कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कक्षा ९ पढ्न अर्को प्रदेश

स्कुले केटाकेटी जिल्लामात्रै होइन, प्रदेशै अर्कोमा जानुपर्दा असहज भएको बताउँछन्
हरि गौतम

रुकुम पश्चिम — रोल्पाको परिवर्तन गाउँपालिका ४, जरेनीका सुरेश विष्ट रुकुम पश्चिमको मुसीकोट नगरपालिका १०, को चुन बस्छन् । डेरा लिएर चुन बस्ने उनले पढ्नका लागि घर छाडेका हुन् । सोही ठाउँका वीरेन्द्र विष्ट पनि डेरा लिएरै चुनमा बस्दै आएका छन् ।

कक्षा ९ पढ्न अर्को प्रदेश

दुई वर्षदेखि सुरेश र वीरेन्द्रको डेरा चुनमा छ । डेरा गरेरै बस्ने गरी उनीहरू उच्च शिक्षाका लागि भने यहाँ पढ्न आएका होइनन् । कक्षा ९ र १० पढ्न उनीहरूले जिल्ला मात्रै होइन, प्रदेश नै छाड्नुपर्छ ।


गाउँमा विद्यालय नहुँदा उनीहरू साढे दुई घण्टा पैदलै हिंडेर ५ नम्बर प्रदेशको रोल्पाबाट कर्णाली प्रदेशको रुकुम पश्चिम मुसीकोट नगरपालिका १०, चुनस्थित महाकाली माविमा पढ्न आउँछन् । यसरी जिल्लामात्रै नभएर प्रदेशै छाडेर ९ र १० कक्षा पढ्न आउने यी दुईमात्र होइनन् । रोल्पाको परिवर्तन गाउँपालिका ४ का अधिकांश विद्यार्थी ९ र १० कक्षा पढ्न जिल्ला छाडेर चुन आउँछन् ।


आफ्नै गाउँनजिक पठनपाठनका लागि विद्यालय नहुँदाको दु:ख विद्यार्थीहरूले पाइरहेका छन् । यो वर्ष मात्रै परिवर्तन गाउँपालिका ४ का विभिन्न ठाउँका ४० विद्यार्थी मालिका मावि चुनमा अध्ययन गरिरहेका छन् । कक्षा ९ र १० को पठनपाठनका लागि घरबाट विद्यालय पुग्न साढे २ घण्टा पैदल हिंड्नुपर्ने भएका कारण अधिकांश विद्यार्थी डेरा लिएर पढ्ने गरेका छन् । उनीहरू घरबाट विद्यालय पुग्न एउटा लेक उक्लेर आरोलो झर्नुपर्छ ।


‘गाउँमा स्कुल छैन, अलि टाढा जाँदा पनि पढाइ राम्रो छैन, त्यसैले हामी जिल्ला मात्रै नभई प्रदेश छाडेर यहाँ पढ्न आउँछौं,’ सुरेशले भने, ‘बिहान घरबाट विद्यालय भेटाउन ढिला र बेलुका विद्यालयबाट घर भेटाउन अबेर हुने भएकाले विद्यालय नजिकै डेरा लिएर पढ्ने गरेका छौं ।’ गाउँघर नजिक विद्यालय नहुँदा पढ्नका लागि टाढा भए पनि आउने गरेको उनको भनाइ छ ।


उनका अनुसार कति विद्यार्थी त ८ कक्षा पढ्न पनि चुन नै आउने गर्दछन् । तीन वर्षअघिसम्म कक्षा ८ सम्मका सबै विद्यार्थी आउथे हाल तातापानीमा ८ कक्षा सञ्चालन गरेपछि केही विद्यार्थीले मात्रै कक्षा ८ पढ्न जिल्ला र प्रदेश छाड्छन् । रोल्पाको परिवर्तन गाउँपालिका ४, जरेनी, तातापानी, सिजाखोला, खोलागाउँ, दवारे, हलहले, पात्लेढुंगा तथा पोखराडाँडालगायत गाउँका विद्यार्थी ८, ९ र १० कक्षा पढ्न चुन आउने गरेका छन् । ती गाउँका केही विद्यार्थी रुकुम पूर्वको भूमे गाउँपालिका ९ स्थित नेपाल राष्ट्रिय माविमा समेत पढ्न जाने गरेका छन् ।


मालिका मावि चुनमा २०६४ सालदेखि रोल्पाबाट विद्यार्थी आउन थालेको प्रधानाध्यापक खडकसिंह कठायतले बताए । मालिका माविले २०६४ सालमा कक्षा ९ को पठनपाठन सुरु गरेको थियो । ‘२०६४ अघि हाम्रो यो विद्यालयमा पनि कक्षा ८ सम्म मात्रै पठनपाठन हुन्थ्यो,’ प्रअ कठायतले भने, ‘२०६४ सालमा ९ कक्षा सुरु गर्‍यौं, ९ कक्षा सुरु गरेकै वर्षदेखि रोल्पाका विद्यार्थी पठनपाठनका लागि यहाँ आउन थाले ।’ मालिका माविमा हाल १० कक्षासम्म मात्रै पठनपाठन हुन्छ ।


उक्त विद्यालयबाट १० पास गर्नेहरूमध्ये कति विद्यार्थी प्राविधिक शिक्षा पढ्न बाहिर जान्छन् भने कति रुकुम पश्चिमकै सदरमुकाम खलंगामा प्ल टु पढ्न जान्छन् । त्यसमध्येका अधिकांश विद्यार्थी रोल्पाका पनि रुकुम पश्चिमकै सदरमुकाम आएर पढ्छन् । मालिका माविमा पनि अब प्राविधिक धारको पठनपाठन सुरु गर्ने गरी छलफल भइरहेको छ ।


प्राविधिक शिक्षाको पठनपाठन ९ कक्षादेखि सुरु गर्नेकी एसईईपछि गर्ने भन्ने छलफलकै क्रममा रहेको वडा शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार समितिका संयोजक धनबहादुर खड्काले बताए । ‘वडा हुँदै नगरपालिकासम्म मालिका माविमा प्राविधिक पठनपाठन गर्ने भन्ने टुंगो लागिसकेको छ,’ शिक्षा संयोजक खड्काले भने, ‘९ कक्षाबाटै सुरु गर्ने कि एसईईपछि गर्ने भन्ने टुंगिएपछि मात्रै आवश्यक प्रक्रिया अघि बढाइनेछ ।’

प्रकाशित : माघ ५, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?