मागेर भोज खुवाउने चलन

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–५, बडगाउँका मनु शाहीको घरमा केही युवायुवती भान्साका लागि आवश्यक सबै सामग्री माग्न आए । एक माना चामल, दाल, नुन, बेसार, दाउरा, एक बोतल रक्सीको साथमा एक सय रुपैयाँ र पातको टपरी पनि शाहीको घरबाट उनीहरूले लिएर गए ।

मागेर भोज खुवाउने चलन

सोही ठाउँकी किरण विकको घरबाट पनि ती युवायुवतीले एक माना चामल, दाल, नुन, दाउरा, एक बोतल रक्सी, एक सय रुपैयाँ र पातको टपरी नै मागेर लिए । यसरी भान्साका लागि सबै सामग्री दिनेमा शाही र विक मात्रै भने होइनन् ।


बडगाउँका झन्डै एक सय घरपरिवारबाट ती युवायुवतीले यसरी नै चामल, दाल, नुन, तेल, रक्सी, रक्सी नभए रक्सी बनाउन प्रयोग हुने जाँड दाउरा, एक सय रुपैयाँको साथमा भात खानको लागि प्रयोग गरिने पातको टपरी माग्ने गर्छन् । हरेक वर्ष यसरी नै बडगाउँवासीले भान्साका सामग्री दिँदै आएका छन् । पुस महिनाको अन्तिम सातादेखि सामग्री जुटाउन थाल्छन् ।


यसरी मागिएको सामग्री व्यक्तिगत प्रयोजनमा लगाइँदैन । परम्परादेखि चल्दै आएको बेहुली नचाउने (नाटकीय विवाह) मेलाका लागि गाउँलेले यसरी नै हरेक वर्ष भान्साका लागि चाहिने सामग्रीका साथमा रक्सी, एक सय रुपैयाँ तथा पातको टपरी पनि दिने गरेका छन् । गाउँलेबाट संकलित उक्त सामग्रीबाट नाटकीय बिहेका लागि वास्तविक भोज पकाइन्छ ।


उक्त बिहे भोज नाटकीय विवाहका लागि बनाएका बेहुला–बेहुली, बाजागाजा बजाउनेहरू तथा मेला भर्न आएकाहरूलाई खुवाइन्छ । ‘यो अहिलेको चलन होइन, हाम्रा पुर्खादेखि नै चलिआएको चलन हो,’ शाहीले भने, ‘हरेक वर्षको बेहुली नचाउने मेलाका लागि हामी सबैले यसरी नै घरघरबाट सामग्री जुटाएर भोज खुवाउँछौं ।’ बडगाउँमा हरेक वर्षको माघ २ गते बेहुली नचाउने मेला लाग्छ । मेला भर्न आउनेहरूलाई नि:शुल्क भोज तयार गर्ने गर्दछन् ।


बडगाउँ र बाँफिकोट गाउँपालिकाकै ६ नम्बर वडाको मग्माबीच बेहुली नचाउने प्रतिस्पर्धा हुन्छ । स्थानीय बडगाइँ खोलामा बेहुली नचाइसकेर फर्केपछि बडगाउँमा भोज खान सुरु हुन्छ । भोज भतेर तयार गर्न एक दिनअघि नै जुट्नुपर्छ । गाउँलेबाट सबै सामग्री मागेर ल्याइसकेपछि माघ १ को बेलुकीदेखि नै भोज भतेर पकाउन सुरु गरिन्छ ।


१ गते बेलुकी देखि नै गाउँलेले दिएको जाँडको रक्सी पार्ने, दाल, भात पकाउन सुरु गरेपछि मात्रै २ गतेका पाहुनालाई खुवाउन भ्याइने मेला व्यवस्थापन समितिका सदस्य मनकुमारी विष्टले बताइन् ।

प्रकाशित : माघ ३, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?