२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कर्णालीका प्रहरी संरचना नेपालगन्जमा

सुर्खेत — कर्णाली प्रदेश मातहतका प्रहरी संरचना अझैसम्म प्रदेश ५ को नेपालगन्जमै छन् । प्रहरीले आफ्नो संरचना परिवर्तन गरेको लामो समयसम्म पनि कर्णाली प्रदेश प्रहरीअन्तर्गत संघीय प्रहरी इकाइ, दंगा नियन्त्रण प्रहरी गण, प्रहरी तालिम केन्द्र र कुकुर शाखा नेपालगन्जमै रहेका हुन् । 

यसअघि क्षेत्रीय कार्यालयको अवधारणाअनुसार ती कार्यालय नेपालगन्जमा स्थापना गरिएको थियो । प्रदेश प्रहरी मातहत रहेका प्रहरी संरचनाहरू राजधानी सुर्खेत नआउँदा प्रहरी कामकारबाही प्रभावित बनेको छ । संरचना र पूर्वाधार अभावको कारण देखाउँदै नेपालगन्जका प्रहरी कार्यालय सुर्खेत नसारिएको हो । मातहतका प्रहरी कार्यालय नेपालगन्जमा रहँदा विभिन्न कामकारबाही सञ्चालनमा बाधा भइरहेको प्रदेश प्रहरी प्रमुख (डीआईजी) महेशविक्रम शाहले बताए ।


प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा हुने संघीय प्रहरी इकाईमा दुई सय र प्रहरी उपरीक्षकको नेतृत्वमा हुने गणमा तीन सय प्रहरी कार्यरत छन् । इकाईले केन्द्रीय निर्देशनको परिपालना र प्रदेश मातहतका कार्यालयमा आवश्यक दक्ष प्राविधिक जनशक्ति खटाउने भूमिका निर्वाह गर्नेछ । सामान्य प्रहरी जनशक्तिले काम गर्न नसक्ने अवस्थामा गणको भूमिका हुन्छ । गणले हूलदंगा नियन्त्रण, विपत् व्यवस्थापनलगायत काम गर्दै आइरहेको छ ।


त्यस्तै प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा रहने प्रहरी तालिम केन्द्र पनि नेपालगन्जमै छ । तालिम केन्द्र सुर्खेतमा नहुँदा प्रहरी कर्मचारीलाई तालिमको लागि ५ नम्बर प्रदेशको नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ । केन्द्रबाट बर्सेनि करिब ६ सय प्रहरी जवान उत्पादन हुन्छन् । त्यस्तै हवल्दारबाट असईमा बढुवा भएका प्रहरी कर्मचारीदेखि प्रहरी नायब निरीक्षक (सई) सम्मले आधारभूत तालिम लिने गरेका छन् ।


प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मोहन आचार्यका अनुसार सबैभन्दा बढी जग्गा र पूर्वाधार तालिम केन्द्रलाई आवश्यक पर्छ । केन्द्रका लागि कम्तीमा पनि ४० बिघा जग्गा आवश्यक पर्ने उनी बताउँछन् । नेपालगन्जमा रहेको तालिम केन्द्रमार्फत करिब दुई हजार प्रहरी कर्मचारीले तालिम लिने गरेको उनी बताउँछन् ।


प्रदेश प्रहरी मातहतको कुकुर शाखा पनि अहिले बाँकेको कोहलपुरमै छ । सईको नेतृत्वमा रहेको कुकुर शाखामा ६ कुकुर छन् । विभिन्न गम्भीर प्रकृतिका घटनामा कुकुर परिचालन गरेर अपराध अनुसन्धान गर्ने गरिन्छ । प्रदेश प्रहरीले नयाँ संरचनाअनुसार नेपाल प्रहरी स्कुल र प्रहरी अस्पताल स्थापनाको तयारीसमेत गरिएको जनाएको छ ।


आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मको विद्यालय स्थापनाको तयारी गरिएको एसएसपी आचार्यले बताए । त्यसका लागि भाडाको घरको खोजी भइरहेको उनको भनाइ छ ।


प्रदेश कार्यालय भित्रैबाट इन्स्पेक्टरको नेतृत्वमा तीन स्वास्थ्यकर्मीले प्रहरीको सामान्य उपचार गरिरहेका छन् । त्यसलाई विस्तार गरेर सुविधायुक्त अस्पताल बनाउने प्रदेश प्रहरीको योजना छ । प्रदेश ट्राफिक कार्यालय बाँकेको कोहलपुरबाट भर्खरमात्र छिन्चु सारिएको छ । कार्यालयलाई भाडाको घरमा राखिएको प्रदेश ट्राफिक प्रहरी प्रमुख (एसपी) जनकराज पाण्डेले बताए ।


त्यस्तै जुम्लामा रहेको कर्णाली अञ्चल प्रहरी कार्यालयलाई मर्ज गरेर सोही ठाउँमा विपद् व्यवस्थापन कार्यदल राखिएको छ । ५० जना प्रहरीसहितको कार्यदलको नेतृत्व प्रहरी निरीक्षकले गरिरहेका छन् । प्रदेश प्रहरी प्रमुख (डीआईजी) शाहले आवश्यक संरचनाका लागि जग्गा खोजी गर्ने काम भइरहेको बताए । ‘सबै संरचना स्थापना हुन कम्तीमा दुई वर्ष लाग्न सक्छ,’ उनले भने, ‘मातहतका कार्यालयका लागि आवश्यक पर्ने जग्गाको टुंगो लाग्दैछ ।’ उनका अनुसार सबैका लागि उपयुक्त जग्गाको खोजी भइरहेको छ ।


‘त्यसका लागि हामीले जग्गा खोजी र अन्य तयारी गरिरहेका छौं, संघीय सरकारले बजेट दिने कि प्रदेशले दिने भन्ने टुंगोसमेत छैन,’ डीआईजी शाहले भने, ‘यो वर्ष कतैबाट बजेट पनि छुट्याइएको छैन, भाडामा लिन पनि उपयुक्त घर भेटेका छैनौं ।’

प्रकाशित : माघ ५, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?