कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दिवा खाजाले तान्यो विद्यार्थी

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिन्डे नगरपालिकास्थित लक्ष्मी प्रावि, मैनेनीमा यस वर्ष ७० विद्यार्थी भर्ना भए । सुरुका महिना नियमित ४० जनाभन्दा बढी कहिल्यै उपस्थित भएनन् । दिउँसो १ नबज्दै घर फर्कने गर्दा २ बजेपछि विद्यालय प्राय: शून्य हुन्थ्यो ।

दिवा खाजाले तान्यो विद्यार्थी

त्यस्तै भगवती निमावि खैरागाडले पनि विद्यार्थी अनियमितताको समस्या लामो समयदेखि बेहोर्दै आएको हो । दिउँसो दुई बजेपछि ५० प्रतिशत विद्यार्थी घट्थे ।


चालु वर्षमा नगरपालिकाले दिवा खाजा कार्यक्रम लागू गरेपछि यो समस्याको हल हुँदै गइरहेको छ । अहिले नगरभित्रका सबै विद्यालयमा दैनिक विद्यार्थी उपस्थिति दर ९५ प्रतिशत भएको छ । चालु वर्षबाट दिवा खाजा कार्यक्रम सुरु गरेपछि साउनदेखि विद्यार्थी नियमित भएका हुन् । नगरभित्र ६५ सामुदायिक विद्यालय छन् ।


दिवा खाजा दिन थालेपछि दुई महिनामै परिवर्तन देखिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । दिवा खाजाले सामुदायिक विद्यालयका विद्यार्थीलाई नियमित मात्र बनाएको छैन, विद्यार्थीको भर्ना पनि बढ्दै गएको छ । केही निजी विद्यालयबाट समेत सामुदायिकमा विद्यार्थी फर्किएका छन् ।


नगरपालिकाले लागू गरेको कार्यक्रमबाट दैनिक खाजा खान पाउने आशामा विद्यार्थीको उपस्थिति बढेको हो । घरमै उत्पादन भएका बस्तुहरू मकै, गहुँ, भटमास, चना, अन्डा लगायतबाट बनेका ताजा परिकार विद्यार्थीले खान पाउने गरेको भैरवी निम्न मावि देवस्थलका प्रधानाध्यापक खिमलाल विकले बताए । उनका अनुसार बालबालिकाहरू विद्यालय आए पनि दिउँसो एक बजेसम्म बस्न गाह्रो हुन्थ्यो । ‘हिजोआज बालबालिका नियमित विद्यालयमा बस्न थालेका छन्,’ उनले भने, ‘दिवा खाजाको व्यवस्थापछि बालबालिकाले पढाइमा रुचि बढाएका छन् ।’


दिवा खाजाकै कारण आफ्नो विद्यालयमा विद्यार्थी बढिरहेको सरस्वती प्राथमिक विद्यालयका प्रअ सुरेन्द्र खड्काले बताए । ६० जना विद्यार्थी रहेका विद्यालयमा एक महिनामै १० जना विद्यार्थी थपिएको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका बालबालिकामात्र सामुदायिकमा पढ्ने र आर्थिक रूपमा सक्षम अभिभावकका बालबालिका निजीमा पढ्ने अवस्थाले सामुदायिकको अवस्था कमजोर बन्दै गएको उनी बताउँछन् । उनका अनुसार दिवा खाजाले केही समस्या हल हुन थालेको छ । ‘विद्यार्थी अभावकै कारण कति मर्ज भइसकेका थिए,’ उनले भने, ‘खाजा कार्यक्रमले निजीमा गएका विद्यार्थी फर्केर आउन थालेपछि पुन: आशा पलाएको छ ।’


विद्यार्थी धेरै घटेका प्रावि पहिलाजस्तै भरिभराउ देखिन थालेको कृष्ण मावि लेकसंग्रहीका प्रअ मोहन रोकायले बताए । उनका अनुसार प्राथमिक तहमा दैनिक ४०/५० जनामात्र नियमित हुनेमा अहिले त्यो संख्या बढेर ७० देखि ८० पुगेको छ । उनले अहिले विद्यार्थी उपस्थिति दर ९५ प्रतिशत रहेको जनाए । उनका अनुसार विद्यार्थीको नियमितताले शिक्षकको सक्रियता पनि बढ्दै गएको छ ।


बन्गाडकुपिण्डे नगरपालिकाका शिक्षा संयोजक रोमप्रसाद पाण्डेले नगरपालिकाले लागू गरेको कार्यक्रमअनुसार एक विद्यार्थीले १५ रुपैयाँ बराबरको दैनिक खाजा पाउने गरेको बताए । उनका अनुसार खाजा अभिभावकले घरबाट बनाएर पठाउने गरेका छन् । खाजा बनाएर बालबालिकाको साथमा पठाएबापत विद्यालयले अभिभाकलाई मासिक रकम उपलब्ध गराउँदै आएको उनको भनाइ छ । खाजा कार्यक्रम प्रभावकारी भएपछि नगरभरिका ६५ वटै विद्यालयको शैक्षिक कार्यक्रम गुणस्तरीय बन्न थालेको उनी बताउँछन् । कार्यक्रमले विद्यार्थीको उपस्थिति दर र संख्या बढ्दै गएको उनले जानकारी दिए ।

प्रकाशित : माघ ५, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?