कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जीर्ण सडक मर्मत भएन

‘गमगढीदेखि झ्यारी खोलासम्मको सडकमा ढल निकास नहुँदा हिउँदमा पनि हिलाम्मे हुने गरेको छ’ 
राजबहादुर शाही

मुगु — जिल्लाको मुख्य गमगढी–नाग्मा सडक जीर्ण बनेपछि यात्रुलाई सास्ती भएको छ । वर्षामा हिलाम्मे र घाम लागेको समयमा धुलाम्मे हुने सडकका कारण रारा भ्रमणमा आउने पर्यटकले समेत लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । 

जीर्ण सडक मर्मत भएन

घाम लागेको बेला धूलो उडेर जिप, गाडी, मालवाहक ट्रक र मोटर साइकल छुट्याउनै नसकिने स्थानीयको भनाइ छ । जीर्ण सडकका कारण गन्तव्यमा पुग्दा यात्रु धुलाम्मे हुने गरेका छन् । हिमपात र झरी भएको समयमा हिलोमा फसेर गाडी तान्न यात्रुलाई मुस्किल हुने गरेको छ ।


रारा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण गमगढी–नाग्मा सडकमा सवारी साधनको चाप हुने गरेको छ । जहाजमा महँगो भाडा र टिकट पाउन मुस्किल हुने गरेकाले अधिकांश पर्यटक सडक मार्गबाटै आउने गरेका छन् । जुम्लाको कनकासुन्दरी, सिँजा र हिमा गाउँपालिका तथा मुगुका अधिकांश स्थानका बासिन्दाले यही सडकबाट यात्रा गर्छन् ।


नेपाली सेनाद्वारा निर्माण गरिएको ९४ किलोमिटरको सडकमा २०६९ सालबाट यातायातका साधन सञ्चालन हुन थालेका हुन् । अहिलेसम्म कालोपत्रे नहुँदा यात्रुलाई आउजाउमा सास्ती भएको हो । सडकका अधिकांश स्थानमा पर्ने खोलामा पुल र कलभर्ट बन्न सकेका छैनन् ।


गाडी गुड्न थालेको ६ वर्ष पुगे पनि सडक कालोपत्रे नहुनु दुर्भाग्य भएको छायानाथ–रारा नगरपालिकाका जयबहादुर मल्लले बताए । सडक स्तरोन्नति नहुँदा मोटरसाइकलबाट सुर्खेत र नेपालगन्ज आउजाउ गर्न समस्या भएको उनको भनाइ छ । उनका अनुसार धुलाम्मे र हिलाम्मे सडकले स्थानीयको यात्रा सास्तीपूर्ण हुने गरेको छ । भारी हिमपात र लामो झरी भएको समयमा सडक अवरुद्ध हुँदा जुम्लाको सिँजा क्षेत्रदेखि मुगुसम्म दैनिक उपभोग्य वस्तु अभाव हुने गरेको उनी बताउँछन् ।


नगरपालिकाको ७ नम्बर वडाका अध्यक्ष हरिचन्द्र शाहीले माथिल्ला सरकासँग पटकपटक कालोपत्रेका लागि माग गरे पनि बेवास्ता भइरहेको बताए । उनका अनुसार सडक खण्डमा ढल निकास नहुँदा वर्षाको बेला सडक अवरुद्ध हुने गरेको छ । अहिले मुगु खण्डको गमगढीदेखि झ्यारी खोलासम्मको सडकको अवस्था नाजुक रहेको उनले जनाए ।


सडक डिभिजन कार्यालयले स्तरोन्नतिको नाममा सडकमा माटो बिछ्याउँदा सडक झन् जोखिमपूर्ण बनेको शाहीको भनाइ छ । ‘गमगढीदेखि झ्यारी खोलासम्मको सडकमा ढल निकास नहुँदा हिउँदमा पनि हिलाम्मे हुने गरेको छ,’ उनले भने, ‘सडक खुलेको लामो समयसम्म पनि झ्यारी खोला, ताल्चा खोला र मइतु खोलामा पुल बन्न सकेको छैन ।’ डिभिजन कार्यालयले सडक स्तरोन्नतिका नाममा वर्षेनि चारदेखि आठ करोडसम्म रकम विनियोजन गरे पनि काम गुणस्तरीय नभएको उनले बताए ।


सडक जीर्ण बन्दै गएपछि गाडी गुडाउन समस्या भएको चालक दिनेश बुढाले बताए । चालु आर्थिक वर्षमा सडकको स्तरोन्नतिका लागि १० करोड बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ । गमगढी–नाग्मा सडक कालोपत्रे गर्न अझै केही समय लाग्ने सडक डिभिजन कार्यालयका इन्जिनियर माधव अधिकारीले बताए । उनका अनुसार सडकमा कहिले बजेट अभाव हुने गरेको छ भने कहिले खर्च हुन नसक्ने अवस्था छ ।


जुम्लाको गोठीज्युलादेखि कालाकाँडा हँुदै खत्याड गाउँपालिकाको गम्था जोड्ने ३२ किलोमिटर सडकको अवस्था पनि दयनीय छ । सडक विभागले एक वर्षभित्र गमगढीदेखि घुच्चीलेकसम्म कालोपत्रे गर्ने नगर प्रमुख हरिजंग शाहीले बताए ।


‘सडकको दुरवस्थाकै कारण रारा आउने पर्यटक र स्थानीयले वर्षौंदेखि सास्ती भोगिरहेका छन्,’ उनले भने, ‘पूरै सडकमा कालोपत्रे गर्नका लागि हामीसँग पर्याप्त बजेट हुँदैन, त्यसैले माथिल्ला तहका सरकारलाई कालोपत्रे गरिदिन अनुरोध गर्दै पटक–पटक अनुरोध गरिएको छ, तर बेवास्ता भइरहेको छ ।’

प्रकाशित : माघ १०, २०७५ १०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?