कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँपालिका कृषि एप्स

सल्यान — कपुरकोट गाउँपालिकाले कृषि मोबाइल एप्स सुरुवात गरेको छ । कपुरकोटको कृषि क्षेत्रको प्रबद्र्धनका लागि गाउँपालिकाले औपाचारिक कार्यक्रमबीच कृषि एप्स सार्वजनिक गरेको हो । 

‘कृषि कपुरकोट’ नामक मोबाइल एप्स किसानले आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर मौसम, कृषि र प्रविधि सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।


किसान इन्टरनेटको पहुँचमा नहुने भएकोले मोबाइलबाट एकपटक डाउनलोड गरेपछि अफलाइन सेवामार्फत घरमै बसेर विभिन्न जानकारी लिनसक्ने प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए । उनका अनुसार एप्समा कृषि प्रविधि, विज्ञ सुझाव तथा च्याट, कृषि सूचना/समाचार, बजार भाउ, मौसम पूर्वानुमान, कृषि तालिम, कृषि दस्ताबेज, ग्यालरी, अत्यावश्यक फोन नम्बर तथा विज्ञ विवरणसमेत समावेश गरिएको छ ।


‘किसानले आफ्ना समस्या मोबाइल एप्सबाटै कृषि विज्ञलाई च्याटमार्फत राख्न तथा फोन गरेर सोध्न सक्छन्,’ प्रमुख प्रशासकीय अधिकृत रिजालले भने, ‘कपुरकोट क्षेत्रको कृषिलाई माथि उठाउन एप्लिकेसनले ठूलो सहयोग पुर्‍याउने हाम्रो अपेक्षा छ ।’


कपुरकोट ताजा तरकारी र फलफूल खेतीका लागि पकेट क्षेत्रको रूपमा विकसित छ । यहाँका अधिकांश किसानहरू तरकारी खेती गरेर आयआर्जन गर्दै आएका छन् । किसानलाई नयाँ प्रविधिबारे जानकारी गराउन र खेती गर्दा आइपर्ने समस्यालाई तत्काल समाधान गर्न एप्स सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए ।


सूचना तथा सञ्चार प्रविधिमा आएको परिवर्तनसँगै किसानको हातहातमै सूचना पुर्‍याउन आफ्नै लगानीमा गाउँपालिकाले ‘कृषि कपुरकोट’ एप्स सञ्चालन गरेको उनले जानकारी दिए । उनका अनुसार किसानका लागि यो एक महत्वपूर्ण एप्स हो ।

प्रकाशित : माघ ९, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?