वडा कार्यालयमा इन्टरनेट

सौर्यऊर्जा भएका सार्वजनिक स्थानमा पनि इन्टरनेट जडानलाई तीव्रता

मुगु — खत्याड गाउँपालिकाकाको ६, ८, ९ र ११ वडा कार्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ । गाउँपालिकाका दुर्गम मानिने वडा कार्यालयमा इन्टरनेट सेवा सुरु भएसँगै सरकारी सेवा प्रवाह सहज भएको छ । 

इन्टरनेट सेवा आसपासका क्षेत्रका स्थानीयलाई समेत दिइएको वडा कार्यालयले जनाएको छ । ९ नम्बर वडाका अध्यक्ष नरेन्द्रबहादुर रोकायाले इन्टरनेट सेवा सुरु भएसँगै विभिन्न सरकारी कामकाज सञ्चालन गर्न सजिलो भएको बताए ।


नेपाल दूरसंचार प्राधिकरण सँगको सहकार्यमा वल्र्डलिंकले स्थानीय तहका वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा नि:शुल्क इन्टरनेट जडान कार्यलाई तीव्रता दिएको उनको भनाइ छ । खत्याड गाउँपालिकाको केन्द्र माझचौरमा यसअघि नै इन्टरनेट सेवा सुरु भएको थियो ।


इन्टरनेट सुविधा भएपछि कार्यालयका कामकाजलाई प्रविधिमैत्री बनाइन थालेको गाउँपालिका प्रमुख उब्जन शाहीले बताए । उनले ११ वटै वडा कार्यालयमा इन्टरनेट जडान गर्ने योजना रहेको जनाए । उनका अनुसार सौर्यऊर्जा भएका सार्वजनिक स्थानमा पनि इन्टरनेट जडानलाई तीव्रता दिइएको छ ।


वल्र्डलिंकका परियोजना सहायक खगेन्द्र शाहीले विद्युत् पुगेका स्थानलाई प्राथमिकता दिइ जिल्लाभर इन्टरनेट जडान गरिरहेको जनाए । उनका अनुसार अहिले नि:शुल्क इन्टरनेट जडानको काम भइरहेको छ ।


छायाँनाथरारा नगरपालिकाका सबै वडा कार्यालयमा इन्टरनेट सुविधा विस्तार थालिएको नगर प्रमुख हरिजंग शाहीले बताए । जिल्लाको चार स्थानीय तहमध्ये सोरु र मुगमकार्मारोङ गाउँपालिकामा इन्टरनेट सेवाको पहुँच पुग्न सकेको छैन ।

प्रकाशित : माघ ६, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?