सडकको स्तरोन्नति हुँदै

हरि गौतम

रुकुम पश्चिम — जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका–१, स्थित जिल्लाको मुख्य बजारको मुख्य सडकको स्तरोन्नति हुने भएको छ । कालिका मन्दिरदेखि बह्राटाकुरासम्मको झन्डै एक किलोमिटर सडकको स्तरोन्नति हुन लागेको हो ।

सघन सहरी विकास कार्यक्रमअन्तर्गत खलंगा बजारको मुख्य सडकमा पार्किङ टायल बिछ्याएर स्तरोन्नति गरिनेछ । सडक स्तरोन्नतिको क्रममा व्यवस्थित ढल निकास पनि बनाइनेछ । सडक स्तरोन्नतिका लागि भ्याटसहित दुई करोड ७१ लाख रुपैयाँमा ठेक्का सम्झौता भसकेको छ । यति विल्डर्स/कोशी न्यौपाने जेभीले सडक स्तरोन्नतिको जिम्मा लिएको छ ।


सघन सहरी विकास कार्यक्रम अन्तर्गत संघीय कार्यान्वयन इकाई सुर्खेत मार्फत निर्माण कम्पनीले सडक स्तरोन्नतिको काम थालेको हो ।


पहिलो चरणमा सडकको केन्द्र र दायाँबायाँ भाग छुट्याउने काम सकिएको छ । नापी कार्यालय, संघीय कार्यान्वन इकाई सुर्खेत र निर्माण कम्पनीले सडकको स्तरोन्नतिका लागि सडकको केन्द्र भाग र दायाँबायाँ छुट्याउने काम सकेका छन् । सडकका लागि आवश्यक जग्गा छुट्याइसकेपछि सर्भे र डिजाइनको काम हुने र सडक स्तरोन्नतिको थप काम अघि बढाइने निर्माण कम्पनीका प्रतिनिधि कमल बुढाले बताए ।


गत साउन महिनामा सघन सहरी विकास कार्यक्रम र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौताबमोजिम आगामी असोज महिनामा स्तरोन्नतिको काम सक्नुपर्नेछ । सम्झौतामा स्तरोन्नति गर्दा पाँच मिटर सडक बनाउनुपर्ने उल्लेख छ । सडक स्तरोन्नतिको काम भनेको भन्दा ढिला सुरु भएको बुढाले बताए ।


सरकारी निकायको तर्फबाट कुन कार्यालयमार्फत सडक निर्माण गर्ने भन्ने टुङ्गो लाग्न ढिला भएकाले सडक स्तरोन्नतिको काम गर्न पनि ढिलो भएको भनाइ उनको छ । मुख्य बजारको सडक स्तरोन्नति हुने भएपछि स्थानीय खुसी भएका छन् । पुरानो तथा धेरै भीडभाड हुने बजारको सडक राम्रो नहुँदा सर्वसाधारणलाई समस्या छ ।


घर–टहरा हटाइँदै

सडक मिचेर बनाइएका र सडक आसपासका घरटहरा चौरजहारी नगरपालिकाले हटाउन थालेको छ । मुख्य सडक आसपासमा रहेका घर तथा टहराहरू हटाउन काम थालिएको नगरपालिकाले जनाएको छ ।


चौरजहारी उपत्यकादेखि १४ नम्बर वडाको नुवाकोटसम्मको सडक आसपासका घरटहरा हटाउन लागिएको नगरपालिकाले जनाएको छ । सडकको बीच भागबाट ११ मिटर दायाँ, बायाँमा पर्ने सबै घरटहरा हटाउन लागिएको नगर प्रमुख विशाल शर्माले बताए ।


यातायात आवागमनलाई सहज बनाउने र दुर्घटनालाई न्यूनीकरण गर्न सडक फराकिलो बनाउन लागिएको नगर प्रमुख शर्माले बताए । नगरपालिकाले सडक आसपासमा पर्ने घर टहरा हटाउन सूचना जारी गरेको छ । नगरले सूचना जारी गरेपछि सडक आसपासका स्थानीयले आ–आफ्ना घरटहरा हटाउन थालेका छन् ।


‘सडकले छुने घर टहरा हटाउन ७ दिनको सूचना निकालेपछि नगरबासीले हटाउन थाल्नु भएको छ,’ नगरप्रमुख शर्माले भने, ‘नगरले थालेको काममा नगरबासीको सहयोग भइरहेको छ ।’


घरटहरा हटाउन अटेरी गरेमा नगरपालिकाले नै उक्त घरटहराहरू हटाइदिने गरी सूचना जारी गरेको थियो । घरटहरा हटाउन सूचना निकालेर पनि अटेरी गरेको खण्डमा नगर आफैंले घरटहरा हटाउने र घरटहरा हटाउन लाग्ने खर्च सम्बन्धित घरधनीबाटै असुल गर्ने नगरले जनाएको छ । नगरकै विकासका लागि काम गर्न थालिएकाले स्थानीयको सहयोग पनि अपरिहार्य भएको भनाइ शर्माको छ ।

प्रकाशित : माघ ९, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?