२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अन्न छाडेर बेसार

विप्लव महर्जन

सल्यान — कालिमाटी गाउँपालिकाको काल्चे घुरचौरका हरिबहादुर खड्काले गत वर्ष उत्पादन भएको २५ क्विन्टल बेसारबाट दुई लाख ५० हजार कमाए । यो वर्ष पनि बेसार खेतीबाट दुई लाख आम्दानी भएको छ ।

अन्न छाडेर बेसार

उनकै छिमेकी शेरबहादुर ओलीले दुई रोपनी जग्गामा लगाएको बेसारबाट तीन वर्षको अवधिमा चार लाख रुपैयाँ आम्दानी गरेका छन् ।


बेसारबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरू मात्र होइन, काल्चे घुरचौरका ६० परिवारले खाद्यबाली लगाउन छोडेर व्यावसायिक बेसार खेती सुरु गरेका छन् । उनीहरूले वार्षिक दुई सय ५० रोपनी बढी क्षेत्रफलमा उन्नत जातको बेसार खेती गर्दै आइरहेका छन् ।


स्थानीय बजारमै एक सय ५० देखि दुई सय रुपैयाँ प्रतिकिलोमा बेसार बिक्री हुने भएकाले उनीहरू हौसिएका हुन् । उच्च मूल्य कृषिवस्तु विकास आयोजनाको सहयोगमा सुरु गरिएको किसानको बेसार खेती पछिल्लो समय फस्टाउँदै गएको छ । आम्दानी राम्रो, खेती गर्न सजिलो र बजारको समस्या नभएकाले बेसार खेती बढिरहेको स्थानीय हरिबहादुर खड्काले बताए । बेसार खेतीमा लागेपछि घरमै रोजगारी मिलेको उनको भनाइ छ ।


उनका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण गाउँका सबै युवा कमाइ गर्न भारतका विभिन्न ठाउँमा जाने गरेका थिए । व्यावसायिक बेसार खेती सुरु गरेपछि मजदुरीका लागि भारत जानुपर्ने बाध्यता कम भएको उनको भनाइ छ ।


अन्नबालीभन्दा राम्रो कमाइ हुने भएकाले दुई रोपनी जग्गामा बेसार लगाउने गरेको स्थानीय शेरबहादुर ओलीले बताए । उनले गत वर्ष सबै खर्च कटाएर एक लाख ५० हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । ‘विगतमा बेसारको परम्परागत खेती गर्दै आएका थियौ, खासै उत्पादन पनि हुँदैनथ्यो,’ उनले भने, ‘व्यावसायिक बनाएपछि घरमै बसीबसी राम्रो आम्दानी हुन थालेको छ ।’


उनले अहिले युवालाई कालापहाड जानुपर्ने बाध्यताको अन्त्य भएको जनाए । एक रोपनीमा सातदेखि १० क्विन्टल उत्पादन हुने भएकाले अन्य बालीभन्दा बेसारबाट राम्रो आम्दानी हुने गरेको स्थानीय प्रेमबहादुर ओलीले जनाए । उनले आगामी वर्ष चार रोपनी जग्गामा बेसार खेती विस्तार गर्ने योजना बनाएको जानकारी दिए । उनले उत्पादित बेसार भारतका विभिन्न ठाउँमा पठाउन थालेको जनाए ।


आयोजनाले बेसार खेतीमा सिँचाइ गर्न एक हजार तीन सय मिटर कुलो निर्माण गरेको छ । सिँचाइ सुविधा भएपछि खेतीमा सहयोग पुगेको बेसार उत्पादन समूहका अध्यक्ष हरिबहादुर खड्काले बताए । उनका अनुसार पहिलो वर्ष ८४ रोपनी जग्गामा बेसार खेती गरिएको थियो ।


जसबाट २५ हजार ६ सय किलो उत्पादन भएको थियो । उनका अनुसार यस वर्ष दुई सय ५० रोपनी जग्गामा लगाएको बेसारबाट ४० हजार किलो उत्पादन भएको छ । उनका अनुसार बेसार खेतीबाट गाउँमा करिब १५ करोड रुपैयाँ बर्सेनि भित्रिने गरेको छ ।


कृषि ज्ञान केन्द्रले अदुवाजस्तै जिल्लाको बेसारले ख्याति पाउन थालेको जनाएको छ । काल्चेका किसानले बेसारबाट राम्रो आम्दानी गरिरहेको वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले बताए । उनका अनुसार नगदे बाली भएकाले किसानले राम्रो आम्दानी गर्न थालेका छन् । कार्यालयले बेसार खेती गर्ने किसानलाई विभिन्न सहयोग उपलब्ध गराइरहेको उनको भनाइ छ ।

प्रकाशित : माघ ६, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?