन् ।

‘यस्तो अवस्थामा एउटा वडाले जनताका यति धेरै काम कसरी गर्न सक्छ ?’ वडा सदस्य रेशमबहादुर पुनमगरभन्छन्, ‘कहिलेकाहीँ त हामी जनप्रतिनिधिले नै कर्मचारीको काम गर्नुपर्छ ।’ प्राविधिक र प्रशासनिक कर्मचारी नहुँदा विकास निर्माणको निगरानी गर्नसमेत समस्या भइरहेको उनले बताए ।
वडासचिव छैनन्सातवटा स्थानीय तह रहेको हुम्लामा पर्याप्त वडासचिवसमेत छैनन् । एउटै सचिवले धेरै वडाको काम गर्नुपरेको छ ।

सिमकोट गाउँपालिकाका ८ वडालाई एक जना सचिवले हेरिरहेका छन् । एउटै कार्यालयबाट सबै वडाको काम हुन्छ । ‘हामीले वडाबाट सिफारिसको काममात्र गरिरहेका छौं,’ वडासचिव धर्मराज रोकायाले भने, ‘वडालाई कुनै आर्थिक अधिकार नभएकोले खासै समस्या छैन ।’ सामाजिक सुरक्षा भत्ता वितरणको काम सहायक कर्मचारीबाट गरिरहेकोउनले बताए ।

अन्य गाउँपालिकाका वडामा पनि सचिवको अभाव छ । ६ वडा रहेको नाम्खा गाउँपालिका र ५ वडा भएको ताजाकोट गाउँपालिकामा दुई/दुई सचिव छन् । ५ वडा रहेको खार्पुनाथमा एक जना सचिव छन् । जिल्लाका कुल ४४ वडामध्ये अधिकांशमा सचिव छैनन् । जिल्लाका सातवटा स्थानीय तहमा पर्याप्त प्राविधिक कर्मचारी छैनन् । यस्तो अवस्थामा वडा तहमा कर्मचारी पुग्ने कुरै भएन ।
वडासचिव मात्र होइन, विकास निर्माणसँग सम्बन्धित कर्मचारी अभावले स्थानीय तहको काम प्रभावित भइरहेको छ । ‘बजेटअनुसार काम गर्ने/गराउने कर्मचारी छैनन्, अनि कसरी विकास हुन्छ ?’ ताजाकोट गाउँपालिका अध्यक्ष बागदल मल्लले भने, ‘यसले गर्दा जनताको गुनासो सुनिरहनु परेको छ ।’

ताजाकोटमा कृषि र भेटेनरीका दुई/दुईजना करार सेवाका कर्मचारी छन् । उनीहरूको पनि खासै जिम्मेवारी तोकिएको छैन । महिला विकाससम्बन्धी कामका लागि प्रदेश सरकारले बजेट पठाए पनि कर्मचारी पठाएको छैन । न त काम गर्ने अख्तियारी नै दिइएको छ । यसले गर्दा काममा झन् जटिलता देखिएको उनले बताए ।

घुमफिरमा जनप्रतिनिधि
सिमकोट र नाम्खा गाउँपालिकाले वडाध्यक्षलगायत त्यहाँ कार्यरत कर्मचारीलाई विकासको नमुना देखाउने भन्दै लाखांै रुपैयाँ खर्चेर देशदर्शनमा लगेको छ । अहिले दुईटै गाउँपालिकाका कार्यालय सुनसान छन् । एकजना सहयोगी कर्मचारीले कार्यालय खोल्ने र बन्द गर्ने गर्छन् । सिमकोट गाउँपालिकाले अघिल्लो वर्ष ज्याकेट बाँडेर चर्चा कमाएको थियो । यस वर्ष जनप्रतिनिधि र कर्मचारीलाई ‘देशदर्शन’ गराएर थप चर्चा बटुलेको छ ।

प्रकाशित : माघ २, २०७५ १०:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रूरूमा मेला भर्नेको भीड

माधव अर्याल

रूरू क्षेत्र — तीन जिल्लाको संगमस्थल रूरू क्षेत्रमा मकर संक्रान्ति नुहाउने र मेला भर्नेको मंगलबार बिहानैदेखि भीड लागेको छ । पाल्पा, गुल्मी र स्याङ्जाको संगम रहेको कालीगण्डकी किनारमा छिमेकी जिल्लासहित भारतका विभिन्न स्थानबाट समेत स्नानका लागि भक्तजन आएका छन् ।

५ दिनसम्म लाग्ने मेलामा गण्डक स्नान गरी ऋषिकेशव, रूरू कन्या र भृंगुतुङ्गेश्वर महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका सदस्य परशुराम भट्टराईले धार्मिक महत्त्व अनुसार मेला ३ दिन मात्र लाग्ने भए पनि सांस्कृतिक र मनोरञ्जनसहित थप गरेर ५ दिन गराइएको बताए ।

रूरू क्षेत्रमा संक्रान्तिको २ दिनअघिदेखि नै विशेष चलपहल सुरु हुन्छ । संक्रान्तिकै असवर पारेर श्रीमद्भागवत् ज्ञान महायज्ञसमेत चलेको छ । मेलामा २ सयभन्दा बढी व्यापारिक स्टलसमेत छन् । रिडी मेला धार्मिकसँगै घरेलु सामग्री, राडी, पाखी, कम्बल, सुपो, डालो, घाँजी, कन्दमूललगायतका लागि समेत प्रख्यात छ । रिडी क्षेत्रमा स्थानीय रूरू फ्रेन्ड्सक्लबले बर्सेनि सांस्कृतिक कार्यक्रमसहित मेला व्यवस्थापन गर्दै आएको छ ।

‘यस वर्ष पनि सांस्कृतिक कार्यक्रमसहित घरेलु सामग्रीका लागि मेलामा विशेष प्राथमिकता छ,’ क्लबका अध्यक्ष रामलाल विकले भने, ‘गण्डकी स्नानसँगै लोप हुँदै गएका घरेलु सामग्रीको खरिद–बिक्रीका लागि मेला व्यवस्थापन गरेका छौं ।’ हराउँदै गएका घरेलु सामग्रीको प्रवद्र्धन र बिक्रीमा मेलाले सहयोग गर्ने गरेको उनले बताए ।

घरेलु सामग्रीका लागि प्रख्यात भए पनि मेलामा पछिल्ला वर्षमा स्वेदशीसँगै विदेशी तयारी कपडाको समेत व्यापार हुने गरेको छ । ‘व्यापारिक स्टल भयो भने मात्र मेला चलाएजस्तो हुने रहेछ,’ ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीले भने, ‘त्यसैले पाल्पा र गुल्मीतर्फ सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल बनेका छन् ।’ मेलामा २ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । रूरू क्षेत्रको गण्डकी स्नानका लागि पहिलो दिनलाई जेठी, दोस्रो दिनलाई माइली र तेस्रो दिनलाई कान्छी संक्रान्ति मानेर स्नान र पूजा गर्ने प्रचलन छ । यो क्षेत्रलाई चार धाममध्येको एक क्षेत्र पनि भनिन्छ । मन्दिरका पुजारी चूरामणि तिमिल्सेनाले ५ दिनसम्म मेला चलाउन महायज्ञ र सांस्कृतिक कार्यक्रम गरिएको बताए ।

महायज्ञको प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डेयले उद्घाटन गर्दै प्रतीक्षालय र विश्रामस्थल बनाउनका लागि आफूले सक्दो सहयोग गर्ने बताए । मेलालाई लम्ब्याउनका लागि सांस्कृतिक कार्यक्रमसमेत राखिएको छ । लोकपप गायक तथा कलाकार अर्जुन कौशलका अनुसार राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूका साथमा रूरू क्षेत्रको मेलालाई भव्य बनाउन लागिएको छ ।

‘३ दिनको मेलालाई ५ दिनसम्म पुर्‍याउने कोसिस गरिएको हो,’ उनले भने, ‘अघिल्ला वर्षमा गुल्मीतर्फ मात्र हुन्थ्यो, यसपटक पाल्पातर्फ पनि राखिएको छ ।’

माघ महिनाभर नै रूरू क्षेत्रमा स्नान गर्न आउने गर्छन् । मेलामा पाल्पा, बागलुङ, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका जिल्लामा तयार गरिएका घरेलु सामग्री पर्याप्त मात्रामा उपलब्ध छन् । मेलामा नेपाली सेनाको गोरख दल गणले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली सेनाको गुल्मी र पाल्पाको समन्वयमा शिविर राखेको गणका सेनानी मनोज डंगोलले बताए । शिविरमा मुटु, पेट, पुराना घाउ, ग्यास्ट्रिक, पेट दुख्ने, हाडजोर्नी दुख्नेलगायतका रोगको उपचार गरिएको क्याप्टेन डा. विजय श्रीवास्तवले बताए ।

गाउँगाउँमा महोत्सव
रूपन्देही – माघीको अवसरमा रूपन्देहीका गाउँ–गाउँमा खिचडी महोत्सव आयोजना गरिएको छ । थारू समुदायले माघी पर्व धुमधामका साथ मनाइरहेका छन् । प्रदेश सरकारले माघी मनाउन दुई दिन सार्वजनिक बिदा दिएको छ । त्यसले थारू समुदायको बाक्लो बस्ती रहेकाक्षेत्रमा जमघट बाक्लिएको छ ।

थारू कल्याणकारिणी सभाले जिल्लाका १६ मध्ये १२ स्थानीय तहमा खिचडी महोत्सव आयोजना गरेको हो । सैनामैना नगरपालिकाको मुर्गियामा ३ दिने खिचडी महोत्सव जारी छ । नयाँ पुस्तालाई थारू पोसाक, खाना र संस्कृति सिकाउन र अन्य जातजातिबीच परिचित हुन महोत्सव आयोजना गरिएको थारू कल्याणकारिणीसभाका खुसीराम चौधरीले बताए ।

जिल्लाकै थारू बाहुल्य शुद्धोद्धन गाउँपालिकामा पनि माघी महोत्सव चलिरहेको छ । त्यसमा थारू समुदायका परम्परागत नाच झुमडा, झिझिया, झर्रा, झाम्टा, लाठी नाच प्रदर्शन गरिएको छ । घोंगी, कछुवा, गँगटा, मुसा, ढिकरी, पतोसमी (गावाको साग र पकौडा), अनुवा माछा, सर्पे माछा, चेर्ची (चामलको मालपुवा) लगायतथारू समुदायका परम्परागत खाना मेला र महोत्सवमा उपलब्ध रहेको चौधरीले बताए । महोत्सवमा परम्परागत खानालाई प्राथमिकताका साथ प्रदर्शन गरिएको छ ।

प्रकाशित : माघ २, २०७५ १०:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT