कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

छिन्चु–जाजरकोट सडक जीर्ण

जाजरकोट/दैलेख — छिन्चु– जाजरकोट सडक कालोपत्रे भएको ४ वर्ष नपुग्दै जीर्ण भएको छ । खलंगादेखि छेडाचौर खण्डको दर्जनौं स्थानमा कालोपत्रे उम्किएर खाल्डाखुल्डी बनेका छन् । सडकमा खाल्डाखुल्डी हुँदा यात्रुलाई आवतजावतमा सास्ती हुने गरेको छ ।

छिन्चु–जाजरकोट सडक जीर्ण

सडकको कालोपत्रे उम्किएर बनेका खाल्डाखुल्डी र गिट्टी–बालुवा यत्रतत्र छरिएपछि यातायात सेवा जोखिमपूर्ण भएको छ । व्यवसायी कम्पनीहरूको गुणस्तरहीन निर्माण कार्यका कारण सडक छोटो समयमै जीर्ण भएको सरोकारवालाको आरोप छ ।


विश्व बैंकको आर्थिक सहयोगमा सडक विभागले चार वर्षअघि उक्त सडकको सुर्खेतको पोखरेदेखि जाजरकोट सदरमुकाम खलंगासम्मको ८१ किलोमिटर कालोपत्रे (ओटासिल) कार्य सम्पन्न गरेको थियो । पासागाडखोला, फेराखोला पुल, कालाभीर, आली, छेडाचौरलगायत दर्जनौं स्थानमा सडकको कालोपत्रे उप्किएको छ । नाली, पर्खाललगायत संरचना भत्किँदा बीच सडकमा पानी बग्ने हुँदा थप समस्या भएको छ । निर्माण कम्पनीको गुणस्तरहीन कार्यले सडक भत्किएको स्थानीय कमानबहादुर खड्काले बताए । ‘छोटो समयमै कालोपत्रे उप्किनुले सडक विभागका प्राविधिक, परामर्शदाता र व्यवसायीको मिलोमतो देखिन्छ,’ उनले भने, ‘यसमा गहिरोसँग छानबिन गरिनुपर्छ ।’


सदरमुकाम प्रवेश गर्ने पक्की सडकमा २ वर्षदेखि खाल्डाखुल्डी परेर पानीको ताल परेको छ । यससम्बन्धी निकाय भने मौन छन् । भेरी नगरपालिका–११, पासागाडखोला नजिकैका खाल्डाले यात्रुलाई भेरी नगरपालिका–११, पासाखोलामा सास्ती दिएको छ ।


त्यस्तै पासागाड खोलामा लामो समयसम्म पुल निर्माण नहुँदा थप सास्ती भएको छ । भेरी नगरपालिका–११, पासाखोला सडक डिभिजन कार्यालय, जनप्रतिनिधिलगायत निकायको बेवास्ताका कारण खाल्डाखुल्डी परेको उक्त सडकमा सवारी दुर्घटना बढ्ने देखिएको चालक भीमबहादुर बुढाले बताए ।


खलंगादेखि छेडाचौरसम्मको ३९ किलोमिटर दूरीको सडकमा दर्जनौं ठाउँमा पहिरो तथा पानीका कारण खाल्डाखुल्डुी परी सडकको अवस्था बिग्रेको बुढाले बताए । ‘सडकको सयौं स्थानमा कालोपत्रे उम्किँदा दुर्घटनाको खतरा झन् बढेको छ,’ उनले भने, ‘कालोपत्रे सडक भन्नु मात्र छ, जताततै खाल्डाखुल्डी छन् ।’


सडक जीर्ण बनी यात्रुलाई सास्ती भएको जनगुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको टोलीले उक्त सडक खण्डको आइतबार अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा सडकका विभिन्न स्थानमा खाल्डाखुल्डी फेला परेको प्रजिअ बस्नेतले बताए ।


जीर्ण सडकलाई तत्काल सुधार्न सडक डिभिजन कार्यालय चौरजहारीलाई निर्देशन दिइएको उनको भनाइ छ । ‘फेरा पुल, पासगाडखोला किनारा, आलीलगायत स्थानमा बढी समस्या भएको पाइयो,’ उनले भने, ‘पहिरो खस्दा र पानीको निकास नहुँदा सडक भत्केको देखिन्छ ।’ फेराखोला पुलको दुवै छेउमा पुल निर्माण कम्पनीले सडक स्तरोन्नतिको कार्य पूरा नगर्दा समस्या देखिएको उनले बताए ।


७७ मिटर लम्बाइ फेराखोला पुल ६ करोड लागतमा आशिष निर्माण सेवाले गरेको थियो । जीर्ण सडकको मर्मत सुधारमा सडक डिभिजन कार्यालय चौरजहारीले पनि समयमा ध्यान नदिँदा समस्या भएको उनले बताए । छिन्चु–जाजरकोट सडकको सुर्खेतको पोखरेदेखि खलंगा खण्डको ५० करोड लागतमा कालोपत्रे गर्ने कार्य आशिष गोर्खा जेभी, वाइपी/गौरीपार्वती जेभी र हिन्दुङ/थोकर/भैरव जेभीले गरेका थिए ।


सडकको भत्केको बिग्रेको स्थानमा तत्काल सुधार गर्न लागेको सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन इन्जिनियर नरेन्द्र भट्टले बताए । ‘यसअघि के कति कारणले सडक मर्मतमा लापरबाही भयो मलाई थाहा भएन,’ उनले भने, ‘म भर्खरै कार्यालय प्रमुख भएर आएको छु, अब अनुगमन गरी समस्या समाधानमा लाग्नेछु ।’


सडकमा खाल्डैखाल्डा

सुर्खेतबाट दैलेख हुँदै विभिन्न जिल्ला जाने मुख्य सडकका अधिकांश स्थानमा खाल्डैखाल्डा भएपछि यातायात सञ्चालनमा समस्या भएको छ । सडक जीर्ण बन्दै गएपछि दैलेखको गुराँसे–सियाकोट हुँदै सञ्चालन हुने यातायातका साधन सञ्चालनमा समस्या भएको हो ।


सुर्खेतबाट काटिकोट, मुगु, जुम्ला र अछामसम्म सञ्चालन हुने यातायातका साधनलाई सडक जीर्ण बन्दा आउजाउमा समस्या भएको हो । सुर्खेतदेखि दैलेखसम्मको ६७ किलोमिटर सडक खण्ड बढी जीर्ण भएको यात्रुको गुनासो छ । सडकमा भएका हजारौं खाल्डाखुल्डीले यात्रा सास्तीपूर्ण बनेको यात्रुको गुनासो छ । २०५४ सालमा निर्माण सुरु भएको सुर्खेत–दैलेख सडकमा दैनिक सयौं सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् ।


२०७० सालदेखि सडकको स्तरवृद्धिका लागि कालोपत्रे गरिए पनि गुणस्तरीय नहुँदा यात्रुहरू सास्ती भोग्न बाध्य भएका हुन् । सडक निर्माणको जिम्मा लिएका कम्पनीको लापरबाहीका कारण समस्या भएको गुराँस गाउँपालिका–५ का रामबहादुर खड्काले बताए ।


उनका अनुसार करोडौं लगानी गरिएका सडक मर्मतमा कसैले चासो दिएका छैनन् । सुर्खेत–दैलेख सडक खण्डको सियाकोटसम्म निकै साँघुरो सडक भएकाले पनि यातायात सञ्चालनमा समस्या भएको उनी बताउँछन् । ‘प्रदेश वा केन्द्र सरकारले सडकको स्तरोन्नति गर्नुपर्ने भए पनि बेवास्ता गरिरहेका छन्,’ उनले भने, ‘कम्तीमा सडक स्तरोन्नति र चौडा गरिए यात्रुलाई सहज हुने थियो ।’


रारा पुग्ने अधिकांश पर्यटक यही बाटो हुँदै जाने गरेको स्थानीय बताउँछन् । पञ्चकोशी क्षेत्रको कोटिला, शिरिस्थान, नाभिस्थान, पादुका हुँदै धुलेश्वरसम्म जाने धार्मिक पर्यटन सडकलाई तत्काल कालोपत्रे गर्नुपर्ने स्थानीयको माग छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ६ महिनामा सुर्खेत–दैलेख खण्डमा भएको दुर्घटनामा २५ जनाले ज्यान गुमाइसकेका छन् । यो अवधिमा भएको दुर्घटनामा एक सय १२ जना घाइते भएको प्रहरी निरीक्षक प्रेम क्षेत्रीले बताए । उनका अनुसार जीर्ण र साँघुरो सडकका कारण पछिल्ला समयमा दुर्घटना धेरै बढेका छन् ।


प्रहरीका अनुसार गाईवान्नादेखि गुराँस र सियाकोट खण्ड निकै जोखिमपूर्ण छ । सुर्खेतबाट उकालो र गुराँसे पुगेपछि ओरालो झर्नुपर्ने बाध्यताले दुर्घटना धेरै बढेको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रकाशित : माघ ८, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?