कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

स्वास्थ्य संस्थालाई ४ एम्बुलेन्स

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, लेखपोखरासहित स्वास्थ्य चौकी दमाचौर, भोटेचौर र झिम्पेलाई एम्बुलेन्स उपलब्ध गराएको छ । स्थानीय बासिन्दाको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन चार एम्बुलेन्स उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । 

स्वास्थ्य संस्थालाई ४ एम्बुलेन्स

एम्बुलेन्स उपलब्ध गराइएपछि ६ वटै वडाका करिब १२ हजार बासिन्दाको स्वास्थ्य सेवामा सहज पहुँच पुगेको छ । गाउँपालिकाले लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई गत वर्ष र दमाचौर, झिम्पे र भोटेचौर स्वास्थ्य चौकीलाई यो वर्ष एम्बुलेन्स उपलब्ध गराएको हो । बर्थिङ सेन्टर र गम्भीर बिरामीलाई मध्यनजर गरेर गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको थियो । एम्बुलेन्स सुविधा भएपछि स्थानीयलाई बिरामी भएको अवस्थामा स्टेचरमा बोकेर बाहिर लैजानुपर्ने बाध्यताको अन्त्य भएको छ । लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रले जिल्ला अस्पतालमा रिफर गरेका बिरामीलाई यसअघि उपचारका लागि लैजान समस्या हुने गरेको थियो ।


स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपलब्ध गराइएपछि धेरै राहत भएको लेखपोखराकी कमला ओलीले बताइन् । ‘गाउँमा कोही बिरामी भयो या सुत्केरी गराउन स्वास्थ्यचौकी पुर्‍याउनुपर्‍यो भने निकै समस्या हुन्थ्यो, स्टेचर तथा मान्छेले डोकोमा बोकेर लैजानुपर्ने बाध्यता थियो,’ उनले भनिन् ‘अहिले घर नजिकै एम्बुलेन्स आएपछि जिल्ला अस्पतालमा उपचारका लागि बिरामी लैजान सजिलो भएको छ ।’ उनले एम्बुलेन्स सुबिधाले गम्भीर बिरामी र सुत्केरी हुने महिलालाई धेरै राहत भएको जनाइन् । दमाचौरकी विमला भण्डारीले एम्बुलेन्स सुविधा भएपछि बिरामीको स्वास्थ्य सेवा तथा उपचारमा सहज पहुँच पुगेको बताइन् ।


गाउँपालिकाले एम्बुलेन्स उपलब्ध गराएपछि बिरामीले छिटो र सहजै सबै प्रकारका उपचार सुविधा पाउन थालेको वडा नं. ३ का अध्यक्ष राजबहादुर बुढाथोकीले बताए । ‘भन्ने बित्तिकै गाडी पाउन नसकिने भएकाले स्थानीयबासी बिरामी पर्दा बाहिर लैजान ठूलो समस्या थियो,’ उनले भने, ‘एम्बुलेन्स सुविधा भएपछि स्थानीयले सानो स्वास्थ्य समस्या हुँदा पनि उपचारका लागि चासो देखाउन थालेका छन् ।’ उनका अनुसार यसअघि श्रीनगर र खलंगाबाट एम्बुलेन्स मगाउनुपर्ने बाध्यता टरेको छ ।


गाउँपालिकाले स्थानीयको माग अनुसार ३२ लाख ८५ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरेर चार स्वास्थ्य संस्थालाई उपलब्ध गराएको अध्यक्ष सन्तोष केसीले बताए । स्वास्थ्य संस्थालाई उपलब्ध गराएको एम्बुलेन्सले अरूभन्दा सस्तो भाडादरमा स्थानीयलाई सुविधा दिने उनको भनाइ छ । स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन र कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर एम्बुलेन्स स्वास्थ्य संस्थालाई वितरण गरिएको उनी बताउँछन् ।

प्रकाशित : माघ ८, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?