कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सुक्खा पहिरोले गाउँ जोखिम

तुलाराम पाण्डे

नरहरिनाथ, कालीकोट — गाउँमुनिको सुक्खा पहिरोले नरहरिनाथ ६ माल्कोट कोलडाडास्थित पाङ्ग्राटोलका एक सय ५० घर जोखिममा परेका छन् ।

सुक्खा पहिरोले गाउँ जोखिम

पहिरोको डरले वर्षायाममा स्थानीयवासी नै नबस्ने गाउँमा हिउँदको समयमा सुक्खा पहिरोसमेत झर्ने गरेको छ । पहिरो बर्सेनि बढ्दै गएको छ ।


हिउँदमा सुक्खा रूपमा माटो झर्ने र वर्षामा पूरै पहिरो खस्न गरेकाले पूरै गाउँ जोखिममा छ । गत वर्ष मात्र यहीको पहिरोले तीनवटा घर र दुई गोठ बगाएपछि अधिकांश स्थानीयले घर छाडेर लेकतिर बसाइ सरेको वडाध्यक्ष तुलाराज विश्वकर्माले बताए । उनले पूरै बस्ती संकटमा परेकाले गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको सुनाए ।


पहिरो बर्सेनि फैलिँदै गाउँ नै बग्ने अवस्थामा पुगेपछि यहाँका बासिन्दा संकटमा परेको वडाध्यक्ष विकले बताए । पहिरोले अहिलेसम्म ६० रोपनी खेतीयोग्य जमिन, एक सयवटा उत्तिसका रूख, दुई पानीका मुहान, दुई मूल बाटो, ९ सय मिटर पाखो बारी बगाएको उनको भनाइ छ ।


‘पहिरो सर्दै गाउँसम्म पुगिसकेको छ,’ स्थानीय राधिका शाहीले भनिन्, ‘गाउँ पूरै पहिरोले घेरिसक्यो ।’ उनले पहिरो रोकथाम गर्न वृक्षारोपण गरिए पनि बग्न नछाडेकाले थप समस्या भएको बताइन् । उनका अनुसार स्थानीय बासिन्दा पहिरोबाट जोगिन घर छाडेर बस्ने गरेका छन् । उनीहरू दिउँसो पहिरो नजिकको खेतबारीमा काम गर्न गए पनि राति बास बस्न डर हुने भएकाले घर छाडेर बस्ने गरेको स्थानीय जनक बटालाले बताए । उनीहरूमध्ये अधिकांशको रातिको बास छिमेकी गाउँमा हुने गरेको छ भने वर्षा याममा गाईभैंसीसहित लेकतिर बस्ने गरेका छन् ।


नरहरिनाथ गाउँपालिकाको माल्कोट मात्र नभएर लालु, रुप्सा, कुमालगाउँसहितका दर्जनभन्दा बढी ठाउँमा पहिरो खस्ने समस्या रहेको छ । बहुरोकारवाला जलकचहरी कार्यक्रमको सहजीकरणमा हालै नरहरिनाथ गाउँपालिकाको ९ वटै वडामा गरिएको संकटासन्नता जोखिम विश्लेषणमा पालिकाभर ३७ ठाउँमा पहिरो जाने गरेको देखिएको छ ।


‘प्रत्येक वडामा ४/५ ठाउँमा पहिरो जाने गरेको पाइयो,’ जलकचहरी कार्यक्रम अधिकृत रमेशकुमार चन्दले भने ‘७/८ ठाउँमा त ठूलो पहिरो जाने गरेको पाइयो ।’ बढ्दो वन विनाश, वातावरणीय प्रभाव मूल्यांकनविना खनिएका सडक, बढ्दो चरिचरनलगायत समस्याले पहिरो निम्त्याएको उनले सुनाए । उनका अनुसार नरहरिनाथ र राजापुरमा पानीका सवालमा छलफल गर्न आयोजित जलकचहरीमा समुदायबाट आएका समस्या समाधानका लागि स्थानीय जनप्रतिनिधिले पहल गर्ने प्रतिबद्धता गरेका छन् ।


नरहरिनाथ गाउँपालिकाको समन्वयमा सम्बन्धित वडाको अगुवाइमा भएको जोखिम विश्लेषणमा नरहरिनाथमा पहिरो, बाढी, सुक्खा खडेरी, असिना पानी, भूक्षय, कीराको प्रकोप, चट्याग, ढुंगा खस्नेलगायत समस्या पाइएको छ । नरहरिनाथमा सबै खालका विपद्बाट बच्न जोखिम विश्लेषण गरेर समुदायअनुकूल कार्ययोजना र स्थानीय अनुकूल योजना बनाएर काम गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले बताए ।


‘विपद्बाट बच्न सबै खालका उपायको खोजीमा छांै,’ अध्यक्ष विष्टले भने, ‘वातावरणीय संरक्षणको शिक्षा दिन विद्यालय र समुदायस्तरमा सचेतनाका अभियान पनि सञ्चालन गर्नेछौं ।’ उनले वृक्षारोपण, पानीको मूल संरक्षण, ग्याबिन पर्खाल, बायो इन्जिनियरिङका क्रियाकलापसहित योजना बनाउने तयारी भइरहेको जनाए ।


पहाडबाट खस्ने पहिरो र बग्ने माटोले तराईको डुबान कम गर्न बर्दियाको राजापुर नगरपालिका र कालिकोटको नरहरिनाथ गाउँपालिकाबीच सहकार्य थालिएको छ । दुवै स्थानीय तहका जनप्रतिनिधिबीच संयुक्त जलकचहरी, अध्ययन भ्रमण, समस्या पहिचान र समाधानका उपायबारे छलफल थालिएको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् ।


उनले कर्णाली बेसिन उत्थानशील जलस्रोत व्यवस्थापन बहुसरोकारवाला जलकचहरी मार्फत गत महिना राजापुर र नरहरिनाथका जनप्रतिनिधिबीच पहाडको पहिरो रोक्न र तपार्इंको बाढीबाट जोखिन संयुक्त कार्ययोजना निर्माण

भएको सुनाइन् ।

प्रकाशित : माघ ७, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?