कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गाडीले ठक्कर दिएकी किशोरीको मृत्यु

पीडित परिवारद्वारा प्रहरीमा उजुरी 
तुलाराम पाण्डे

कालीकोट — पाँच दिनअघि जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको लु१ज ३१८५ नम्बरको गो कर्णाली यातायात समितिको टाटा सुमो जिपले ठक्कर दिएर सक्त घाइते भएकी खाँडाचक्र–३, की १८ वर्षीया किशोरी देविका पाण्डेको मृत्यु भएको छ ।

चालकको लापरबाहीले मृत्यु भएको भन्दै मृतक किशोरीका बाबु पिरमप्रसाद पाण्डेले सवारी ज्यानको महलमा मुद्दा दायर गर्न प्रहरीमा उजुरी दिएका छन् ।


घरबाट विद्यालय जाँदैगर्दा तीव्र गतिमा आएको जिपले ठक्कर दिएर ढलेकी उनलाई पुन: गाडीले घाँटीमा किचेर सख्त घाइते बनाएको थियो । उपचारका लागि जुम्ला हुँदै शिक्षण अस्पताल नेपालगन्जमा शनिबार बिहान मृत्यु भएको हो । उनी पञ्चदेव मावि मान्ममा कक्षा ११ मा अध्ययनरत थिइन् ।


सुरुको ठक्करले हात मात्र भाँचिएको भए पनि मार्नका लागि पुन: चालकले गाडी लगेर किचेपछि दाहिने आँखा र टाउको फुटेको प्रत्यक्षदर्शीको भनाइ छ । अचेत अवस्थामा घटनास्थलबाट उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । अस्पतालले अवस्था गम्भीर भएको जनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठायो ।


एक रात जुम्लामा आइसीयूमा राख्दा होस नआएपछि जहाजमा नेपालगन्ज लगियो । त्यहाँ पनि होस नखुलेरै शनिबार बिहान ११ बजे नेपालगन्जमा मृत्यु भएको आफन्त मणिराम पाण्डेले बताए । उनको शवको नेपालगन्जमा पोस्टमार्टम गरेर परम्पराअनुसार आइतबार दाहसंस्कार गरिएको आफन्त भीमप्रसाद पाण्डेले बताए ।


आफन्तले चालकलाई कर्तव्य ज्यानको मुद्दा चलाउनुपर्ने, परिवारलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने, बिमा, किरिया खर्च उपलब्ध गराउनुपर्ने जनाउँदै कर्णाली राजमार्ग एक घण्टा अवरुद्ध पारे । चालकलाई पक्राउ गरिसकेकाले कडा कारबाही गर्न माग गरिएको छ ।


आर्थिक अवस्था कमजोर रहे पनि उनका बुवा पिरमप्रसाद पाण्डेले छोरीलाई ऋण सापट गरेर उच्च शिक्षा पढाइरहेका थिए । उनका दुई छोरा र अर्की एक छोरी छन् । ज्याला मजदुरी र बाख्रा पालेर परिवारको लालनपालन गर्थे । हुर्किएकी छोरीको मृत्यु भएपछि देविकाकी आमा बेहोस भएकी थिइन् । अहिले ताडी र मान्म गाउँ शोकमा डुबेको छ ।


घटनास्थलबाट फरार भएका बाँके, खजुरा गाउँपालिका २ बस्ने २३ वर्षीय गाडी चालक उमेश थापालाई प्रहरीले कोहलपुरबाट नियन्त्रणमा लिएर कालीकोट ल्याइसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी विनोद शर्माले बताए । उनले आफ्नो तर्फबाट दोषीलाई उम्किन नदिने जनाए । साँघुरो र अप्ठ्यारो कर्णाली राजमार्गमा पुराना गाडी, सिकारु चालक र तीव्र गतिले दुर्घटना बढी हुने गरेको टाफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ ३, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?