कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शौचालय प्रयोगविहीन

सल्यान — बन्गाड–कुपिन्डे नगरपालिकाभित्रका ६५ वटै सामुदायिक विद्यालयमा शौचालय निर्माण गरिएको छ । धेरै विद्यालयमा छात्र र छात्रा दुबैका लागि फरकफरक शौचालयसमेत छन् ।

तर खानेपानी अभावका कारण अधिकांश सामुदायिक विद्यालयका शौचालय प्रयोगविहीन भएका छन् । स्कूलका शौचालय प्रयोगविहीन भएपछि विद्यार्थी खुला स्थान, जंगल र झाडीमा गएर शौच गर्न बाध्य छन् ।


साबिक जिल्ला शिक्षा कार्यालय, रेडक्रस तथा विभिन्न निकायको सहयोगमा सबै सामुदायिक विद्यालयमा कम्तिमा दुई शौचालय निर्माण गरिएका छन् । सरसफाई अभावमा शौचालय प्रयोगविहीन बनेको भैरवी निम्न मावि देवस्थलका प्रधानाध्यापक खिमलाल विकले बताए । ‘कति विद्यालयमा पानीकै अभावमा शौचालय प्रयोगमा आउन छाडेपछि काम नलाग्ने वस्तु थन्क्याउने स्टोरका रूपमा परिणत भएका छन्,’ उनले भने, ‘त्यसैले विद्यार्थी विद्यालय हाताबाहिर गएर जथाभावी शौच गर्न बाध्य छन् ।’


बढ्दै गएको खडेरीका कारण डाँडाका अधिकांश बस्ती र विद्यालय नजिकका मुहान सुक्दै गएको स्थानीयको भनाइ छ । बाह्रै महिना हुने पानीको अभावका कारण नगर क्षेत्रका कृष्ण मावि लेखसंग्रही, भगवती निमावि खैरागाड, ध्रुवतारा प्रावि च्युरा, लक्ष्मी प्रावि मैनेनी, सरस्वती निमावि लाखर, सिद्धेश्वरी मावि निगाल्चुलालगायत ४० बढी विद्यालयका शौचालय प्रयोगविहीन भएका हुन् ।


जसका कारण करिब पाँच हजार विद्यार्थी प्रभावित भएको कृष्ण मावि लेखसाग्रहीका प्रधानाध्यापक मोहन रोकायाले बताए । उनका अनुसार धेरै विद्यालयका शौचालयमा ताला लगाइएको छ । उनले विद्यार्थीलाई जंगल, खोल्सा र झाडीमा लुकेर शौच गर्नुपर्ने बाध्यता रहेको जनाए ।


चार वर्षअघि जिल्लालाई खुला दिसामुक्त घोषणा गरे पनि पानीको अभावका कारण बालबालिका खुला शौच गर्न बाध्य भएको महेन्द्र मावि आँपचौरका प्रधानाध्यापक चक्र डीसीले बताए । उनका अनुसार जिल्ला खुलादिसामुक्त घोषणामा मात्र सीमित भएको छ । नजिकैका गाउँ तथा विद्यालयमा खानेपानी सुविधाका लागि बारम्बार माग राख्दै आए पनि कतैबाट सहयोग नमिलेको उनले गुनासो गरे ।


बालबालिकाले खुला शौच गर्ने गरेका कारण वातावरण प्रदूषित बन्दै गएको उनले जनाए । उनका अनुसार गाउँ आसपास कुनै पनि बेला सरुवा रोग फैलनसक्ने जोखिम बढेको छ । विद्यालयका शौचालय प्रयोगविहीन भएपछि छात्रालाई बढी समस्या भएको उनले जनाए । ‘महिनावारी भएको समयमा छात्रा बढी समस्यामा पर्ने गरेका छन्,’ उनले भने, ‘जसका कारण छात्रा महिनावारी भएको बेला नियमित विद्यालय आउँदैनन् ।’ उनले शौचालय प्रयोगविहीन हुँदा पठनपाठनमा समेत असर परिरहेको जानकारी दिए ।


निम्न मावि घर्तीगाउँका प्रधानाध्यापक दलवीर बुढाथोकीले बालबालिकामात्र नभई शिक्षकलाई पनि शौच गर्न समस्या भएको बताए । विद्यालयका शौचालय प्रयोगविहीन भएपछि शिक्षकलाई आफन्तका शौचालयमा गएर शौच गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

प्रकाशित : माघ ४, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?