२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अटोरिक्सा चालक आन्दोलित

करिश्मा चौधरी

वीरेन्द्रनगर — वीरेन्द्रनगर नगरपालिकामा सञ्चालन हुँदै आएका अटोरिक्साका चालक आन्दोलित भएका छन् । नगर कार्यपालिकाबाट वार्षिक कर लगाउने निर्णय भएपछि उनीहरू आन्दोलित बनेका हुन् ।

अटोरिक्सा चालक आन्दोलित

नगरपालिकाले तोकेको वार्षिक कर आवश्यकताभन्दा बढी भएको व्यवसायीको आरोप छ । अटोरिक्सा व्यवसायीले नगरपालिकाले तोकेको वार्षिक कर घटाउनुपर्ने माग गर्दै शुक्रबार नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । आफूहरूसँग छलफल नगरी नगरपालिकाले एकोहोरो निर्णय गरेको उनीहरूको आरोप छ ।


आफूहरूले यसअघि तिर्दै आएको रुट पर्मिट, बिलबुक नवीकरण, जाँच पासलगायत शुल्क नै ठीक रहेको अटोचालक सुरेन्द्र नेपालीले बताए । ‘आज नगरपालिकाले कर लगाउने भन्यो, भोलि वडाले माग्ला हामीले कता–कता पैसा बुझाउनु ? हामीले पहिला जति तिरेका थियौँ त्यही नै तिर्न मञ्जुर छौं,’ उनले भने ।


नगरपालिकाले भने अटोरिक्सा व्यवसायीसँग व्यवसाय शुल्क लिएको जनाएको छ । नगरभित्र सञ्चालन हुने हरेक संघसंस्था, पसल तथा व्यवसायीले कर तिर्नुपर्ने नगरको दाबी छ ।


नगरपालिकाका सूचना अधिकारी दीपेन सुवेदीले भने, ‘उहाँहरूले पनि व्यवसाय गरेबापत शुल्क तिर्नुपरेको हो, दोहोरो कर छैन ।’ भाडाको सवारीसाधनमा नगरपालिकाले सवारी कर लगाएको उनी बताउँछन् । उनका अनुसार निजी सवारीमा र इलेक्ट्रिक रिक्सामा पनि नगरपालिकाले कर लगाएको छ । यसमा कर शुल्क कम तोकिएको सुवेदीले जनाए ।


अटोरिक्सा सञ्चालनले नगरवासीलाई आवतजावतमा सहज भएको छ । तर, रुट पर्मिट नतोकिँदा यात्रुले सास्ती पनि भोगेका छन् । यात्रुको सहजता र अटोरिक्साको व्यवस्थापनका लागि रुट पर्मिट तोकिने भएको छ । यसले अटोरिक्सा व्यवसाय पनि व्यवस्थित बन्ने जनप्रतिनिधि बताउँछन् ।


नगरप्रमुख देवकुमार सुवेदीका अनुसार नगरपालिकाको दायराभित्र आएपछि कार्यपालिकाले लगाएको शुल्क तिर्नु हरेक व्यवसायीको कर्तव्य हो । यसको पालन अटोरिक्सा व्यवसायीले पनि गर्नुपर्ने उनी बताउँछन् । ‘नगरपालिकाले लगाएको कर नतिर्ने भनेर हुन्न तर कति कर तिर्ने भन्नेमा छलफल गरेर अगाडि बढ्न सकिन्छ,’ प्रमुख सुवेदीले भने, ‘यसबारे नगर कार्यपालिकाले के निर्णय गर्छ त्यसैअनुसार अघि बढ्छौँ ।’

प्रकाशित : माघ १२, २०७५ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?