कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बाख्रा खेद्दै बेंसी

तुलाराम पाण्डे

कालीकोट — जाडो बढेसँगै कालीकोट र जुम्लाका लेकाली बस्तीका बासिन्दा भेडा, बाख्रासहित औल (बेंसी) झर्न थालेका छन् । अधिकांश पुरुष व्यापार, ज्याला मजदुरीका लागि जिल्ला छाडेर सहर र भारत गइसकेका छन् । भारत नजाने कृषक पनि औलका बस्तीमा 
झरेका छन् ।

बाख्रा खेद्दै बेंसी

जिल्लाको फोइमहादेव, राचुलीको रतडा, चिल्खायालगायत बस्तीका अधिकांश भेडा–बाख्रापालक कृषक लुकाकमा सामल (हिउँदमा खाने अन्न) बोकेर औल झरेका हुन् । अन्य गाउँमा पनि हिउँदको जाडो छल्न यहाँका कृषक माथिल्लो बस्तीबाट तिला र कर्णाली नदी छेउछाउका बस्तीमा झर्ने गरेका छन् ।


अन्य गाउँका बासिन्दा पनि हिउँद सिजनमा औलको खर्कमा गाई, भैंसीसहित परिवार सर्छन् । उनीहरू चैत लागेपछि लेकका बस्तीमा जाने गर्छन् । जिल्लाका तीन नगर र ६ गाउँपालिकाका सबैमा माथिल्लो भेगमा बाक्लो हिउँ पर्ने गरेको छ ।


तल्लो भेगमा भने हिमपात हुँदैन । कालीकोटको हावापानी विविध खालको भएकाले हिउँदमा औल र वर्षामा लेकका बस्तीमा बसोबास हुने गरेको खाँडाचक्र नगरपालिकाको पशु सेवा शाखा प्रमुख खडानन्द पाण्डेले बताए ।


उनले पशुपालक कृषक सबै औलका बस्तीमा सरिसकेको बताए । ‘सडक नहुँदासम्म त अधिकांश भेडाबाख्रा पालक कृषकहरू नुन, तेल, चामल ल्याउन हिउँद सिजनमा सुर्खेत, कैलालीको चिसापानी जान्थे,’ बमले भने, ‘सडक पुगेपछि जिल्ला बाहिरबाट भेडाबाख्रामा नुन, चामल ल्याउन छुटेको छ ।’ उनका अनुसार जिल्लाभित्रै हुने विकास निर्माणका काममा बालुवा बोक्ने, सडकबाट माथिल्लो बस्तीमा चामल बोक्ने काम गर्छन् ।


कालीकोटको सबै भेगमा तल औल र माथि हिमाली बस्ती लेक भएकाले हावापानीमा विविधता भएको कृषि शाखा प्रमुख पर्शुराम काफ्लेले बताए । ‘जिल्लाका सबैजसो गाउँमा अचेल औल झर्ने चलन रहेछ,’ काफ्लेले भने, ‘जाडो र गर्मी सिजनमा बस्ने घर पनि अलगअलग छन् ।’


उनका अनुसार सबै गाउँमा तल केरा, आँप, सुन्तला फल्ने र माथि स्याउ ओखर फल्ने हावापानी छ । स्थानीयहरू जाडो सिजनमा औल र गर्मी सिजनमा लेकमा बस्ने चलन रहेको उनको भनाइ छ । अहिले कालीकोटको बाटो हुँदै जुम्लाको सिँजा, मुगु र हुम्लाका नागरिक भेडा, बाख्रा, कुकुर, र घोडा ल्याएर दिनहुँ सुर्खेत, आछामका बस्तीतिर जान झरिरहेका छन् ।


उनीहरू फागुनसम्म जाडो कटाएर चैतमा आ–आफ्नो थातथलो पुग्ने गर्छन् । भेडाबाखा र घोडासँगै स्कुले बालबालिका पनि सँगै आउने गरेका छन् । उनीहरूको ठाउँमा विद्यालयमा पनि जाडो बिदा भइसकेको छ ।

प्रकाशित : माघ ४, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?