२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जीर्ण भवनमा पढाइ

विद्यालय भवनको चारैतिरबाट भित्ता चर्किएको छ । वर्षातको समयमा पानी चुहिने गरेको छ । 
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–६, खत्रीपोखरीस्थित लक्ष्मी प्राथमिक विद्यालयका बालबालिका जीर्ण भवनमा जोखिम मोलेर पढ्न बाध्य छन् ।

पाँच कोठा रहेको विद्यालयको कक्षा २ देखि ५ सम्मका ४० जना बालबालिकालाई जोखिमपूर्ण भवनमा अध्ययन गर्नुपर्ने बाध्यता भएको हो ।विद्यालय भवनको चारैतिरबाट भित्ता चर्किएको छ । वर्षातको समयमा पानी चुहिने गरेको छ ।

सरोकारवाला निकायको बेवास्ताका कारण जीर्ण भवनमा पठनपाठन गराइरहेको प्रधानाध्यापक खिमबहादुर भण्डारीले बताए । ‘तीन वर्षअघि गएको भूकम्पले भवन चर्किएको छ,’ उनले भने, ‘कुन बेला भत्कने हो भन्न सकिन्न ।’ विद्यालयमा दुई भवन भए पनि नयाँ भवनमा कार्यालय, कक्षा १ र बालशिक्षा सञ्चालन भइरहेको छ ।

उनका अनुसार २०४८ सालमा विद्यालय स्थापना हुँदा स्थानीयको श्रमदानमा निर्माण भएको भवनमै पढाइ सञ्चालन भइरहेको हो । भवन निर्माण गरेको २७ वर्ष भए पनि सरकारी निकायको बेवास्ता भइरहेको उनको गुनासो छ । उनले छाना फेर्नेबाहेक मर्मतको अरू कुनै काम नभएको जनाए ।

भवनकै समस्याका कारण बालबालिकालाई कहिलेकाहीं चौरमा फर्निचर राखेर पढाउने गरिएको शिक्षकको भनाइ छ । नयाँ भवन निर्माण तथा पुरानो मर्मतका लागि शारदा नगरपालिकामा माग गरेको विद्यालयले जनाएको छ । विद्यालयकी शिक्षिका गोमा केसीले भवनको अवस्था समस्याग्रस्त भए पनि अरू विकल्प नहुँदा जोखिम मोल्नुपरेको बताइन् । उनका अनुसार भवनकै समस्या कारण विद्यार्थी नियमित उपस्थित हुँदैनन् । उनका अनुसार विद्यालयमा ५५ जना विद्यार्थी भर्ना भएका छन् ।

सदरमुकाम नजिकैको विद्यालय भए पनि वर्षाैंदेखि बेवास्ता गरिएको व्यवस्थापन समिति अध्यक्ष जितबहादुर बस्नेतले बताए । विगतमा एक सयभन्दा बढी विद्यार्थी भएको विद्यालयमा भवनकै समस्याले बर्सेनि विद्यार्थी घट्दै गएको उनको भनाइ छ । विद्यालयमा नियमित बालबालिकाको उपस्थित गराउन र व्यवस्थित गर्ने प्रयास गर्दै आए पनि पूर्वाधार अभावकै कारण समस्या भएको उनले जनाए ।

तीन जनाको दरबन्दी रहेको विद्यालयमा अहिले दुई मात्र शिक्षक कार्यरत छन् । शिक्षक अभाव भएपछि आफूले पनि नियमित पठनपाठन गराइरहेको कार्यालय सहयोगी भीमबहादुर बुढाथोकीले बताए । ‘कहिलेकाहीं शिक्षक नआउँदा कक्षाकोठा खोल्ने, सरसफाइ गर्ने, पढाउनेदेखि सबै काम गर्नुपरिरहेको छ,’ उनले भने, ‘कार्यालय सहयोगी भए पनि काम शिक्षकको गर्नुपरेको छ ।’

प्रकाशित : माघ ७, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?