कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंक गाउँमा, चेक बोकेर सदरमुकाम

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय छ । गाउँपालिकाकै लागि बैंकले शाखा स्थापना गरेको हो । तर, गाउँपालिका कार्यालयले अधिकांश चेक सदरमुकाम लगेर साट्ने गरेको छ ।

गाउँपालिका कार्यालयका साथै लक्षित निकाय र योजनाका उपभोक्ता समितिले सोरुकोटस्थित बैंकमा खाता खोलेका छन् । चेक भने सदरमुकाम जान थालेपछि बैंकिङ कारोबारोमा कमी आएको छ । शाखा प्रवन्धक जयबहादुर मल्लले करिब तीन करोड रुपैयाँ बैंकमै थन्किएको बताए । ‘कार्यालयले यहाँ खाता खोले पनि चेकजति सदरमुकामतिर जान्छन्,’ उनले भने, ‘यसले गर्दा सोचेअनुसार बैंकिङ कारोबार भएको छैन ।’


गाउँमा बैंक हुँदाहुँदै सेवाग्राहीहरू कारोबार गर्न किन सदरमुकाम जान्छन् भन्नेबारे चासो उत्पन्न भएको बैंकका कर्मचारी बताउँछन् । सेवाग्राहीलाई गाउँमै बैंकिङ कारोबार गर्न सहज होस् भन्ने उद्देश्यसाथ सरकारले सबै स्थानीय तहमा बैंकका शाखा खोल्ने निर्णय गरेको थियो । सोरुका सेवाग्राही भने सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंकमै पुगेर कारोबार गर्छन् ।


गाउँपालिका प्रमुख लोकबहादुर शाहीले पहिले गाउँमा आएको बैंकसँग पर्याप्त पैसा नहुँदा सदरमुकाम गएर कारोबार गर्नुपरेको बताए । ठूलो रकमका केही चेक सदरमुकाम आएर साँटिए पनि अब गाउँकै बैंकमा कारोबार गर्ने प्रयास भइरहेको उनको भनाइ छ । ‘सुरुको केही समयमा केही समस्या भए पनि अब हामीले यहीँबाट बैंकिङ कारोबार गर्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘गाउँपालिकाका अन्य सेवाग्राहीलाई पनि कारोबारो गर्न प्रोत्साहन गरिरहेका छौं ।’


सोरुकोटमा २०७५ असार ३१ गते स्थापना भएको बैंकमा हालसम्म करिब ४ करोड रुपैयाँको कारोबार भएको छ । सोरु गाउँपालिकाको कुल बार्षिक बजेट २३ करोड भए पनि जिल्लातिर चेक साँटने गरेपछि गाउँमै पुगेको बैंकमा आर्थिक कारोबार न्यून भएको शाखा प्रबन्धक मल्लले बताए । उनका अनुसार बैंकमा शिक्षा, स्वास्थ्य, कृषि, पशु, विद्यालय, गाउँपालिका कार्यालय र व्यक्तिगत गरी १ सय ६० वटा बचत र ८५ वटा चल्ती खाता खोलिएका छन् ।


जिल्लाका चारमध्ये मुगमकार्मारोङ गाउँपालिकामा अहिलेसम्म बैंक स्थापना हुन सकेको छैन । बैंकको लागि उपयुक्त घर नपाइएकाले बैंक स्थापना गर्न नसकिएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । बैंक नहुँदा गाउँपालिकाभित्रका स–साना बैंकिङ कारोबारको लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

प्रकाशित : माघ २, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?