१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जनप्रतिनिधि तरकारी खेतीमा

राजबहादुर शाही

मुगु — छायाँनाथ–रारा नगरपालिका–३, निगालेकी २६ वर्षीया पञ्चदेवी खड्का निर्वाचित जनप्रतिनिधि हुन् । स्थानीय तहको निर्वाचनबाट वडा सदस्य निर्वाचित भएकी उनी तरकारी खेतीमा समेत सक्रिय छन् । नियमित रूपमा वडाका काममा सक्रिय हुने उनी बिहान–बेलुकाको समयमा तरकारी खेतीमा रमाइरहेकी हुन्छिन् । 

उनी स्थानीयका विभिन्न समस्या समाधानदेखि विकास निर्माणका काममा उत्तिकै सक्रिय छिन् । उनको बारीमा बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी फलिरहेका हुन्छन् । उनी आफैं डोकोमा तरकारी बोकेर गमगढी बजार पुग्छिन् । खड्का नियमित स्थानीयका घर–घर चहारेर तरकारी बिक्री गर्छिन् ।


केही पसल र होटल उनका नियमित ग्राहक छन् । ‘जनताले भोट दिएर जिताएका छन्, त्यसैले उनीहरूको काममा पनि समय दिँदै आइरहेकी छु, गाउँमा हुने विकास निर्माणका काममा पनि समय दिनैपर्‍यो,’ उनले भनिन्, ‘फुर्सदको समयमा तरकारी खेती गर्ने गरेकी छु, जसले मलाई आत्मनिर्भर बनाएको छ ।’


तरकारी बिक्री गरेर मासिक १२ देखि १६ हजारसम्म कमाइ हुने गरेको उनको भनाइ छ । उनले परम्परागत अन्नबालीबाट आर्थिक उन्नति नभएपछि तरकारी खेतीमा लागेको बताइन् । उनको बारीमा बन्दा, काउली, मुला, प्याज, लसुन, धनियाँ, टमाटर, खुर्सानी, फर्सीलगायत तरकारी फलिरहेका हुन्छन् । हिउँदमा प्लास्टिक टनेल बनाएर बेमौसमी तरकारी फलाउने गरेको उनले बताइन् । उनले गाउँको विकासमा समेत गम्भीर भएर लागिरहेको जनाइन् ।


चालु आर्थिक वर्षमा नगरपालिकाबाट करिब ८० लाखको योजना माग गरेको उनी बताउँछिन् । आफ्नै सक्रियतामा गाउँमा तटबन्धन योजना सम्पन्न गराएको खड्काको भनाइ छ । निगाले खोलाको बाढी–पहिरोले स्थानीयको जग्गामा क्षति पुर्‍याउन थालेपछि रोकथामका लागि तटबन्ध गरिएको उनले सुनाइन् ।


खड्का गाउँको विकासदेखि तरकारी खेतीसम्मको काम गर्न सफल भएको स्थानीय रंग खड्काले बताए । उनका अनुसार तरकारी खेती गरेर उनले सफल किसानको परिचय दिएकी छन् । ‘विकास निर्माणको कामदेखि तरकारी खेतीमा सफल भएर उहाँ उदाहरणीय बन्नुभएको छ,’ उनले भने, ‘जसले हामीहरूलाई पनि तरकारी खेती वा अन्य व्यवसायमा लाग्न प्रेरणा दिएको छ ।’ उनका अनुसार उनी गाउँकै अगुवा किसानमा गनिन्छिन् । जिल्लाका चार स्थानीय तहमा ४५ वडा छन्, जसमा दुई सय २५ जना जनप्रतिनिधि छन् ।

प्रकाशित : माघ ४, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?